समाज


धवलागिरि हिमालबाट ५ आरोहीको शव आज काठमाडौँ ल्याइने

धवलागिरि हिमालबाट ५ आरोहीको शव आज काठमाडौँ ल्याइने

नेपालखबर
असोज २८, २०८१ सोमबार ११:५७, काठमाडौँ

एक साताअघि धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचजना पर्वतारोहीको शव आज काठमाडौँ ल्याइँदैछ।  

यही असोज २१ गते धवलागिरि हिमाल आरोहणको क्रममा म्याग्दीको धवलागिरि गाउँपालिका ४ बाट पाँचजना रुसी नागरिक बेपत्ता भइका थिए। 

आधार शिविरमा बास बसेर धौलागिरी आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए। 

प्रहरीका अनुसार रुसी नागरिक अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव असोज २३ गते दिउँसो भेटिएको थियो।

सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका उनीहरुको शव ल्याउन प्रतिकूल मौसमको कारण समस्या भएको थियो। आज मौसम केही सुधारिएकाले घटनास्थलमा हेलिकप्टर जाने तयारी भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए।   

हेलिकप्टर अवतरण गर्न र व्यक्ति हिँडेर पुग्न नसकिने ठाउँमा पाँच जनाको शव भेटिँदा शव संकलन गर्न र ल्याउन समस्या भएको थियो।  

बुधबार, बिहीबार र शुक्रबार शव ल्याउन गएको हेलिकप्टर रित्तै फर्किएका। शनिबार दसैँ भएकाले र आइतबार हिमालमा कुहिरो लागेकाले हेलिकप्टर जान सकेनन्। 

‘आइ एम ट्रेकिङ एण्ड एक्सपीडिसन’मार्फत रुसका १४ पुरुष पर्वतारोही धौलागिरि हिमाल आरोहणका लागि गएका थिए। नौ पर्वतरोही बिचमै आरोहण रद्द गरेर फर्किएका थिए। विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad