समाज


कस्मेटिकबाहेकको जलन उपचार निःशुल्क, मन्त्री पौडेल भन्छन्- आर्थिक अभावमा उपचारबाट वञ्चित हुनुपर्दैन

कस्मेटिकबाहेकको जलन उपचार निःशुल्क, मन्त्री पौडेल भन्छन्- आर्थिक अभावमा उपचारबाट वञ्चित हुनुपर्दैन

नेपालखबर
कात्तिक ४, २०८१ आइतबार १६:१७, काठमाडौँ

अब जलनका बिरामीहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार हुने भएको छ ।

गत शुक्रबार कार्तिक २ गते बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेको जलनपीडितको उपचार निःशुल्क बनाउने प्रस्ताव पारित गरेको हो। 

मन्त्रिपरिषदको निर्णयमा उपचार गर्न नसक्ने बिरामीलाई कस्मेटिकबाहेकका जलनको उपचार व्यवस्था निःशुल्क गर्ने उल्लेख छ। मन्त्रालयले आफ्नै विद्यमान स्रोतबाट व्यवस्थापन गर्ने गरी जलनको उपचार निःशुल्क बनाउनुका साथै सातै प्रदेशबाट उपचार थाल्ने भएको छ।

‘अब आर्थिक अभावका कारण कसैले पनि जलनको उपचारबाट वञ्चित हुनु पर्दैन,’ मन्त्रिपरिषद्का निर्णय सार्वजनिक भएपछि मन्त्री  पौडेलले भने, ‘आर्थिक अभावमा विपन्न समुदायका नागरिकले पाएको समस्या कम गर्न निर्णय गरेका हौं ।’

अब कीर्तिपुर अस्पताल तथा वीर अस्पतालको जलन वार्डसँगै कोसी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेस प्रदेशमा नारायणी अस्पताल वीरगन्जमा समेत जलनमा परेका व्यक्तिको निःशुल्क उपचार हुनेछ।

यसैगरी, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा लुम्बिनीमा भेरी अस्पताल कर्णालीमासमेत जलनपीडितको उपचार निःशुल्क हुनेछ। कर्णाली प्रदेशको सुर्खेत  प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमासमेत जलनपीडितको निःशुल्क उपचार हुनेछ।

देशमा हरेक वर्ष ५५ हजार जनामा आगलागी वा कुनै माध्यमबाट जलनको समस्या देखिने गरेको स्वास्थ्य मन्त्रालयको प्रक्षेपण छ। देशको सबैभन्दा धेरै जलनपीडितको उपचार हुने कीर्तिपुर अस्पतालले वर्षमा ८ सय जनाको उपचार गरेको तथ्यांक छ।

मन्त्री नियुक्त भएलगत्तै सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जलनसम्बन्धी उपचार निःशुल्क र सहज बनाउने योजना सार्वजनिक गरेका थिए। लगत्तै वीर अस्पतालले जलन वार्ड राखेर उपचार थालिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad