समाज


बागमती प्रदेशमा आजदेखि ट्रायल पास गर्नेबित्तिकै नागरिक एपमै लाइसेन्स

बागमती प्रदेशमा आजदेखि ट्रायल पास गर्नेबित्तिकै नागरिक एपमै लाइसेन्स

फाइल तस्बिर


नेपालखबर
कात्तिक ४, २०८१ आइतबार ९:१७, काठमाडौँ

सरकारले सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था कार्यान्वयमा ल्याएको छ। यो व्यवस्था आजदेखि नै बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणको रुपमा लागू गर्न लागिएको सरकारले जनाएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमार्फत् आजदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल पास गरेपछि चालकले मोबाइलमै लाइसेन्स पाउने जानकारी दिएका छन्। 

‘आजदेखि नागरिक एप मार्फत् सम्बन्धित व्यक्तिको मोबाइलमै लाइसेन्स उपलब्ध हुने छ। सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको छ,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्चालमा लेखेका छन्, ‘यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झट पनि हटेको छ।’

उनले आज (आइतबार)देखि बागमती प्रदेश यातायात व्यवस्था कार्यलयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुने जानकारी दिएका छन्। नागरिक एपमा अरु सेवा पनि थप्ने तयारी गरिएको प्रधानमन्त्रीको भनाई छ। 

‘कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा हामी लागेका छौँ,’ प्रधामन्त्रीले ओलीले भनेका छन्, ‘राज्यले नागरिकलाई छिटो सेवा प्रवाहमा यसले सहयोग पुग्नेछ भन्ने हामीले आशा राखेका छौँ।’

यो सिस्टम लागू भएपछि लाइसेन्स कार्ड छपाइ हुन नसकेर वर्षौं कुर्नुपर्ने समस्या अन्त्य हुने अपेक्षा गरिएको छ। 

आइतबार एक कार्यक्रमकाबीच बागमती प्रदेशमा नागरिक एपबाट डिजिटल लाइसेन्स वितरण कार्यको शुभारम्भ गर्न लागिएको बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ।

मन्त्रालयले पाँच महिनादेखि नागरिक एपमा लाइसेन्स वितरणको परीक्षण गर्दै आएको थियो। परीक्षणको सफलतापछि सबै संरचनालाई डिजिटल गर्न लागिएको हो। 

मन्त्रालयले डिजिटल लाइसेन्स जाँच गर्न ट्राफिक प्रहरीलाई मोबाइल उपलब्ध गराएको छ। जाँचका लागि ट्राफिक प्रहरीलाई १०४ वटा मोबाइल उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad