गण्डकी


पर्यटक र पूर्वाधारको पर्खाइमा चांगा

पर्यटक र पूर्वाधारको पर्खाइमा चांगा

चांगाधुरी


रासस
कात्तिक २७, २०८१ मंगलबार ६:२१, काठमाडौँ

म्याग्दीको मंगला गाउँपालिका-५ स्थित चांगाधुरी पर्यटक र पूर्वाधारको पर्खाइमा छ। समुन्द्री सतहबाट दुई हजार ५० मिटर उचाइमा रहेको चांगा प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको छ। 

पहाडको शिरमा भिरालो पाखामा रहेको चांगाको पृष्ठभूमिमा धवलागिरि, अन्नपूर्ण, गुर्जा, चुरेन, मानापाथी, नीलगिरि र माछापुच्छ्रे हिमालका साथै सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ। दरबाङ, बाबियाचौर, तातोपानी बजार, नागबेली परेर बगेको म्याग्दी नदीको किनारबाट पहाड र हिमालको दृश्य एकैठाउँबाट देख्न पाइन्छ।

चांगाबाट देखिने मनमोहक हिमशृङ्खला, शान्त र एकान्त वातावरणले तन र मन दुवै चांगा हुने त्यहाँ घुम्न गएका बेनीका दिप्सन खड्काले बताए।

‘चिसो हावापानी पृष्ठभूमिमा देखिने हिमालको लामो लर्कनले मोहित बनायो’, उनले भने, ‘यात्राको थकान मेटियो। दुःख बिर्सायो। समय बितेको पत्तै भएन।’

जडीबुटी, वन पैदावार, वन्यजन्तु र पक्षीको अवलोकन गर्न पाउनु चांगाको थप विशेषता रहेको उनको भनाइ छ।

चांगाको बराह मन्दिरको धार्मिक महत्त्व छ। भेडा, बाख्रा र गाईभैँसीका गोठ, स्थानीयवासीको जीवनशैली, संस्कृति र रहनसहन पनि पर्यटक लोभ्याउने माध्यम हुन्। खाजाखाना खाने रेस्टुरेन्ट र बास बस्न लज, सार्वजनिक शौचालय, सूचना बोर्ड, खानेपानी आदिको व्यवस्थापन गर्न सकेमा पर्यटकलाई सहज हुने बेनीबाट चांगा घुम्न गएका किरन कार्कीले बताए। 

पूर्वाधारको व्यवस्थासँगै प्राकृतिक सौन्दर्यताका विषयमा प्रचारप्रसार आवश्यक रहेको उनले बताए। चांगा घुम्न जाने पर्यटक फेदीमा रहेको सिर्कुममा बास बसेर पैदलयात्रा र सडकमा सवारीसाधनमार्फत चांगामा पुग्ने गर्छन्।

पाहुनालाई आलु, मुला, भाँगो, टुसा, च्याउ, सिमीको दाल, ढिँडो, गौरीया र गुडुरा चामलको भात, स्थानीय कुखुराको मासुका परिकार चखाउने गरिएको सिर्कुमका बासिन्दा दीपेन्द्र जिसीले बताए। 

मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरबाट पाखु, सिर्कुम हुँदै एक घण्टा ३० मिनेट मोटरसाइकल र जिपमा यात्रा गरेपछि चांगा पुगिन्छ। बाबियाचौरबाट शेराफाट-पीपलबोट-पाखु-सिर्कुम हुँदै चार घण्टामा चांगा पुग्ने पदमार्ग पनि छ।

मंगला गाउँपालिका-५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले चांगा जोड्ने सडक स्तरोन्नति र पदमार्गलाई व्यवस्थित गरेर वनभोज, हाइकिङ र क्याम्पिङ गर्ने पर्यटक भित्र्याउन पहल गरिएको बताए। 

चांगाबाट बागलुङको ताराखोला गाउँपालिकाको सिमानामा रहेको तिनचुले र मंगलाको वडा नं ४ मा रहेको गम्फाधुरीको एकीकृत पर्यटन विकासको योजनाअनुसार काम भइरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad