समाज


प्रधानमन्त्रीपत्नीले उपचारमा सघाउने वचन दिएपछि सुनीतामा आशा बढ्यो

प्रधानमन्त्रीपत्नीले उपचारमा सघाउने वचन दिएपछि सुनीतामा आशा बढ्यो

मणि दाहाल
फागुन २६, २०७६ सोमबार १४:५१,

२४ वर्षीया सुनीता विकको आँखामाथि सानो घाउ देखियो।

२३ महिनाअघि घाउ आएपछि अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नम्बर ८ की उनले सबैभन्दा पहिले गाउँमै बसेको आँखा शिविरमा जँचाइन्।

चिकित्सकले त्यो समस्या आँखासम्बन्धी रोग नभएको भन्दै सामान्य मलम दिए।

त्यसले काम गरेन। त्यसपछि उनले स्थानीय औषधि पसल, पाल्पा, बुटवल हुँदै भैरहवाका विभिन्न अस्पतालमा जँचाइन्।

‘घाउ निकै भएन। शरीरमा अन्यत्र पनि फैलिन थाल्यो। म भारतमा काम गर्ने उनलाई पनि दिल्लीमै लगेर जाँच गराएँ,’ सुनीताका पति प्रकाशले भने, ‘सुन्निएको शरीरबाट रगत पनि चुहिने अवस्था थियो। गतवर्ष चैतमा बल्ल के रोग लागेको हो भन्ने निश्चित भयो।’

उनलाई दिल्लीका डाक्टरहरुले यस्तो रोग कमै मानिसलाई लाग्ने बताए।

सुनीतालाई स्वास्थ्यकर्मीबीच बोलीचालीको भाषामा ‘लुपस’ भनिने ‘सिस्टमिक लुपस इरिथिमाटोसस’ रोग लागेको पत्ता लाग्यो। यो रोग हुने व्यक्तिको प्रतिरोधी क्षमताले आफ्नै कोषमाथि आक्रमण गर्छ।

यो रोगले मानव शरीरका सबै अंगलाई असर गर्छ। सुनीताको पनि मिर्गौलामा लाग्ने रोगको जस्तो लक्षण देखिएपछि अल इन्डिया मेडिकल इन्स्टिच्युट (एम्स) मा मिर्गौलाको बायोप्सी गरिएको थियो। त्यसपछि बल्ल त्यो रोगबारे उनीहरुले जानकारी पाएका थिए। 

SunitaBir2

दिल्लीसँग जोडिएको गुडगाउँमा घरेलु कामदारको रुपमा कार्यरत प्रकाशले सुनीतालाई उपचारका लागि भारतमै लगे।

‘मसँग भएको सबै पैसा उपचारमा सकियो। रोग भने निको भएन। त्यसपछि घरमै फर्काएँ,’ वीर अस्पतालमा पत्नीको कुरुवा बसेका प्रकाशले नेपालखबरसँग भने।

अर्घाखाँचीको एउटै वडाका गाउँले तारा फुलेलले अहिले सुनीताको उपचारमा सहयोगका लागि अभियान चलाएका छन्।

‘यसअघि पनि उपचारमा रकम अभाव भएका बिरामीका लागि अभियान चलाउँदै आएका थियौँ,’ फुलेलले भने, ‘सुनीताका लागि पनि गाउँका अन्य साथीहरुसँग मिलेर सहयोग जुटाउने प्रयास गरिरहेका छौं।’

उनले पछिल्लो समय ५० हजार रुपैयाँ जुटाएका छन्। उनको यो पहलमा श्रवण क्षेत्री र रिता बुढाथोकीले साथ दिँदै आएका छन्।

‘सुनीताको स्वास्थ्यबारे आएका खबरमा प्रधानमन्त्री कार्यालयको समेत ध्यानाकर्षण भएको छ र त्यसप्रति समेत चासो व्यक्त भएको छ,’ फुलेलले भने, ‘उहाँहरुले फोन गरेर उपचारका लागि वीर अस्पतालमा ल्याउन भनेपछि यहाँ ल्याएका हौं।’

फागुन २१ गते वीर अस्पतालमा भर्ना भएकी सुनीताको त्यहाँको नेफ्रोलोजी वार्डमा उपचार भइरहेको छ।

यसैबीच, आइतबार प्रधानमन्त्रीपत्नी राधिका शाक्य बिरामी सुनीतालाई भेट्न अस्पताल पुगेकी थिइन्। उनले सुनीताको उपचारको व्यवस्था सरकारले गर्ने जानकारी गराएकी थिइन्।

sunita-radhika.jpg

‘उहाँहरुको कुरा सुनेपछि उपचार हुन्छ कि भन्नेमा ढुक्क भएको छु,’ प्रकाशले आशा व्यक्त गरे। सो भेटका बेला प्रधानमन्त्रीपत्नीसँग ओलीका निजी चिकित्सक दिलीप शर्मा र वीर अस्पतालका मेडिकल डाइरेक्टर केदारनाथ सेन्चुरी पनि पुगेका थिए।

सुनीताको उपचारमा लामो समय लाग्ने डा. श्रेष्ठ बताउँछन्।

‘यो लामो समयसम्म औषधि खाइरहनु पर्ने रोग हो,’ उनले भने।

छ र तीन वर्षका दुई छोराका पिता प्रकाशलाई भने श्रीमतीको स्वास्थ्य उपचार र बालबालिका पाल्ने दोहोरो समस्या छ।

अर्घाखाँचीको विपन्न परिवारका उनको गाउँमा एककोठे टिनले छाएको घर छ। घरखर्च टार्नकै लागि उनी भारतमा घरेलु कामदार बन्न पुगेका हुन्।

‘अहिले छोराहरुको हेरचाह गर्ने कि उनीहरुलाई पाल्न कमाउने भन्ने चिन्तामा परेको छु,’ उनले भने।

यो रोगका रोगीलाई घाम, धुलोबाट जोगाउनु पर्ने हुन्छ।

‘गाउँमा बस्ने हामीलाई यो सबैबाट जोगाएर उपचार जारी राख्न कसरी सम्भव होला, त्यही चिन्तामा छु,’ निरास हुँदै प्रकाशले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .