‘बुवा! मैले गरेको काम कस्तो लागिरहेको छ?’
अनुजा सराफ अग्रवालले केही दिनअघि मात्रै ७३ वर्षीय बुवा अशोककुमार सराफलाई सोधेकी थिइन्।
बुवाको जवाफ थियो, ‘छोरी, तिमीले गरेको काम त कसैले गरेको देखेको थिइनँ र कल्पना पनि गर्न सकेको थिइनँ।’
छोरीले आफूलाई यो स्तरमा उभ्याउँछिन् भन्ने उनले सपनामा पनि सोचेका रहेनछन्। सोचेका थिए त केवल एक साक्षर भए छोरी भए घरपरिवार राम्रोसँग चलाउन सक्छिन्।
बाबु–छोरीको उक्त रोचक संवाद यस्तो बेला भएको थियो, जसको केही दिनमै अनुजा अन्तर्राष्ट्रिय मञ्चमा बिजनेस रोलमोडलको रूपमा विभूषित हुँदै थिइन्।
अन्तर्राष्ट्रिय संस्था ‘व्यवस्थापनमा महिला’ ले मलेसियामा आयोजना गरेको ‘प्रोफेसनल एन्ड करियर वुमन ग्लोबल अवार्ड २०८१’ अन्तर्गत बिजनेस रोलमोडल उपाधि अनुजाले बिहीबार एक भव्य कार्यक्रमका बीच मलेसियामा पाएकी छिन्।

अनुजाले व्यवस्थापन क्षेत्रमा खटिएका महिलाहरूबीचको एक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा ‘बिजनेस रोलमोडल’ उपाधि जितेकी हुन्।
उक्त प्रतियोगिताका लागि २९ देशका २ सय ९० जनाबाट शीर्ष ५० छानिएका थिए। तीमध्ये पनि पाँच चरणको छनोट प्रक्रियापछि अनुजा ‘बिजनेस रोलमोडल’ बन्न सफल भएकी हुन्।
अनुजालाई यो सफलता दिलाउने काम भने उनकै उद्योग ब्रिटिस कलर इन्डस्ट्रिज प्रालिले गरेको हो।
अवार्ड पाउने निश्चित भएपछि अनुजाले ७३ वर्षीय बुवालाई उक्त प्रश्न गरेकी थिइन्।
छोरीको यस उपलब्धिमा अहिले बुवालाई आश्चर्य र गर्व दुवै छ। अनुजा भन्छिन्, ‘उहाँले सपनामा पनि सोच्नुभएको थिएन रे! म यो ठाउँमा आइपुग्छु भनेर।’
वीरगन्जमा ४५ वर्षअघि जन्मिएकी अनुजाले सिभिल इन्जिनियर बुवाको जागिरका कारण विद्यालय शिक्षा देशका विभिन्न भागमा पुगेर लिइन्।विराटनगरको सिद्धार्थ शिशु सदनबाट सन् १९९६ मा एसलएसी गरिन्। त्यसपछिको भने कलेज गएर पढ्न पाइनन्।
‘म त पीएचडीसम्मै पढ्न चाहन्थेँ तर मास्टर्स पनि विवाहपछि मात्र गर्ने मौका जुर्यो,’ उनले भनिन्।
अनुजाले सन् १९९८ मा आईए (अहिलेको प्लसटु), सन् २००१ मा स्नातक र सन् २००५ मा प्राइभेट परीक्षा दिएर स्नातकोत्तर गरिन्।
शिक्षामा लगाव त थियो तर काम र घरको राम्रो तालमेल मिलाउन सहज थिएन। प्राइभेट परीक्षा दिएरै भए पनि मास्टर्स सकिन्। मास्टर्स सकेपछि व्यवसायमा मोडिइन्।
यसै दौरानमा अनुजाले विभिन्न कलेजहरूमा प्राध्यापन गरिन्। तर यसले पनि अगाडि बढ्न नसक्ने अनुभूति भएपछि उनले श्रीमानकै अनुभव तथा उनका रङ उत्पादक तथा बिक्रेताहरूसँगको सम्बन्धलाई प्रयोग गर्दै पहिला अन्य उद्योगहरूलाई कच्चा पदार्थ बिक्री गर्न थालिन्।
सुरुमा उनले व्यापारको मात्रै काम गरिन्, आफैँ उत्पादन नगर्ने तर उद्योगहरूलाई रङ वितरण गर्ने। यसबाट उनले अनुभव बटुलिन्। पछि इन्डस्ट्रियल रङको उद्योगको नेपालमा सम्भावना पहिचान गर्दै अनुजाले श्रीमानकै सहयोगमा रङ उत्पादन गर्ने उद्योग खोलेकी हुन्।
सन् २०१२ बाट भने आधिकारिक रूपमा उद्योग सञ्चालनमा ल्याएर उनले रङको उत्पादन तथा वितरण सुरु गरेकी हुन्।
अहिले आफू सञ्चालक रहेको ब्रिटिस कलर इन्डस्ट्रीले विदेशी रङहरूको तुलनामा गुणस्तरीय रङ नेपाली बजारमा ल्याइरहेको अनुजाको दाबी छ।
रङको बजारमा चर्चित बन्न सफल ब्रिटिस कलर इन्डलाई अनुजा नेपालीले बनाएको अब्बल रङहरूको ब्रान्ड मान्छिन्। उनले मात्रै होइन, पछिल्लो समय भइरहेको रङको नेपाली बजार विस्तारले पनि उद्योगलाई नयाँ उचाइमा पुर्याएको उनको अनुभव छ।

ब्रिटिस कलरले अटोमोटिभ रिफिनिस पेन्ट्स्, वुड कोटिङलगायत विभिन्न प्रकारका इन्डस्ट्रियल रङहरू उत्पादन गर्दै आएको छ। बालाजु औद्योगिक क्षेत्रभित्र रहेको उनको उद्योगबाट नेपाली बजारमा रङ बिक्रीवितरण हुँदै आएको छ।
आफूले साधारण ठाउँमा पढेर भए पनि सिंगो उद्योग हाँक्न सफल भएकोमा अनुजा पुलकित छिन्। अझ उनको कामलाई लिएर अन्तर्राष्ट्रियस्तरमै चर्चा हुन थालेपछि त सफलताको बेग्लै स्वाद उनले पाएकी छन्।
‘व्यवसायमा बीउ थोरै भए पनि डटेर काम गर्ने मान्छेले एक दिन अवश्य सफलता पाउँछ। मैले कति नाफा कमाएँ वा कति लगानी गरेँ भन्ने विषय गौण हो,’ आफूले गरेको प्रगतिबारे उनी थप्छिन्, ‘मैले आफ्नै देशमा बसेर रोजगारी सिर्जना गरेर स्वदेशी उत्पादनको बजारीकरण गर्न सक्नु नै मेरो सफलता हो।’
बुवालाई छोरीले पनि अगाडि बढेर व्यवसाय हाँक्न सक्छन् र सफलता चुम्न सक्छन् भन्ने बुझाउन बल्ल सफल बनेको ठान्छिन् अनुजा।
‘हामीले बढाएका उत्पादनका सानै पाइलाले पनि देशलाई आत्मनिर्भर बनाउन सक्छ,’ उनी भन्छिन्, ‘मैले त्यति एउटा सानो पाइला चालेको हो।’
Shares

प्रतिक्रिया