ad ad

राजनीति


आगामी प्रधानन्यायाधीशका लागि ८ जना ‘योग्य’, संवैधानिक परिषद्‌मा पुग्यो सूची

आगामी प्रधानन्यायाधीशका लागि ८ जना ‘योग्य’, संवैधानिक परिषद्‌मा पुग्यो सूची

नेपालखबर
भदौ २३, २०८१ आइतबार १८:५५, काठमाडौँ

न्याय परिषद्ले आगामी प्रधानन्यायाधीशका लागि योग्यता पुगेका सर्वोच्च अदालतका ८ न्यायाधीशको सूची संवैधानिक परिषद्‌मा पठाएको छ।

संविधानको धारा १२९ को उपधारा ३ मा सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशको पदका लागि योग्य हुने उल्लेख छ। संविधानको सोही व्यवस्थाअनुसार न्याय परिषद्ले गत बिहीबार ८ न्यायाधीशको नाम पठाएको हो। उक्त सूची संवैधानिक परिषद्मा आइपुगेको र बैठक बोलाउने तयारी भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ। 

तीमध्ये एकजनालाई संवैधानिक परिषद्को बैठकले सिफारिस गर्नेछ। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।  प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र विपक्षी दलका नेता सदस्य हुन्छन्।

हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज २० गतेबाट अवकाश पाउँदै छन्। संविधानमा बहालवाला प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नै भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था छ।

तीन वर्ष कार्यावधि पुगेका न्यायाधीशहरूमा प्रकाशमान सिंह राउतको नाम सबैभन्दा अगाडि छ। त्यसपछि न्यायाधीशहरू सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, कुमार चूडाल र नहकुल सुवेदी छन्।

हालसम्म संवैधानिक परिषद्ले वरिष्ठताक्रमअनुसार नै प्रधानन्यायाधीशको नियुक्ति सिफारिस गरेको छ। कुनै ठूलो विवाद नभए राउत नै प्रधानन्यायाधीश बन्नेछन्। यद्यपि, संसदीय सुनुवाइबाट अस्वीकृत भएका कारण दीपकराज जोशी संवैधानिक परिषद्को सिफारिसका बाबजुद प्रधानन्यायाधीश नियुक्त हुन सकेका थिएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .