समाज


आजदेखि बीपी राजमार्गमा ठूला बस पनि सञ्चालन

मालवाहक सवारीसाधनलाई अझै छैन अनुमति
आजदेखि बीपी राजमार्गमा ठूला बस पनि सञ्चालन

सोमबार यात्रुवाहक साना सवारीसाधनलाई मात्र चल्न दिइएको थियो।


नेपालखबर
असोज २९, २०८१ मंगलबार ९:१५, काठमाडौँ

आज (मंगलबार) देखि बीपी राजमार्गमा ठूला बस पनि चल्न थालेका छन्। 

रोसी नदीले सडक बगाएका स्थानमा अस्थायी ट्र्याक खोलेर आजदेखि यात्रुवाहक साना/ठूला दुवै खालका सवारीसाधन सञ्चालन गर्न दिइएको हो। 

सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले यसअघि यात्रुवाहक साना सवारीसाधन मात्र सञ्चालन गर्न दिइएकामा आज बिहानदेखि यात्रुवाहक ठूला बस पनि चल्न दिइएको जानकारी दिए। 

‘हिजोसम्म यात्रुवाहक साना सवारीसाधन मात्र चल्न दिएका थियैँ’, डिभिजन प्रमुख योगेशले मंगलबार बिहान नेपालखबरसँग भने, ‘दसैँमा काठमाडौँबाट विभिन्न स्थानमा घर गएकाहरूलाई फर्किन सजिलो होस् भनेर यात्रुवाहक सबै खालका सवारीसाधनलाई सञ्चालन गर्न अनुमति दिएका छौँ।’

उनका अनुसार अहिलेलाई रुट परमिट लिएका यात्रुवाहक सवारीसाधनलाई मात्र बीपी राजमार्गमा सञ्चालन अनुमति दिइएको हो।

‘मालवाहक सवारीसाधनलाई भने अहिले चल्न दिएका छैनौँ’, उनले भने, ‘यात्रुवाहक बसलाई पनि रातिको समयमा चाहिँ नचलाउन अनुरोध गरेका छौँ।’

अझै कतिपय स्थानमा सुक्खा पहिरो खस्ने सम्भावना रहेकाले राति सवारीसाधन सञ्चालन नगर्न भनिएको डिभिजन प्रमुख योगेशले बताए। 

सडक डिभिजन भक्तपुरका सूचना अधिकारी, इन्जिनियर सुमनराज बस्नेतले बीपी राजमार्गअन्तर्गत चौकीडाँडा र माम्ती खोलानजिकको डाइभर्सनमा सोमबार साँझ थप मर्मत गरिएपछि आजदेखि यसअघि रुट अनुमति पाएका यात्रुवाहक ठूला बसलाई पनि सञ्चालन गर्न दिइएको जानकारी दिए। 

यही असोज १०, ११ र १२ गतेसम्म भएको लगातार वर्षापछि रोसी नदीमा आएको बाढीले बीपी राजमार्गको भकुन्डेबेँसी बर्खेखोलाला खण्डमा ८ किलोमिटरभन्दा बढी सडक बगाएको छ। जहाँ हाल ट्र्याक निर्माण गरी अस्थायी रूपमा यातायात खुलाइएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad