हङकङमा गुरुङ फिल्म एसोसिएसन हङकङ (जिफाह)ले सांस्कृतिक तथा सांगीतिक कार्यक्रम ‘जिफाह साँझ–२’ आयोजना गर्ने भएको छ।
संस्थाले गत आइतबार जोर्डन स्थित चुम्लुङ हिममा एक कार्यक्रम मार्फत उक्त जानकारी दिएको हो।
आयोजकका अनुसार कार्यक्रम आगामी नोभेम्बर १७ मा याउ मा तेई कम्युनिटी हलमा हुनेछ। उक्त साङ्गितिक तथा सांस्कृतिक कार्यक्रममा नेपालबाट झन्डै आधा दर्जन गुरुङ कलाकारहरूको प्रस्तुति रहनेछ भने अष्ट्रेलिया, अमेरिका लगायतका गुरुङ चलचित्रकर्मीहरूको सहभागिता रहनेछ।
साथै हङकङका स्थानीय आधा दर्जन गुरुङ कलाकारहरूको समेत प्रस्तुती रहनेछ।

संस्थाका अध्यक्ष, संयोजक तथा गुरुङ चलचित्रकी नायिका माया गुरुङलाई ‘कार्यक्रम आउन अझै एक महिना भन्दा बढी समय रहेको छ, यति चाँडै कार्यक्रम सार्वजनिक गर्नु भयो, कार्यक्रमको खास उद्देश्य चाहिँ के हो?’ भनी नेपालखबरले सोधेको थियो।
सो प्रश्नको जवाफ दिँदै गुरुङले भनिन्, ‘लामो समय पश्चात दोस्रो संस्करणको कार्यक्रम ल्याउँदैछौँ, यो हाम्रो संस्थाको नियमित कार्यक्रम पनि हो। कोभिडको कहरले पनि हाम्रो कार्यक्रम रोकियो। त्यसैले यो पटक निकै उत्साह र भव्यताका साथ सम्पन्न गर्ने हाम्रो सोच रहेको छ। नेपालबाट धेरै कलाकारहरू पनि ल्याउँदैछौँ, खर्च पनि निकै नै हुँदैछ, त्यसैले पनि पूर्ण तयारी हुन हामीले चाँडै नै कार्यक्रम सार्वजनिक गरेका हौँ।’

उनले थपिन्, ‘हामीलाई विश्वास छ कि हङकङमा बसोबास गर्नु हुने सम्पूर्ण नेपाली समुदायले हामीलाई सहयोग र साथ दिनु हुनेछ। जहाँसम्म उद्देश्य को कुरा छ, त्यसमा हामी स्पष्ट छौँ, आधुनिकताको बहानामा हामीले आफ्नो कला संस्कृती बिर्संदै गएका छौँ, पहिचानहरू गुमाउँदै गएका छौँ, त्यसैले गुरुङ गीत, सङ्गीत र चलचित्रको माध्यमबाट गुरुङ समुदायको कला र संस्कृतीलाई विश्वभर प्रबर्द्धन गर्ने कार्यक्रमको प्रमुख उद्देश्य हो। हामीले आफ्नो लागि आफैं गर्नु पर्छ भन्ने हाम्रो संस्थाको मान्यता रहेको छ।’
संस्थाले जिफाह नेपालका लागि पनि आर्थिक सहयोग जुटाउँदै आएको छ। संस्थाले २०१७ मा ‘जिफाह साँझ–१’ ल्याएको थियो।
जिफाह हङकङ सन् २०१६ मा स्थापना भएको थियो।
Shares

प्रतिक्रिया