ad ad

समाज


विद्यालय अहिले बन्द नगर्ने सरकारको योजना, जोखिम देखिए तत्काल निर्णय

विद्यालय अहिले बन्द नगर्ने सरकारको योजना, जोखिम देखिए तत्काल निर्णय

यज्ञराज जोशी
फागुन २३, २०७६ शुक्रबार ९:२,

कोरोना (कोभिड–१९) भाइरसको जोखिमका कारण विभिन्न देशले विद्यालयहरु बन्द गरेपनि नेपाल सरकारले भने तत्काल विद्यालय बन्द नगराउने पक्षमा देखिएको छ। यदि बीचमा केही समस्या आइपरे तत्काल नयाँ निर्णय गरी सोहिअनुसार अघि बढ्ने सरकारी तयारी छ।

यसैहप्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै विद्यालयहरुलाई चैत्र ५ गतेसम्म वार्षिक अन्तिम परिक्षा सक्न आह्वान गरेको थियो। त्यसैअनुसार अहिले देशभरिका विद्यालयहरुले वार्षिक परिक्षाको तयारी गरिरहेको शिक्षा मन्त्रालयका सचिव महेश दाहालले बताए।

‘मन्त्रालयले अहिले विद्यालय बन्द गर्ने भनेको छैन। चैत्र ५ गतेसम्म ९ कक्षासम्मको परिक्षा सक्न भनेर आह्वान गरेका छौं,’ नेपालखबरसँग कुरा गर्दै दाहालले भने, ‘चैत्र ६ गतेबाट हुने भनिएको माध्यमिक शिक्षा परिक्षा (एसईई) पनि नियमित हुन्छ। यदि अवस्था परिवर्तन हुँदैगयो भने सरकारले नयाँ निर्णय गर्छ। अहिले बन्द गर्नेबारे केही निर्णय भएको छैन।’

अहिले नेपालमा विद्यालय नै बन्द गरेर आत्तिहाल्नु पर्ने अवस्था नरहेको सचिव दाहालले बताए।

‘अहिले सशंकित हुनुपर्ने अवस्था छैन। केही जोखिम देखिने अवस्था आएमा उच्चस्तरीय कमिटी छ, मन्त्रालय छ। निर्णय गरिहाल्छ,’ उनले थपे।

यसैबीच बुधबार मन्त्रालयले अर्को सुचना जारी गर्दै विद्यालय र शिक्षण संस्थाले संक्रमण फैलने तरिका र त्यसबाट बच्ने सम्वन्धमा गर्नुपर्ने कामबारे स्पष्ट पारेको छ।

मन्त्रालयले विद्यालयहरुले विद्यार्थीलाई हरेक दिन संक्रमणबाट बच्ने उपायहरु बारे बताउने, कक्षा शिक्षकले विद्यार्थीलाई हरेक दिन कोरोना भाइरसवारे सूचना तथा जानकारी उपलब्ध गराउने, भीडभाड भएको ठाउँमा सकभर नजाने, साबुन पानीले पटकपटक राम्ररी हात धुने, खाना खाजा खानुपूर्व अनिवार्य रुपमा साबुन पानीले हात धुने, हात नमिलाउने, अङ्कमाल नगर्ने, टाढैबाट नमस्कार गर्न प्रोत्साहन गर्न आह्वान गरेको छ।

यस्तै कुनै विद्यार्थीलाई ज्वरो रुघा–खोकी देखिएमा तत्काल अन्य विद्यार्थीहरुबाट अलग्गै राख्ने, तुरुन्तै अभिभावकलाई सम्पर्क गरी जिम्मा लगाउने, नजिकको स्वास्थ चौकी, अस्पताल वा चिकित्सकसँग सम्पर्क गरी उनीहरुको सल्लाहअनुसार उपचार गर्ने गराउने, ज्वरो र रुघा–खोकी लागेका विद्यार्थी र तीनका परिवारका अन्य व्यक्तिलाई घरमा सुरक्षित तवरले अलग्गै ठाँउमा राख्ने सम्बन्धी जानकारी गराउनुपर्ने उल्लेख गरिएको छ।

साथै मन्त्रालयले विद्यालयहरुलाई स्थिति सहज नभएसम्म अभिभावक भेला, वार्षिकोत्सव, साँस्कृतिक कार्यक्रम जस्ता कार्यक्रम आयोजना नगर्न, सामूहिक पिकनिक वा शैक्षिक भ्रमणजस्ता कार्यक्रम स्थगन गर्न समेत अनुरोध गरेको छ।

सरकारले भनेअनुसार गर्छौंः प्याब्सन
यसैबीच देशभरका ४३ सय विद्यालय सदस्य रहेको नीजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)ले सरकारले भनेअनुसार आफूहरुले तयारी गरेको जनाएको छ।

प्याब्सनका उपाध्यक्ष कृष्ण अधिकारीले सरकारले चैत्र ५ गतेभित्र परिक्षा सक्न आह्वान गरेअनुसार आफू मातहतका सबै विद्यालयले त्यही तयारी गरेको बताए।

‘हामीले सरकारको निर्देशन बमोजिम परिक्षा छिटो गराएर, छिटो स्कुल खाली गर्ने तयारी गरेका छौं,’ अधिकारीले भने, ‘६ गतेबाट सबै स्कुल खाली हुन्छन्। अहिले स्कुलमा पनि विधार्थीहरुलाई सचेतना सम्बन्धि कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं।’

उता, धनगढी उप–महानगपालिकाले भने आफ्ना क्षेत्रभित्रका विद्यालय २५ गतेदेखि बन्द गर्ने निर्णय गरेको छ।
उपमहानगरपालिकाले शुक्रबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘कोरोनाको जोखिमलाई ध्यान दिएर शुक्रबार बसेको सरोकारवालाको बैठकले यस उप–महानगरपालिका अन्तर्गत संचालित सामुदायिक तथा संस्थागत विद्यालयहरु लगायत सम्पूर्ण शिक्षण संस्थामा आधारभूत तथा विद्यालयका आन्तरिक परीक्षा लगायत पठनपाठनका सम्पूर्ण क्रियाकलाप अर्को सूचना नभएसम्म बन्द गर्ने निर्णय गरिएको छ।’

विधार्थीको स्वास्थ्यभन्दा परिक्षा ठूलो हैन्ः अभिभावक महासंघ
नेपाल अभिभावक महासंघले भने विधार्थीको स्वास्थ्यभन्दा परिक्षा ठूलो नभएकाले तत्काल विद्यालय बन्द गर्नुपर्ने माग राखेको छ। महासंघका अध्यक्ष धर्मदत्त देवकोटाले बिहीबार शिक्षा मन्त्रालयमा भएको सरोकारवालाको बैठकमा समेत महासंघका प्रतिनिधिले त्यही सुझाव दिएको बताए।

‘लागेपछि रोक्ने, बन्द गर्ने भन्दा पनि लाग्नुभन्दा पहिले नै सतर्कता अपनाउनु राम्रो हो,’ देवकोटाले भने, ‘अहिले केही समय विद्यालय बन्द गर्दा राम्रो हुन्छ भन्ने हाम्रो सुझाव हो।’

नेपाल जस्तो देशमा एकजना संक्रमित भए पनि त्यसले विद्यालय र समाजमा धेरैलाई सार्ने भएकाले त्यसबारे सचेत भई केही दिन विद्यालय बन्द गर्नु नै उचित हुने उनले बताए।

‘परिक्षाभन्दा स्वास्थ्य ठूलो कुरो हो। स्वास्थ्यलाई महत्व दिएर विद्यालय बन्द गर्नु राम्रो हुन्छ। परिक्षाका विभिन्न तरिका छन्, यसलाई पछि पनि लिन सकिन्छ,’ उनले थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .