समाज


‘कार्यालय प्रमुखलाई कारबाही गर्न थालेपछि सूचना दिने क्रम बढ्यो’

‘कार्यालय प्रमुखलाई कारबाही गर्न थालेपछि सूचना दिने क्रम बढ्यो’

नेपालखबर
कात्तिक २६, २०८१ सोमबार २१:७, काठमाडौँ

राष्ट्रिय सूचना आयोगका आयुक्त कमला ओली थापाले सूचना नदिने कार्यालय प्रमुखलाई सूचनाको हकसम्बन्धी ऐनको दफा ३२ अनुसार कारबाही गरेपछि सूचना दिने क्रम बढेको बताएकी छन्।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आज यहाँ आयोजना गरेको ‘मधेश र लुम्बिनी प्रदेशमा सूचनामा दिगो पहुँच प्रवर्द्धन परियोजना’ को समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै सूचना नदिने कार्यालय प्रमुखलाई कारबाही स्वरुप रु एक हजारदेखि रु २५ हजारसम्म तिराइएको बताइन्। सूचना नदिएको प्रकृतिअनुसार आयोगले कार्यालय प्रमुखलाई कारबाही स्वरुप निश्चित रकम दण्ड जरिवाना गर्ने गरेको छ। कारबाही रकमसमेत कम भएको आयोगको प्रवक्तासमेत रहेकी आयुक्त थापाले बताइन्।

‘आयोगमा अहिलेको पदाधिकारीको समूह आउनुअघिको दुई कार्यकालमा १७ जना कार्यालय प्रमुखलाई मात्र कारबाही गरिएको थियो, हामी आएपछि कारबाहीको सङ्ख्या १७ बाट ४४ मा पुर्याएका छौँ, कारबाही नगरी सूचना दिन कार्यालय प्रमुख सूचना दिन नतात्ने रहेछन्, यसैले पछिल्लो समय सूचना दिने क्रम पनि बढेको छ,’ उनले भनिन्।

महासङ्घका अध्यक्ष उमीद बागचन्दले मधेश र लुम्बिनी प्रदेशमा सूचनामा दिगो पहुँच प्रवर्द्धन कार्यक्रमले वडा तहसम्म प्रभाव पारेको बताए। कार्यक्रमको प्रभावस्वरुप वडा वडामा सूचना माग गर्ने क्रम बढेको छ। कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने उनको प्रतिबद्धता थियो।

महासङ्घका वरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारीले नेपालले संयुक्त राष्ट्रसङ्घलाई वार्षिकरूपमा कति सूचना माग हुन्छ भन्ने तथ्याङ्क अझै दिन नसकेकाले त्यतातर्फ पनि सरोकार भएका निकायको ध्यान जानुपर्नेमा जोड दिए। महासङ्घले एउटा वडामा एक जना अभियानकर्मी बनाउने गरी अभियान चलाउन लागेको जानकारी पनि उनले दिए।

द एसिया फान्डेसनका जेसी सम्पर्क अधिकृत निखिला श्रेष्ठले सुशासन र लोकतन्त्रका लागि सूचनाको हक आवश्यक रहेको बताइन्। आगामी दिनमा आयोग र महासङ्घ दुवै संस्थासँग मिलेर सूचनाको हक प्रवर्द्धनका लागि अझ बृहत् कार्यक्रम गरिने भनाइ उनको थियो।

सो अवसरमा महासङ्घका महासचिव अजयकुमार साह, परियोजना संयोजक सबुरलाल राम, कार्यक्रम अधिकृत सरस्वती पौडेललगायतले परियोजनाअन्तर्गत दुई वटा प्रदेशमा भएका कामका बारेमा जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad