समाज


धनगढीका सुरेशकुमार पोर्चुगलमा बेपत्ता, खोजी गरिदिन आग्रह

धनगढीका सुरेशकुमार पोर्चुगलमा बेपत्ता, खोजी गरिदिन आग्रह

नेपालखबर
कात्तिक २३, २०८१ शुक्रबार २०:४४, लिस्बन (पोर्चुगल)

वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन्।

पोल्यान्ड हुँदै दुई वर्ष अघि पोर्चुगल आएका कैलालीस्थित धनगढी उपमहानगरपालिका–१२ का २८ वर्षीय सुरेशकुमार ओझा चार महिनादेखि बेपत्ता भएका हुन्।

ओझा गत जुलाई ५ तारिखदेखि सम्पर्कविहीन भई बेपत्ता भएको सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलका अध्यक्ष दीपेश विष्टले जानकारी दिए।

राजधानी लिस्बनस्थित एक रेष्टुराँमा काम गर्दै आएका उनी सात महिनाअघि एकाएक बेवारिसे भएका थिए। बेवारिसे भएका ओझालाई मेट्रो स्टेसनबाट नाजुक अवस्थामा उद्धार गरी लिस्बनस्थित एक होस्टेलमा खाने बस्ने व्यवस्था मिलाएर राखिएको भए पनि होस्टेलबाटै भागेर बेपत्ता भएको विष्टले बताए।

‘हामीले धेरै पटक उनको उद्धार गर्यौँ। परिवारको आग्रहमा नेपाल पठाउने तयारी पनि गरेका थियौँ। तर, उनी एकाएक सम्पर्कविहीन भई बेपत्ता भए’, विष्टले भने।

समाजको पहल र व्यवस्थापनमा होस्टेलमा बस्दै आएका उनी गत जुलाईदेखि सम्पर्कविहीन भएका हुन्। हाल उनको खोजीकार्य भइरहेको र पोर्चुगलमा क्रियाशील नेपाली सङ्घ–संस्थालाई समेत उनको खोजबिनमा सहयोग गर्न आग्रह गरिएको विष्टले बताए।

बेपत्ता भएका ओझा हालसम्म परिवार, आफन्तलगायत कोही कसैको सम्पर्कमा नआएको भन्दै उनको खोजी गरी नेपाल पठाइदिन परिवारले आग्रह गरेको उनले बताए। ओझाको परिवारमा वृद्ध आमा र पाँच दिदीबहिनी रहेका छन्।

यसैबीच धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले समेत सामाजिक सञ्जालमार्फत बेपत्ता भएका ओझाको खोजबिन र उद्धार गरिदिन पोर्चुगलवासी नेपालीसँग आग्रह गरेका छन्। नगरप्रमुख हमालले एक सूचना जारी गर्दै बेपत्ता ओझाको खोजबिन र उद्धारका लागि आग्रह गरेका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad