समाज


४ महिनादेखि बेपत्ता थिए राजेश, छिमेकी बाउ-छोराको झगडाले खुल्यो हत्याको पोल

दुबईबाट गणेशले भिडिओ कल गरेर देखाइदिए शव पुरेको ठाउँ
४ महिनादेखि बेपत्ता थिए राजेश, छिमेकी बाउ-छोराको झगडाले खुल्यो हत्याको पोल

मृतक राजेश (बीच) तथा पक्राउ परेका मुना (बायाँ) र समीर (दायाँ)


उजिर कार्की
असोज ३०, २०८१ बुधबार २१:२६, काठमाडौँ

झापाको बाह्रदशी गाउँपालिका ५ फूलबारीका २२ वर्षीय राजेश हजाम २०८१ जेठ १५ गते बेलुका घरबाटै हराएका थिए। चार महिना ५ दिनपछि बिरिङ खोलाको किनारबाट उनको कंकाल मात्रै निकालियो।

प्रहरी र आफन्तले चार महिनाभन्दा बढी समय खोज्दा पनि उनको स्थिति पत्ता लगाउन सकेका थिएनन्। तर छिमेकीका बाबु–छोराको झगडाले उनी मारिएको पोल खुलेको हो।

लगत्तै प्रहरी र स्थानीय दुईवटा डोजर लिएर बिरिङ खोलाको किनारमा खोतल्न गए। जहाँ उनको कंकाल फेला परेको हो।

हराएको दिन पनि बिर्तामोड बजारमा कपाल काटेर फर्किएका राजेश बेलुकीसम्म घरमै थिए। 

बुबा र आमा छिमेकी बिरामी भएकाले बेलुका भेट्न गएका थिए। उनीहरू फर्किंदा राजेश घरमा थिएनन्। उनको साइकल र मोबाइल पनि थिएन। केही समय नजिकै गएको होला भनेर उनीहरूले प्रतीक्षा गरे।

तर राति अबेरसम्म पनि राजेश घर फर्किएनन्। राति नै आफन्तकोमा सोधीखोजी गरे। गाउँघरमा पनि राजेश हराएको हल्लाखल्ला चल्यो। 

त्यसको तीन दिनपछि इलाका प्रहरी कार्यालय अनारमनीमा उनका बुबा भीम हजामले खबर गरे। प्रहरीले राजेशको फोटोसहितको हुलिया माग्यो। भीमले त्यो पनि बुझाए। 

‘नेपाल र भारतमा खोज्यौँ। सबैतिर खबर गर्‍यौँ, प्रहरी लगायौँ। के गर्नु, बिहारदेखि बंगालसम्म टाकटुकै खोजियो, भेटेनौँ। हामीलाई के थाहा र छोरो नफर्किने गरी गइसकेको रहेछ,’ भीमले बुधबार बेलुका नेपालखबरसँग भने। 

प्रहरी प्रशासनले फेला पार्न नसकेपछि हजाम परिवारले जोखाना पनि हेराए। 

‘जोखाना हेराउँदा कसैले जिउँदै छ भने, कसैले छैन भने, कसैले त कमाउन गएको छ पनि भने। हामी त बहुलाइसकेका थियौँ,’ भीमले सुनाए। 

यसरी छोरोको खोजीमा भीमले चार महिना बिताए। प्रहरी कार्यालय कतिपटक धाए, थाहा छैन। 

उनका जेठा छोरा राजेशलाई त आफन्तै पर्नेले घरमै बोलाएर हत्या गरेर बिरिङ खोलामा पुरिसकेका रहेछन्। 

आरोपित परिवारको घरमा उत्खनन् गरिँदै

भाउजूसँग बोलेको देखेर देवरले गराए हत्या
राजेशको घर झापाको बाह्रदशी गाउँपालिका ५ फूलबारी हो। झण्डै दुई किलोमिटर टाढा वडा नम्बर ७ की मुना मेचेका देवर–जेठाजु समेतको मिलेमतोमा उनको हत्या भएको झापाका प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए। 

राजेश र मुनाको बीचमा मेसेन्जरमा कुराकानी हुने गरेको थियो। मुना पढ्ने विद्यालयको बसका सहचालक थिए राजेश। उनीहरूको चिनजान त्यतिबेलैको हो। पछि मुनाले बसका चालकसँग विवाह गरिन्। 

उनका श्रीमान विवाह गरेर विदेश गइसकेका छन्। राजेश र मुनाले मेसेन्जरमा कुराकानी गरेको मुनाका देवर गणेश राजवंशीले थाहा पाए। त्यसपछि उनले यस विषयमा भाउजू मुनासँग सोधखोज गरे। भाउजूले आफ्नो केही नभएको र राजेशले एकतर्फी मात्रै मन पराउने र कुरा गर्ने गरेको बताएकी थिइन्। 

आफ्नी भाउजूको पछि लागेको आरोपमा गणेशले घरमै बोलाएर राजेशको हत्या गर्ने योजना बनाएको प्रहरीको दाबी छ। राजेशलाई बोलाएर त्यसैराति मुनाका परिवारले हत्या गरेको अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले बताएका छन्। 

प्रहरीले २० वर्षकी मुना, उनका जेठाजु ३१ वर्षका समीर राजवंशी र नाबालक भतिजलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। तर गणेश भने हत्या गरेर वैदेशिक रोजगारीमा गइसकेको खुलेको छ। 

दुबई गएका गणेशलाई पनि नेपाल फिर्ता ल्याउन प्रहरीले पहल थालेको छ। अरु केही संलग्नहरू फरार रहेको प्रहरीको दाबी छ। हत्याको रहस्य खुलाउने व्यक्ति समेत हाल फरार छन्। 

हत्याका मुख्य आरोपित गणेश राजवंशी

बाबु–छोराको झगडाले खुल्यो रहस्य
भीमको परिवार राजेशलाई खोजेर थाक्नेवाला थिएनन्। राजेश हराएको त्यो आसपास हल्लाखल्ला चलिसकेको थियो। प्रहरी पनि गाउँगाउँ गएर सोधीखोजी गरिरहेको थियो। मोबाइलबाट ट्रयाक गर्दा पनि केही पत्ता लागेको थिएन। राजेशको मोबाइल बन्द थियो। 

असोज १७ गते बेलुकातिर मुनाको घरनजिकै सिमलचोकका दुर्गा थापा र उनका छोराको बीचमा झगडा भयो। पैसाको हिसाबकिताबको विषयमा भएको त्यही घर झगडामा राजेशको कुरा फुत्कियो। 

‘एउटा हजाम केटालाई दफनाउँदा त केही भएन, तँलाई पनि दफनाइदिन्छु,’ झगडाका क्रममा दुर्गाले छोरालाई भने। जुन कुरा उनका छिमेकीले सुने। 

राजेशका ठूलोबुबा टेकराज हजामका अनुसार त्यो कुरा गाउँलेहरूले आफ्नो राजेशको परिवारलाई सुनाइदिए।

‘त्यसपछि हामी उसको घरतिर जाँदै थियौँ। प्रहरी आएर मुनाको घर घेरिसकेको रहेछ। हामी टाढैबाट हेरेर फर्कियौँ। प्रहरीले विभिन्न व्यक्तिहरूलाई पक्राउ गरेर सोधीखोजी गरिरहेको थियो,’ टेकराजले सुनाए। 

दुर्गा भने प्रहरी आएपछि गाउँबाट भागिसकेका थिए। प्रहरीले मुना लगायतलाई पक्राउ गर्‍यो। उनीहरूको घर सिल गरेर शव खोज्न थाल्यो। 

घरको बाहिरतिर उत्खनन् गर्दा केही पनि फेला परेन। भान्सा कोठामा खोजी गर्दा हत्या भइसकेको केही प्रमाण प्रहरीले फेला पार्‍यो। अरु कोठाहरूमा सिमेन्ट प्लास्टर गरिएको थियो। प्रहरीले भान्सा कोठा खन्दा नुनका पोका, डोरी, दाउ र कपडा भेटेको थियो। 

उक्त प्रमाणले मुनाकै परिवारले हत्या गरेको आशंकामा थप बल पुग्यो। त्यसपछि भने मुनाको परिवारका सदस्यले पनि हत्या गरेको स्वीकार गरे। उनीहरूले नै गणेश समेतको मिलेमतोमा हत्या भएको र शव कहाँ छ भन्ने पनि उनैलाई थाहा भएको बताए। 

विदेशमा भएका गणेशसँग परिवारलाई सम्पर्क गर्न लगाएर प्रहरीले राकेशको शव कहाँ छ भनेर सोध्न लगायो। उनले भिडिओ कलमार्फत बाह्रदशी गाउँपालिका ७ स्थित बिरिङ खोलाको पश्चिम किनारामा गाडेको ठाउँ देखाइदिए।  

त्यसपछि स्थानीय जनप्रतिनिधि, गाउँलेहरू र प्रहरी बिरिङ खोलाको किनारमा दुईवटा डोजर लिएर गए। उनीहरूले दोस्रो दिन मात्रै कंकाल फेला पारेका थिए। टाउकाको हड्डी, नलीहाडसहितको अस्थिपञ्जर फेला परेको थियो। अन्य भाग भने सडिसकेको थियो।

खोला किनारमा राजेशको शव खोजिँदै

हजाम परिवारले राजेश हराएको ४ महिनापछि कंकाल मात्रै फेला पारे। ५५ वर्षका भीमका जेठा छोरा हुन् राजेश। उनका तीन छोरी र तीन छोरा थिए। 

फूलबारीमा पनि भीमको सैलुन छ। त्यहाँ उनी र माइलो छोरा काम गर्छन्। जेठा छोरा राजेश भने कहिलेकाहीँ मात्रै आफ्नो सैलुनमा काम गर्थे। प्रायः बिर्तामोड बजारमा अर्काकै सैलुनमा काम गर्न जान्थे। कमाइ ठिकै थियो। तर उनी विदेश जाने सोचमा थिए। 

राहदानी पनि बनाइसकेका थिए। 

‘अब दसैँ मानेर विदेश जान्छु भन्थ्यो,’ भीमले भने, ‘ऊ जाने भनेको बेलामा म उसकै काजकिरिया गर्दैछु।’

प्रहरीले घटनाबारे विस्तृत जानकारी परिवारलाई नदिएको उनी बताउँछन्।

‘पुलिसले हामीलाई अनुसन्धान भइरहेको छ भनेको छ। आज पनि भ्यान आएको थियो एकजनालाई उठाएर लगेको छ अरे। हामीलाई त केही थाहा छैन,’ भीमले भने, ‘अब तिनेरुलाई कारबाही हुनु पर्‍यो। विदेश भए पनि समात्नु पर्‍यो। फटाहालाई छाड्नु त भएन नि।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad