गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी राज्य र नागरिकबीचको पहिलो सम्पर्क सूत्रका रूपमा रहेको बताएका छन्।
६९औँ प्रहरी दिवसका अवसरमा मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरी मुलुकको अपरिहार्य र महत्त्वपूर्ण संस्थाका रूपमा स्थापित भइसकेको बताए।
गृहमन्त्री लेखकले नेपाल प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका आश्रित परिवारहरूलाई कदरपत्र प्रदान गरे।
प्रहरी दिवस २०८१ स्मारिका र नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरूको नामावली तथा अमर प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षयकोषहरूको विवरण पुस्तिका लोकार्पण समेत गरिएको छ।
समारोहलाई सम्बोधनका क्रममा गृहमन्त्री लेखकले राष्ट्रको आन्तरिक शान्ति सुरक्षा, कानुन कार्यान्वयन, मानव अधिकार संरक्षण र प्रवर्द्धन अपराध नियन्त्रण र अनुसन्धान, विपत्ति र प्रकोपमा खोज/उद्धार, सवारीसाधन व्यवस्थापनदेखि अन्तर्राष्ट्रिय स्तरमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका ज्यादै प्रशंसनीय रहेको बताए।
राज्यका तर्फबाट नेपाल प्रहरी नागरिकसमक्ष पहिलो पुग्ने संवाहक रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले भने, ‘अन्यायमा परेका जो कोहीलाई न्याय दिलाउने र कसूरदारलाई दण्ड दिने राज्यको पहिलो प्रतिनिधि नेपाल प्रहरी हो। मानव अधिकारको संरक्षक र पालक पनि हो। यति धेरै जिम्मेवारी र दायित्व सायद अरू कुनै संगठनमा छैन। ती भूमिका र कर्तव्य पालना गर्दा निश्चित रूपमा आन्तरिक र बाह्य रूपमा केही चुनौती र कठिनाइ छन्।’
गृहमन्त्री लेखकले थपे, ‘साधन स्रोतका सीमाहरू पनि भएको र यदा कदा इमानदारी पूर्वक जिम्मेवारी पालना गर्दै गर्दा पनि आलोचना र अपेक्षाका भारी बोक्नुपरेको छ र ती अवरोह छिचोल्दै आफ्नो कर्तव्यमा अविचलित रहने सामर्थ भएको संगठन नेपाल प्रहरी हो। यो क्षमता संगठनको अलौकिक विशेषता पनि हो। जुनसुकै कठिन घडीमा पनि निष्ठावान रही कर्तव्यपरायण रहने नेपाल प्रहरीको अत्यन्त मौलिक चरित्र हो।’
नेपाल प्रहरीको संस्थागत हित र दिगो उन्नतिका लागि सदैव सहयोगी रहने तथा संगठनले सुरु गरेका हरेक रचानात्मक योजना तथा कार्यलाई पूर्णता दिन सदैव प्रतिबद्ध रहेको उनले बताए।
महिला तथा बालबालिका उपर हुने हिंसा, कसुरजन्य कार्य, भेदभाव, छुवाछूतलगायत कुनै पनि आपराधिक कर्म र सञ्जालप्रति कुनै आग्रह पूर्वाग्रह र मलैजा नगरी शून्य सहनशीलताको नीतिअनुरूप कानुनको दायरामा ल्याउन सम्पूर्ण प्रहरी कर्मचारीलाई उनले निर्देशन समेत दिए।
आगामी दिनमा सबै प्रहरी कर्मचारीहरू थप सचेत एवं इमानदारी भई आफ्नो क्षमता र व्यावसायिकताको प्रदर्शन गर्दै कार्य गर्न उनले आग्रह गरे।
कानुनविपरीत भए/गरेका कार्यलाई निर्भिकतापूर्वक कानुनको दायरामा ल्याउन नेपाल प्रहरीले निर्वाह गरेको व्यावसायिक क्षमता र निष्ठाको उनले उच्च प्रशंसा समेत गरे।
समारोहमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जस्तोसुकै विषम परिस्थितिमा पनि नागरिकमैत्री सेवा प्रवाहलाई केन्द्रमा राखी उच्च निष्ठाका साथ सांगठनिक श्रीवृद्धितर्फ केन्द्रित रहन नेपाल प्रहरीका सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिए।
अमर प्रहरी तथा अशक्त प्रहरी एवम् परिवारजनका साथै अवकाश प्राप्त प्रहरी कर्मचारी र उनीहरूका परिवारजनको हकहितका लागि नेपाल प्रहरी संगठन सदैव चिन्तनशील रहँदै मन, वचन र कर्मले यथाशक्य सेवा सुविधा प्रदान गर्न दृढ संकल्पित रहेको उनले बताए।
Shares

प्रतिक्रिया