खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौँ महिनासम्म पनि कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन्।
वडाध्यक्ष कटवाल नौ महिनाअघि अमेरिका गएपछि उतै बस्न थालेका हुन्।
वडाध्यक्ष कटवाल नफर्केपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले समस्या समाधान गर्न माग गर्दै तालाबन्दी गरेको हो।
गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठन भएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र उपस्थित हुन अल्टिमेटम दिएको थियो।
अहिलेसम्म वडाध्यक्ष नफर्केपछि बाध्य भएर तालाबन्दी गरिएको पूर्ववडाध्यक्ष भट्टराईले बताए। यस सम्बन्धमा जिल्ला निर्वाचन आयोगको कार्यालय, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिलाई जानकारी गराइएको उनको भनाई छ।
वडाध्यक्ष कटवाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट निर्वाचित भएका हुन्।
Shares

प्रतिक्रिया