वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिने भन्दै १२ लाख २५ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्याङ्जा बिरुवा गाउँपालिका–१ घर भई हाल काठमाडौँ–३१ बानेश्वर बस्ने ५० वर्षीया कमलाकुमारी केसी, बागलुङ बडिगाड गाउँपालिका–९ घर भई हाल भक्तपुर सूर्यविनायक–२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा तथा झापाको मेचीनगर नगरपालिका–१० घर भई हाल काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्क बस्ने २६ वर्षीय मनिश खड्का छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ परेकामध्ये केसीले क्रोएसिया पठाउने भन्दै चार जनाबाट रु आठ लाख २५ हजार रुपैयाँ ठगी गरेको खुलेको छ।
त्यसैगरी बुढाले युके पठाउने भन्दै एक जनाबाट रु दुई लाख तथा खड्काले क्रोएसिया पठाउने भन्दै एक जनाबाट रु दुई लाख २५ हजार लिएको अनुसन्धानको क्रममा खुलेको छ।
रकम लिएपछि विदेश नपठाइ सम्पर्कविहीन भएको पीडितको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको आचार्यले बताए।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान तथा कारबाहीका लागि सोमबार वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।
Shares

प्रतिक्रिया