ad ad

समाज


सप्तकोसीमा पानीको बहाव ५६ वर्षयताकै उच्च

जलसतह खतरा तहभन्दा ११ दशमलव २६ मिटरमाथि: कोसी ब्यारेज कन्ट्रोल रुम
सप्तकोसीमा पानीको बहाव ५६ वर्षयताकै उच्च

नेपालखबर
असोज १३, २०८१ आइतबार ५:६, काठमाडौँ

सप्तकोसी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च भएको। आज (आइतबार) बिहान ३ः०० बजे गरेको मापनअनुसार कोसी ब्यारेज भएर सप्तकोसीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक रहेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। 

यसअघि कोसी ब्यारेज भएर अहिलेसम्मकै बढी सन् १९६८ अक्टोबर ५ तारिखमा पानीको बहाव प्रतिसेकेन्ड सात लाख ८८ हजार दुई सय क्युसेक मापन गरिएको थियो। शनिबार बेलुका १०ः२५ बजे सप्तकोसीको पानीको बहाव प्रतिसेकेण्ड ६ लाख २० हजार क्युसेक मापन गरिएको थियो।

कोसी ब्यारेज कन्ट्रोल रुमले गए राति ११ बजे दिएको जानकारीअनुसार जलसतह खतरा तहभन्दा ११ दशमलव २६ मिटरमाथि पुगिसकेको र अझ बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको जनाएको छ। 

पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजको सबै ५६ ढोका खोलिएका छन्। 

सप्तकोसी नदी जलसतह खतरा तहभन्दा  माथि पुगेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तरीका बाढीबाट कटान हुनसक्ने क्षेत्र तथा डुबान हुने होचा भूभागमा नबस्न र उच्च सतर्कताका साथ सुरक्षित स्थानमा जान सप्तकोशी चतरा जलमापन केन्द्रले सूचना जारी गरेको छ। 

लगातार पानीको बहाव बढ्दै गएपछि कोसी ब्यारेज भएर मानिस र सवारीसाधनलाई अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि आवागमन बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।

शनिबार बिहान ६ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले प्रतिसेकेन्ड तीन लाख ३६ हजार १० क्युसेक पानीको बहाव मापन गरेको थियो। 

नदीमा पानीको बहाव बढेर शनिबार साँझ ८ः०० बजे प्रतिसेकेन्ड चार लाख १८ हजार दुई सय ८५ क्युसेक, शनिबार राति १२ः०० बजे प्रतिसेकेन्ड पाँच लाख सात हजार ६ सय ९० क्युसेक तथा आज बिहान २ः०० बजे प्रतिसेकेन्ड ६ लाख ३२ हजार २८५ क्युसेक पानीको बहाव मापन गरिएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .