काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी वितरण सुरु गरिएको छ।
मेलम्ची खानेपानी विकास समितिले मङ्गलवारदेखि काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु गरेको हो।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ईन्जिनियर रत्नप्रसाद लामिछानेले हाल काठमाडौं उपत्यकामा मेलम्ची खोलबाट दैनिक २२ करोड लिटर पानी ल्याइएको जानकारी दिए।
अघिल्लो वर्षभन्दा यो वर्ष मेलम्चीको पानी छिटो काठमाडौंमा आएको छ। पानी पठाउने संरचनामा निरन्तर अनुगमन गरेर क्षतिबाट बचाएकोले समयमै पानी काठमाडौंमा पठाउन सकिएको प्रमुख लामिछानेले जानकारी दिए।
उनले उपत्यकामा हिजोबाट दैनिक १७ करोड लिटर पानी प्रशोधन गरेर वितरण भइरहेको बताए। उनले ५ करोड लिटर पानी भने बागमती नदीमा पठाइएको बताए।
उनले भने, ‘मेलम्ची खोलामा अहिले प्रशस्त पानी छ। करिव ४० करोडदेखि ५० करोड लिटर पानी खोलामा छ तर हामीले सबै पानी डाइभर्ट गरेका छैनौँ। अहिले हामीले २५ करोड लिटर पानी डाइभर्ट गरेका छौँ। काठमाडौंमा करिब २२ करोड लिटर पानी आइपुगेको छ। तर हाम्रो पानी प्रशोधन केन्द्रको क्षमता भनेको १७ करोड लिटर मात्रै छ। बढीमा हामीले १८ करोड लिटर पानी प्रशोधन गर्न सक्छौँ। बाँकी रहेको पानी बागमती नदीमा छोडिरहेको छौँ। बागमती नदीमा दिनको करिब ४ करोड लिटर पानी मेलम्ची नदीबाट थपिएको छ। बागमती नदीमा अहिले करिब ९ करोड लिटर पानी थप भएको छ। हाम्रो ट्रिटमेन्ट प्लान्टमा करिब १८ करोड लिटर पानी प्रशोधन भएर वितरण भएको छ। ट्रिटमेन्ट भएको पानी पनि करिब १७ करोड लिटर प्लस हामीले वितरण गरिरहेका छौँ।’
कार्यकारी निर्देशक लामिछानेले मेलम्चीबाट आएको पानी पिउनयोग्य भएको बताए। उनले मेलम्चीबाट सुन्दरीजल ल्याइएको पानी चार तहसम्म प्रशोधन गरेर वितरण गरिने बताए। यद्यपी पुरानो लाइनबाट गएको पानी भने पाइपहरुको टुटफुटका कारण प्रदुषित हुन सक्ने उनको भनाई छ।
उनले मेलम्ची आयोजनाको नयाँ लाइनबाट आएको पानी भने नउमालिकन पिउन सकिने गुणस्तरमा रहेको बताए।
उनले भने, ‘एक त मेलम्चीको पानी सुन्दरीजलसम्म आउँदाखेरी पानी राम्रो नै आइराखेको हुन्छ। त्यहाँ हाम्रो अत्याधुनिक पानी प्रशोधन केन्द्रहरु छ। त्यहाँ हामीले ३/४ लेयरमा पानीलाई प्रशोधन गरेर फेरि लास्टमा क्लोरीनेशन गरेर पठाउँछौँ। पुरानो लाइनबाट गएको पानी छ भने हामी भन्न सक्दैनौँ, हामीले शुद्ध पानी पठाउँदा पनि पाइप फुटेर अरु पानी प्रदुषित हुनसक्छ। तर हामीले पठाएको नयाँ लाइनबाट पानी आएको छ भने धाराको पानीलाई नउमालिकन पिउन सक्नेगरी पिउन योग्य गुणस्तरमा पठाएका छौँ। त्यसको गुणस्तर चेक हामी प्रत्येक दिन, प्रत्येक घण्टा पनि चेक गरेर ट्रिटमेन्ट प्लान्टबाट छोडेका छौँ। पुरानो लाइन कस्तो छ भन्न सकिन्न। तर नयाँ लाइनको पाइप जोडिएको छ भने त्यो पानी ढुक्कसँगले पिउन सक्ने अवस्था छ।’
उनले काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बागमती नदी मुहानबाट पानी संकलन गर्न अगाडि बढाएको योजना इआए स्वीकृत नभएको कारण रोकिएको बताए। बागमती नदी मुहानमा वर्षातको समयमा प्रशस्त पानी रहने तर संकलन हुन नसक्दा खेर गएको बताए। मुहानमा प्रशस्त पानी हुने तर तलका जनतामा पिउने पानीका लागि तड्पनुपर्ने अवस्था रहेको बताए।
उनले वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत नहुँदा नागरिकलाई पानी वितरण गर्न नसकिएको बताए। उनले वातावरणीय अध्ययन प्रतिवेदन फास्ट ट्रयाकमा स्वीकृत गर्नुपर्नेमा जोड दिए। उनले अध्ययन प्रतिवेदन छिटो स्वीकृत गर्नुपर्ने कुरामा नीतिगत सुधार गर्नुपर्ने बताए।
कार्यकारी निर्देशक लामिछानेले अहिले २२ करोड लिटर पानी उपत्यकामा ल्याइएको भएपनि चैत र वैशाख महिनामा भने १७ करोड लिटर मात्रै ल्याइने जानकारी दिए।
२०७८ साल असार १ गते र साउन १६, १७ गते मेलम्ची नदीमा आएको विनाशकारी बाढीले मेलम्ची नदीको पानी डाइभर्सन गर्न बनाइएको हेडवक्र्सका संरचना पूर्णरुपमा नष्ट भएपछि वर्षातको समयमा पानी काठमाडौंमा पठाउन छोडिएको थियो। वर्षात कम भएसँगै पानी काठमाडौं उपत्यकामा पठाउन थालिएको हो।
मेलम्चीको पानी सिधै पिउनयोग्य छ– कार्यकारी निर्देशक लामिछाने pic.twitter.com/irEGfUtTVD
— Nepalkhabar (@nepalkhabar) October 10, 2024
Shares

प्रतिक्रिया