कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल आरोहणका क्रममा एक जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन भएका छन्।
काठमाडौँको सनराइज कम्पनीबाट मर्दी आरोहणका लागि एक विदेशी र चार नेपाली कात्तिक २३ गते बिहान मर्दी आधार शिविरबाट हिँडेका थिए। सोही क्रममा हिमाल चढ्ने क्रममा मुख्य पथप्रदर्शक नुवाकोटको काल्चे–१ का ६२ वर्षीय लालबहादुर तामाङ कात्तिक २५ गते दिउँसो लडेर सम्पर्कविहीन भएपछि खोजी कार्य सुरु गरिएको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिए।
टोली हेलिकप्टरबाट घटनास्थलको निरीक्षणपछि स्थानीय पर्यटन व्यवसायीसहितको उद्धार टोली पैदलमार्गबाट खोजीका लागि सम्भावित घटनास्थलतर्फ गएको वडाध्यक्ष क्षेत्रीले बताए।
‘एक विदेशीसहित पाँचजना मर्दी आरोहणका लागि आएको र विदेशीलाई आरोहण गराउने क्रममा मुख्य पर्यटक गाइड लालबहादुर लडेको जानकारीपछि हामी खोजीका लागि मर्दी बेसक्याम्प आइपुगेका छौँ। हेलिकप्टरबाट घटनास्थल पहिचान गरेपछि खोजीका लागि टोली पैदल गएको छ। यहाँको भौगोलिक कठिनाइ र प्रतिकूल मौसमका कारणले बेपत्ताको खोजीमा समस्या छ’, वडाध्यक्ष क्षेत्रीले भने।
तामाङ सम्पर्कविहीन भएको स्थान समुद्री सतहदेखि पाँच हजार चार सय मिटरको उचाइमा रहेको छ। रासस
Shares

प्रतिक्रिया