कोरोनाको आशंकामा परीक्षणका लागि अस्पताल पुग्नेहरुको संख्या बढेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. राजेश कुमार शाहले स्वास्थ्य परीक्षण गराउनेको संख्या बढ्दै गएको जानकारी दिएका छन्।
तर, पहिलो पटक कोरोनाको आशंकामा ट्रपिकल सेन्टरमा भर्ना भएका एकजनामा बाहेक यसको संक्रमण नदेखिएको उनले बताए। संक्रमण देखिएका व्यक्ति पनि उपचार पछि घर फर्किसकेका छन्।
डा. शाहले कोरोना भाइरसबाट बच्न सावधानी अपनाउनु पर्ने बताए। उनले जथाभावि भिडभाडमा नजान र जानै परे मास्क लगाएर जान आग्रह गरे। ६० वर्षभन्दा माथिका नागरिक, डाइबिटीज, मुटु सम्बन्धी समस्या र दमका रोगीहरुलाई संक्रमणको दर बढी देखिएको उल्लेख गर्दै उनले समयसमयमा साबुनपानीले हात धुन आग्रह गरे।
चीनको वुहानबाट देखिएको भाइरसले विश्वव्यापी अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने विश्लेषण भइरहेका बेला नेपालमा कोरोनाको कारण नाकाबन्दी हुने आशंका गर्न थालिएको छ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले ३०, ४० जना व्यक्तिमा मात्रै कोरोनाको संक्रमण देखिए नेपालमा नाकाबन्दी हुन सक्ने चिन्ता व्यक्त गरे। ‘भूकम्पपछि नेपालले व्यहोरेको नाकाबन्दी पीडादायी छ। ३०, ४० जनामा मात्रै कोरोना भाइरसको संक्रमण देखिएमा त्यो भन्दा ठूलो पीडा हुन सक्छ’, उनले भने।

प्रतिक्रिया