समाज


मयूर नाच संरक्षणमा जुटे हल्चौरका युवा

मयूर नाच संरक्षणमा जुटे हल्चौरका युवा

नेपालखबर
असोज २८, २०८१ सोमबार १७:४४, सुर्खेत

आधुनिक प्रविधिसँगै लोप हुँदै गएको मयूर नाचको संरक्षणमा जाजरकोट नलगाड नगरपालिका–८ हल्चौरका युवा जुटेका छन्। दसैँ, तिहारजस्ता पर्वमा यहाँका युवाले उक्त नाच गाउँगाउँमा गएर प्रदर्शन गरी संरक्षण अभियान चलाएको स्थानीय विष्णु केसीले बताए।

युवाले रकम जुटाएर मयूर नाचका लागि आवश्यक सामग्री खरिद गरी गाउँमा मयूर नाच नाचिरहेको उनले जानकारी दिए। पछिल्लो समय ‘स्पीकर’बाट गीत बजाएर नाच्ने चलन बढिरहेको समयमा मयूर तथा सिगारु नाचले गाउँमा रौनकता छाएको पञ्चभयार माध्यमिक विद्यालयका शिक्षक वीरबहादुर खत्रीले बताए।

अघिल्लो पुस्ताले गाउने र नाच्ने यी पुराना संस्कार संरक्षण नहुँदा पछिल्लो समय लोप हुँदै गएको थियो। अहिले युवाहरू मिलेर संरक्षण अभियान सञ्चालन गरेकामा आफूलाई खुसी लागेको उनले बताए।

सल्ल्यान, रुकुम पश्चिमको मग्मालगायतका ठाउँबाट सिकेर यहाँका युवाले मयूर नाच गाउँमा प्रदर्शन गरिरहेका छन्।

‘पहिला हाम्रो पालामा केटाकेटीको कुरा गीतबाटै हुन्थे, आजभोलिको जस्तो मोबाइल थिएन। मादल, कुरकुटी, झ्यालीको सहायताले नाच्ने र गाउने काम हुन्थ्यो’, स्थानीयवासी हरिबहादुर खत्री भन्छन्, ‘डोल्पाबाट बग्दै आयो कस्तुरीको विना! वन वराउँछ बयार्लैले, मन वराउँछ किन? गैरीखेत घाँस खाँदै आए डोल्पाली घोडा, हजुरको मयूर नाचको बयानै सुनी आइगैँ बाबु, छोरा। यी टुक्काहरू सिगारु नाचका हुन्।’

मयूर नाचसँगै सिगारु नाचका गीतले अहिले हल्चौरको गाउँमा छुट्टै रौनकता छाएको छ। मादल, नेवर, झ्याली, कुरकुटी, बाँसुरी र मयूरको प्याकको सहायताले मयूर नाच प्रदर्शन गरिन्छ।

बाइसे, चौबिसे राज्य हुँदा खगेनकोटी राजाले आफ्नी श्रीमतीले दाइजोस्वरुप जुम्लाबाट ल्याएकी भान्से ब्राह्मणको बिहेवारीपछि विर्तास्वरुप हल्चौरको माटो उपयुक्त मानी न्यौपाने थरका ब्राह्मणलाई  ठूलो चौरमा हलो जोतेर दिएका कारण हल्चौर नाम रहन गएको खगेनकोटी खत्रीहरूको वंश वृक्ष किताबमा उल्लेख छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad