ad ad

समाज


जीबी राई झिकाउन सरकारले मलेसिया पठायो सहकारी पीडित र साक्षीको बयान

६ वटा सफ्वेयर डिजिटल फरेन्सिक ल्याबमा
जीबी राई झिकाउन सरकारले मलेसिया पठायो सहकारी पीडित र साक्षीको बयान

उजिर कार्की
भदौ २३, २०८१ आइतबार १९:४२, काठमाडौँ

सहकारी ठगीका मुख्य आरोपित जीबी भन्ने गितेन्द्रबाबु राईलाई नेपाल फिर्ता गर्न सरकारले ताकिता गरेपछि मलेसियाले फेरि थप कागजात मागेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीबाट झिकाएर ती कागजात मलेसिया पठाइसकिएको गृह मन्त्रालयका एक अधिकारीले बताए। 

उनका अनुसार मलेसियाले पछिल्लोपटक पीडित र साक्षीको बयान कागज माग गरेको हो। मलेसियाले मागेका कागजात भाषा उल्था गरेर पठाइएको छ। 

‘नेपाल प्रहरीको टोली मलेसिया गएर फर्किएपछि थप कागजात पठाइएको हो। यसअघि नेपाल प्रहरीको टोली पनि मलेसिया गएर जीबी राईको बारेमा बुझेर फर्किएको छ। तर मलेसियाले केही थप कागजात माग गरेको छ र ती कागजात पनि पठाइसकिएको छ,’ गृहका ती अधिकारीले भने। 

रवि लामिछाने हटेर रमेश लेखक गृहमन्त्री भएसँगै जीबीलाई फिर्ता ल्याउन फेरि सरकारले ताकिता गरेको हो। यसअघि रवि गृह मन्त्रालयमा हुन्जेल उनलाई फर्काउन सरकारले कुनै प्रक्रिया अगाडि बढाएको थिएन। 

त्यसअघि नारायणकाजी श्रेष्ठले जीबीलाई नेपाल ल्याउन जोड गरेका थिए। त्यतिबेलैदेखि इन्टरपोलबाट समेत पहल भइरहे पनि सरकारले फर्काउन भने सकेको छैन।

‘मलेसियाले थप कागजात माग्नुको अर्थ अब फर्काउन सक्छ भन्ने हाम्रो बुझाइ हो। हामी त चाँडै आश्चर्यजनक रूपमा नेपाल ल्याउन सकिन्छ भन्ने आशामा छौँ,’ गृहका ती अधिकारीले नेपालखबरसँग भने। 

यसअघि जीबीबारे बुझ्न र मलेसियासँग पहल गर्न नेपाल प्रहरीका उपरीक्षक (एसपी) र प्रहरी नायब निरीक्षक (सई) मलेसिया गएर फर्किएका थिए। 

गत बुधबार उनीहरू फर्किएपछि नेपालबाट इन्टरपोलमार्फत थप कागजात पठाइएको हो। 

जीबीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी भइसके पनि मलेसियाले उनलाई समातेर बुझाउन मानेको छैन। यसअघि गत फागुन दोस्रो साता पनि नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा जीबीलाई फिर्ता गरिदिन मलेसियालाई कूटनीतिक पत्र पठाइएको थियो। 

त्यसलगत्तै श्रेष्ठ गृहमन्त्रीबाट हटेर परराष्ट्रमन्त्री बने। गृहमा जीबीकै व्यावसायिक साझेदार समेत रहेका रवि लामिछाने आएका थिए। लामिछाने पनि जीबीकै सहकारी र गोर्खा मिडिया नेटवर्कका ठगी मुद्दामा जोडिएका छन्। उनीविरुद्ध अहिले पनि प्रहरी र संसदीय छानबिन समितिले अनुसन्धान गरिरहेको छ। 

गृहमन्त्रीबाट हटेपछि प्रहरीले पूरक जाहेरीका सम्बन्धमा रविसँग सोधपुछ गरिसकेको छ। उनी जोडिएका कम्पनीमा छापा मारेर प्रहरीले कागजात समेत नियन्त्रणमा लिएको छ। 

रविले बयानका क्रममा संसदीय समिति र प्रहरीलाई नै इन्कारी बयान दिएका छन्। तर जीबी मुद्दा दायर भएलगत्तै मलेसिया फरार छन्। 

उनीविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको १ अर्ब ५० करोड ९० लाख ३० हजार ५०३ रूपैयाँ ठगी गरेको आरोप छ। 

जीबीसहित १९ जनाविरुद्ध मुद्दा दायर भएकोमा पछि पूरक जाहेरी समेत परेको छ। पक्राउ परेकाहरू पुर्पक्षका लागि थुनामा छन्। जीबीसहित केही फरार छन्। पूरक जाहेरीपछि प्रहरीले थप २५ जनालाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको छ। 

६ वटा सफ्वेयर डिजिटल फरेन्सिक ल्याबमा 
यस्तै जीबी राईका ६ वटा सहकारीको कारोबार भएका सफ्टवेयर पनि प्रहरीको डिजिटल फरेन्सिक ल्यावमा पठाइएको छ। ल्याबले अब एक साताभित्र रिपोर्ट दिने प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। 

यसअघि सुप्रिम सहकारी ठगीको अभियोग पत्रमा पनि तिनै सफ्टवेयरमा देखिएका अभिलेखबाट प्रमाण जुटाइएको थियो। तर कतिपय प्रमाण मेटाइएको आशंकामा प्रहरीले ल्याबबाट रिपोर्ट निकाल्न लागेको हो। 

‘हामी ल्याबको रिपोर्ट कुरिरहेका छौँ। एक साताभित्रमा रिपोर्ट आउने भनेको छ। त्यसपछि पोखरामा पूरक जाहेरीमा थप व्यक्तिविरुद्ध मुद्दा अगाडि बढ्छ। यो दुई महिनामा धेरै कुरा अगाडि बढिसकेको छ। हामीले पहिले पूरक जाहेरीमा केही देखिएको छैन भने पनि पछिल्ला दिनमा पोखरा महानगरपालिकाको रिपोर्ट आइसकेपछि परिस्थिति अलग भइसकेको छ,’ प्रहरी उच्च अधिकारीले भने। 

फरेन्सिक ल्याबबाट सफ्टवेयरको रिपोर्ट आउने र संसदीय छानबिन समितिको रिपोर्ट पनि तयार भएसँगै पूरक अभियोग तयार हुने ती अधिकारीले बताए। 

‘अनुसन्धानको पाटोमा अरु काम भइसकेको छ। मुख्य भनेको फरेन्सिक ल्याबको रिपोर्ट हो। त्यतिबेलासम्ममा संसदीय छानबिन समितिको रिपोर्ट पनि आइसक्छ अनि मुद्दा दर्ता हुन्छ,’ अधिकारीले दाबी गरे। 

सुप्रिम र सूर्यदर्शन सहकारीको मुद्दामा अनुसन्धानले गति लिए पनि जीबी राईकै अन्य सहकारीको अनुसन्धान भने चासोका साथ हुन सकेको छैन। अन्य जिल्लाका प्रहरीले अनुसन्धानलाई ठोस रूपमा अगाडि बढाएका छैनन्। काठमाडौँ, चितवन लगायतका जिल्लामा पनि जीबीविरुद्ध उजुरी परेको छ। 

नेपाली कांग्रेसले जीबी र रवि जोडिएका सहकारी ठगीकै विषयलाई मुख्य मुद्दा बनाउँदै लामो समय संसद् समेत अवरोध गरेको थियो। संसद् अवरोध गर्न अगुवाइ गरेका कांग्रेस नेता रमेश लेखक नै अहिले गृहमन्त्री छन्। 

रवि गृहमन्त्री हुँदा जीबीलाई पक्राउ गर्न नसकेको भन्दै आलोचना गरेका उनलाई जीबीलाई मलेसियाबाट ल्याउनुपर्ने नैतिक बाध्यता पनि छ। गृहमन्त्री भएको दुई महिनासम्म पनि ठोस नतिजा दिन नसकेको भन्दै लेखकको आलोचना समेत सुरु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .