समाज


दसैँका बेला आफन्त बिदाइ गर्नुपर्दा विमानस्थलमा भिजेका आँखाहरू

दसैँका बेला आफन्त बिदाइ गर्नुपर्दा विमानस्थलमा भिजेका आँखाहरू

शुक्रबार साँझ त्रिभुवन विमानस्थलमा विदेश जानेहरू र बिदाइ गर्नेहरूको भीडभाड।


सिबी अधिकारी
असोज २६, २०८१ शनिबार ७:३३, काठमाडौँ

‘एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त दसैँको टीका लगाएर प्लेन चढ्छु भनेको थिए, मलेसियाबाट कम्पनी साउले बरु जागिर छाड्न सक्छौँ बिदा थप्न मिल्दैन भन्यो, मेरा लागि अहिले दसैँ र परिवारभन्दा जागिर प्यारो भयो सर’, सर्लाहीका अजय मेहताले भने। 

दसैँको अघिल्लो दिन घरबाट केही थान कपडा बोकेर वैदेशिक रोजगारीमा हिँडेका मेहताका लागि यो बाध्यता रह्यो। शुक्रबार साँझपख बोर्डिङ पास लिनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको भीडमा भेटिएका मेहताका लागि दसैँको अघिल्लो दिन घर छाड्नु निकै कष्टकर भयो। सर्लाहीको घरमा बिहीबार गर्भवती श्रीमती चाँदनीदेवी र आमा उर्मिलादेवीले रुँदै हात हल्लाएर बिदा गरेको क्षण सम्झँदै गर्दा उनका पनि आँखा टिल्पिलाए।

मेहताको जस्तै पीडा सिराहाका घनश्याम यादवको पनि छ। दसैँको टीका र अभिभावकको आशीर्वाद लिएर विमानमा बस्ने योजना समय र परिस्थितीले पूरा हुन दिएन।‘दसैँ मनाएरै जान्छु भन्ने त थियो तर मेरो रहरलाई बाध्यताले जित्यो’, उनले भने।

वैदेशिक रोजगारीका लागि साउदी हिँडेका यादवले कम्पनीले दुई महिनाको छुट्टी दिएको थियो। तर दुई महिनाको लामो छुट्टीमा पनि दसैँ एक दिनले अट्न सकेन।‘कम्पनीममा फोन गरेर बिदा लम्बाउन सकिन्छ कि ट्राई गरेको हो नि, तर मिलेन, उनीहरूलाई हाम्रो दसैँको महत्त्व थाहा नभएर पनि हुनसक्छ’, उनले भने। 

दसैँको अघिल्लो दिन विमानस्थलको भीडमा धनुषाका विनयकुमार यादव पनि  भेटिए। विमान चढ्नुअघि सम्झनाका लागि केही थान तस्बिर लिँदै गरेका उनी पनि कामको सिलसिलामा साउदी अरब हिँडेका रहेछन्। महान् पर्व दसैँका बीचमा परिवार र आफन्त छाड्नुपर्दाको पीडा उनको मनमा पनि गढेर बसेको छ।

‘अरु दसैँमा घर आउँछन्, हामी दसैँमा छाड्नु परेको छ। यो हाम्रो बाध्यता भयो, यहाँ मजस्ता हजारौँको पीडा पनि उस्तै त होला भनेर चित्त बुझाएको छु’, उनले भने। उनले साउदी अरबमा मर्मतसम्बन्धी कम्पनीमा काम गरिरहेको बताए।

वैदेशिक रोजगारीका लागि दसैँ छाडेर कतार हिँडेका चितवनका अरुण रम्तेलको मन पनि निको छैन। प्लस टुमा होटल व्यवस्थापनको पढाइ पूरा गरेपछि उनी जागिर खोज्दै विदेश हिँडेका रहेछन्। बुबा मलेसियामै काम गरिरहेकाले आफू पनि विदेश नै रोजेको उनले सुनाए। 

आमा सम्झना रम्तेलले आँशु पुछ्दै विमानस्थलको टर्मिनलमा छोरालाई नेपालको झण्डा पहिराएर बिदाइ गर्दा अरुणका पनि आँखा रसाए। रम्तेलले भने,‘बाबा पनि विदेशतिरै हुनुहुन्छ, भाइको पढाइ र घरखर्चका लागि म पनि त्यतै जानुपर्ने भयो, भिसा र टिकटको काम सकिएपछि दसैँका लागि कुर्न सकिएन’, उनले भने। 

त्यसैगरी लुम्बिनीका ओमप्रकाश चौबे वैदेशिक रोजगारीका लागि दुबईका लागि प्लेन चढ्नु अघि विमानस्थलको टर्मिनलमै भेटिए। केही समयअघि बिदा लिएर  घर आएका चौबेले दसैँमा आफै मात्रै होइन, भतिज अजय चौबेलाई पनि सँगै लैजाँदै थिए। अजय चौबेले कक्षा नौको पढाइलाई अधुरै छाडी विदेश हिँडेका रहेछन्। 

नेपालगन्जकी २४ वर्षीय रेखा खत्रीको पनि जापान जाने टिकट दसैँको अघिल्लो दिन नै परेछ। नेपालमा अध्ययन गरेपनि रोजगार नपाएपछि विदेशिन बाध्य भएको उनले सुनाइन्।‘प्लस टु सकेर चार वर्ष कृषि विषय पढे तर केही पनि काम पाइनँ। अहिले डेढ वर्ष जापानिज भाषा पढेर जापान हिँडेकी छु’, उनले भनिन्। 

जापान जाँदै गरेकी बहिनीलाई बिदाइ गर्न विमानस्थल पुगेका काठमाडौँ तारकेश्वरका इन्द्र रानामगरले टिकट नमिलेका कारण दसैँको मुखमा छुट्टिनु परेको दुःखेसो पोखे।‘परिवारका सबै सदस्य सँगै बसेर दसैँको टीका लगाउन त मन थियो नि, परिस्थितिले त्यस्तै गर्‍यो, टिकट मिलाउनै सकिएन’, उनले भने।

महानवमीको दिन गाउँ तथा सहरमा दसैँ मनाइरहँदा उनीहरूजस्ता हजारौँले शुक्रबार पैसा कमाउनका लागि मुलुक छाडे। उनीहरूलाई बिदाइ गर्न विमानस्थलसम्म पुग्नेहरूका अधिकांशले भिजेका आँखाले बिदाइ गरेको दृश्य अत्यासलाग्दो देखिन्थ्यो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad