आफै स्वास्थ्यकर्मी रहेका ललितपुरका मधु सञ्जेल यसपटकको दसैँमा नराम्रोसँग थला परे।
१०३ डिग्री ज्वरो आएपछि उनले रगत परीक्षण गराए। नतिजामा डेंगी देखियो।
असोज २२ गतेदेखि निस्लोट ज्वरो आएपछि ओछ्यान परेका उनी दसैँभर उठ्न सकेनन्।
‘शरीर छुनै नहुने, निरन्तर ज्वरो आएपछि दसैँभर उठ्नै सकिनँ,’ सञ्जेलले भने, ‘न खाना केही रुच्छ। बान्ता होलाजस्तो मात्र हुन्छ। आँखा हेर्नै हुँदैन। मोबाइल फोन त छुनै मन लागेन।’
सधैँका वर्षजस्तै यस वर्ष रमाइलो गरेर दसैँ मनाउन नपाएकोमा खल्लो लागेको छ उनलाई।
‘यसपटक अलि खानपानमै रमाउने योजना थियो। तर, दसैँ लाग्नु २ दिनअघि नै उठ्न नसक्ने बनायो,’ सञ्जेलले थपे, ‘दुई दिन त स्लाइन चढाएर अस्पतालमा बस्नुपर्यो।’
सञ्जेल मात्र होइन, दसैँकै मुखमा डेंगी भएर धेरै जना घर जान नपाएको बताउँछन्। शुक्रराज ट्रपिकल, टेकु, वीर अस्पताल, शिक्षण अस्पताल, पाटन अस्पताल र केही निजी अस्पतालमा समेत डेंगीका बिरामी उपचाररत छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले देशभर परीक्षण हुँदा धेरैमा डेंगी पोजिटिभ पुष्टि भएको बताए।
‘दसैँ लाग्नुअघिसम्म डेंगी संक्रमण बढेको थियो,’ बुढाथोकीले नेपालखबरसँग भने, ‘त्यस्तै ३२ सय बढी बिरामी थिए।’

लामखुट्टेको टोकाइबाट सर्ने यो रोग चिसो मौसम लागेपछि घट्ने अपेक्षा गरिएको छ। चिसो सुरु भइसकेको पनि छ। अब लामखुट्टे घट्नुपर्ने हो। तर, असोजको अन्तिम भइसक्दा पनि संक्रमित बिरामीको संख्या नघट्नु चिन्ताको विषय रहेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ।
थेगिनसक्नु टेकुमा चाप
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा डेंगी संक्रमणका बिरामीको चाप थेगिनसक्नु छ।
कतिपय बिरामीले दसैँको पूरै अवधि अस्पतालमै बिताउनुपरेको छ।
झुलभित्र बसेर उपचार गराइरहेका उनीहरू वर्ष दिनको चाड मनाउन नपाएकोमा विरक्तिएको देखिन्थ्यो।
अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार ज्वरो आएर रगत परीक्षण गर्दा ६० प्रतिशतमा डेंगी पोजिटिभ देखिएको छ।
दैनिक १६ जना डेंगी भएरै टेकुमा भर्ना भएको उनले बताए।

‘आज मात्र पनि २२ जनालाई डेंगी पुष्टि भयो। त्यसमा पनि १६ जना भर्ना भएका छन्,’ डा. बसौलाले नेपालखबरसँग भने, ‘हिजो (२८ असोज) ८० जनाको परीक्षण गर्दा ५४ जनामा डेंगी देखियो।’
उनका अनुसार दसैँको फुलपातीको दिनदेखि यता २ सय १८ जना संक्रमणमा परेका छन्। तीमध्ये धेरै उपचारकै क्रममा छन्।
टेकु अस्पतालको विवरण हेर्दा असोज २४ गते ३४ जना, २५ गते ३३ जना, २६ गते २५ जना, २७ गते ५० जना र २८ गते ५४ जनामा डेंगी पुष्टि भएको छ। यसले संक्रमणको दर बढ्दै गएको देखाउँछ।
टेकु अस्पतालले साउनयता १७ सय जनाको परीक्षण गरेको थियो। यीमध्ये अधिकांशमा संक्रमण पुष्टि भएको डा. बसौलाले बताए।
‘साउनमा भन्दा भदौ र असोज गरी दुई महिना डेंगी बढ्यो,’ बसौलाले नेपालखबरसँग भने, ‘साउनयता मात्र ९ सय जना संक्रमित भएर उपचार गरियो।’
टेकु अस्पतालमा डेंगीको निःशुल्क उपचार हुने गरेको अस्पतालका निर्देशक डा. बसौलाले जानकारी दिए।
टेकु अस्पतालका डा. मिलन वज्राचार्यले भर्ना हुने अवस्थाका बिरामी आफूहरूकहाँ आउने गरेको बताए।
‘डेंगी भएर पनि जटिल भइसकेका बिरामी यहाँ आइपुग्नुहुन्छ, जसले गर्दा भर्ना नै गरेर उपचार गर्नुपरेको हो,’ डा. वज्राचार्यले भने, ‘अहिलेसम्म डेंगीकै कारण कसैको मृत्यु भएको रेकर्ड हाम्रोमा छैन।’

पाटन अस्पतालका प्रवक्ता युवराज शर्माले साउन, भदौ र असोज २४ गतेसम्म दैनिक १५ जना डेंगीकै बिरामी भर्ना भएको बताए।
‘त्यसमध्ये पनि दैनिक तीन/चार जनालाई रगतको मात्रा (प्लेटलेस) कम भएपछि पोका रगत दिनुपरेको थियो,’ डा. शर्मा भन्छन्, ‘पछिल्लो डेढ महिनामा डेंगी संक्रमणका ३ सय बढी बिरामी अस्पताल भर्ना भए।’
बहिरंग विभागमा आएर उपचार गरेर घर फर्किनेको संख्या सयभन्दा बढी भएको उनले बताए।
राति सुत्दा घरमा झुल वा लिक्विड प्रयोग गरे पनि दिउँसो केही नराख्दा डेंगी सार्ने लामखुट्टे सक्रिय भएको उनले बताए।
चितवनलगायत तराईँका जिल्लामा समेत बेलुका लामखुट्टे नदेखिएको तर डेंगीका बिरामी धेरै देखिएको भन्दै उनले अझै ढुक्क हुने अवस्था नरहेको बताए।
‘घरभित्र बसेको लामखुट्टेको टोकाइका कारण डेंगी हुन्छ। एउटा लामखुट्टेले एकै दिनमा चार देखि पाँच जनालाई सार्ने गर्छ,’ डा. शर्माले थपे, ‘घरभित्रको लामखुट्टे खतरनाक हो। यो चिसो मौसममा पनि बाँच्छ।’
वीर अस्पतालका रजिस्ट्रार डा. ज्ञानेन्द्र शाहले पनि डेंगी संक्रमण भएर धेरै उपचारमा आएको बताए।
अस्पतालले स्वास्थ्य मन्त्रालयलाई दैनिक रिपोर्ट बुझाउने गरेको छ।
गएको माघ यता मात्र १३ हजार बढीलाई डेंगी संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले बताए।
उनका अनुसार लामखुट्टेको टोकाइले हुने भएकोले डेंगीको संक्रमण निमिट्यान्न हुने सम्भावना कम छ।
‘असोज महिनामा पनि धेरै जनामा पुष्टि भएको छ, महामारी र प्रकोपकै रुप लिने खतरा पनि थियो तर अब टर्दै गएको देखिन्छ। चिसो पनि विस्तारै सुरु हुन थालेको छ,’ उनले भने।

८ जनाको मृत्यु
डेंगी संक्रमणकै कारण गत माघयता ८ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकी बताउँछन्। देशभरका विभिन्न अस्पतालमा गरेर उनीहरूको मृत्यु भएको हो।
‘सुगर, मुटु रोग, एचआईभीजस्ता रोग लागेका बिरामीलाई डेंगीबाट बचाउन निकै गाह्रो भएको छ,’ डा. बुढाथोकी भन्छन्, ‘त्यस्ता बिरामीलाई आईसीयुमा राख्नुपरेको छ।’
मन्त्रालयका अनुसार, धेरै बिरामी घरमै सिटामोल खाएर बसेकाले यकिन संख्या थाहा हुन सकेको छैन।
‘परीक्षण भएकैमा ६० प्रतिशत बढीलाई डेंगी पोजिटिभ देखिएको छ। परीक्षण नै नभएका कति होलान्,’ टेकु अस्पतालका निर्देशक डा. बसौला भन्छन्, ‘यो समस्या अझै कम्तीमा २ हप्ता रहन्छ।’
दसैँ मान्न गाउँ गएकाहरू फर्किँदा यसको जोखिम बढी हुने चिकित्सकहरूले देखेका छन्।
‘गाउँमा खुला हिँड्दा दिउँसै लामखुट्टेले टोकेर डेंगी सारेको पनि हुन सक्छ,’ उनले भने, ‘ती मानिसहरू यता फर्किएपछि एकपटक फेरि यो संख्या बढ्न सक्छ।’
Shares

प्रतिक्रिया