प्रधानसेनापति अशोकराज सिग्देलले सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सैनिकको आपत्कालीन उद्धारका आवश्यक योजना तयार गरिरहेको बताएका छन्।
आइतवार रक्षा मन्त्रालयमा भएको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सिरिया र लेबनानमा अहिले युद्ध चर्किरहेको र नेपाली शान्ति सेनाहरू अवस्थित रहेको भन्दै उनीहरूलाई आपत्कालीन उद्धार आवश्यक भएको खण्डमा उद्धारका लागि आपत्कालीन योजना नेपाली सेना र रक्षा मन्त्रालयको समन्वयमा बनाइरहेको बताए।
इजरायल र लेबनानमा अहिले चरमपन्थी समूह हिजबुल्लाहबीच युद्ध जारी छ। संयुक्त राष्ट्रसंघको शान्ति मिसन (युनिफिल) अन्तर्गत लेबनानमा खटिएका नेपाली शान्ति सैनिक केही असहज अवस्थामा रहेको भएपनि सुरक्षित रहेको प्रधानसेनापति सिग्देलले बताए।
उनले भने, ‘५२ जना सिरियामा छन्। १३२९ जनाको फौज शान्ति सेनामा छ। १३२९ जनामध्ये अहिले अलिकति अफ्ठ्यारो स्थितिमा रहेका सैनिकहरु भनेको केही मात्रै छन्। उनीहरूको अवस्थाको हकमा सुरक्षाको दृष्टिकोणले हेर्ने हो भने लडाईं भइरहेको ठाउँ हो। उनीहरू द्वन्द्वको बीचमा छन्। गोली हानाहान भइरहेको क्षेत्रमा छन्। सामान्य अवस्थाको भन्दा सुरक्षाको स्थिति अलिकति असहज छ। तर त्यो असहज स्थितिमा पनि उनीहरू पूर्णतया सुरक्षित छन्। बंकरहरूमा बसेका छन्।’
उनले थपे, ‘कथंकदाचित धेरै ठूलै खालको स्थिति आयो भने त्यस्तो परिस्थितिमा के गर्ने भन्नेमा हेर्डक्वार्टरले त्यसको योजना बनाउँदै छ। नेपाली सेना र रक्षा मन्त्रालयको समन्वयमा त्यस्तो अवस्थामा त्यहाँ तैनाथ फौजलाई कसरी नेपाल ल्याउने र सुरक्षित स्थानमा लैजाने भन्ने योजना तयार गरेका छौँ। हामी त्यहाँ रहेका नेपाली सेनासँग प्रत्यक्ष सम्पर्कमा छौँ। हाम्रो फौजलाई अफ्ठ्यारो पार्ने सम्भावना धेरै कम छ।’
उनले शान्ति सेनामा रहेका नेपाली सैनिकलाई अफ्ठ्यारो पार्ने सम्भावना भने कम रहेको दाबी गरे।
Shares

प्रतिक्रिया