ad ad

समाज


प्रि-मनसुन लागेयताकै ठूलो वर्षाको सम्भावना, हावाहुरी/चट्याङको पनि खतरा

प्रि-मनसुन लागेयताकै ठूलो वर्षाको सम्भावना, हावाहुरी/चट्याङको पनि खतरा

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार १:५,

हावाहुरी/चट्याङ/असिनासहित आज (शुक्रबार)प्रिमनसुन लागेयताकै ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार स्थानीय वायुमा पश्चिमी वायुसमेत मिसिएकाले आज अलि ठूलै वर्षा हुने सम्भावना देखिएको हो।

साथै हावाहुरी आउने, चट्याङ र असिना पर्ने सम्भावना पनि उत्तिकै रहेको उनले बताइन्।

‘यो प्रि-मनसुनका बेला खासगरी स्थानीय वायुको प्रभावले मौसम बदली हुन्छ, तर पश्चिमी वायुसमेत मिसिँदा मौसमी प्रणाली अलि शक्तिशाली हुन्छ,’ शुक्रबार बिहान नेपालखबरसँग कुरा गर्दै मौसमविद् नगरकोटीले भनिन्, ‘यसकारण आज अलि ठूलै वर्षा हुने सम्भावना देखिएको हो।’

उनका आज अनुसार विशेषगरी पश्चिमी क्षेत्रमा हावाहुरी/चट्याङ/असिनासहितको वर्षा हुने सम्भावना छ तर मध्य र पूर्वी क्षेत्रमा पनि यसको थोरै सम्भावना छ।

‘मध्य र पूर्वी क्षेत्रमा वर्षा हुँदै हुँदैन भन्ने होइन,’ उनले भनिन्, ‘पश्चिको तुलनामा कम छ।’

उनका अनुसार हावाहुरी/चट्याङ/असिनासहितको वर्षा दिउँसो र राति हुने सम्भावना छ। यसैगरी पश्चिमदेखि पूर्वसम्मकै उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपात हुने सम्भावना छ।

‘स्थानीय वायुको मात्रै प्रभाव भएको भए एकछिन ह्वारार् वर्षा हुन्थ्यो,’ उनले भनिन्, ‘तर पश्चिमी न्यून चापीय प्रणालीसमेत थपिएकाले वर्षा क्षणिक नै हुने तर तुरुन्तै बादल भनेर फेरि वर्षा हुने क्रम दोहोरिइरहन्छ।’

उनका अनुसार वर्षा हुने, रोकिने र फेरि आधा एक घण्टापछि नै वर्षा हुने क्रम दाेहाेरिरहने देखिन्छ।

यस हिसाबले प्रि-मनसुनकाे वर्षा क्षणिक हुनुपर्ने भए पनि पटकपटक भइरहने भएकाले यसपटक अलि लामै समय वर्षा हुने देखिएकाे माैसमविद् नगरकाेटीले बताइन्। 

यसैगरी वर्षाका साथमा आज हावाहुरी पनि आउने प्रबल सम्भावना रहेकाले आवश्यक होसियारी अपनाउन उनको सुझाव छ।

मौसमविद् नगरकोटीका अनुसार अहिले बिहान भने दाङदेखि बाराको सिमरासम्म मौसम सामान्यतया सफा छ भने देशका बाँकी स्थानमा मौसम सामान्यदेखि आंशिकसम्म बदली छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भाेलि शनिबार पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित वर्षा हुने सम्भावना छ।

साथै शनिबार देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ।

आइतबार रातिदेखि मात्रै मौसम सुधार हुने मौसम महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनमा बताइएको छ।

 काठमाडौंमा पनि वर्षा हुने
आज काठमाडौंमा पनि असिना पानी पर्ने सम्भावना छ।

मौसमविद गंगा नगरकोटीका अनुसार काठमाडौं उपत्यकामा अपराह्नपछि चट्याङ/असिनासहित क्षणिक वर्षा हुने सम्भावना छ।

उपत्यकामा हावाहुरी आउने सम्भावना भने नरहेकाे उनले बताइन्। 

बिहान ५ः४५ बजको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस छ।

पुनः ९ः४५ बजे अर्काे मापन गरिनेछ र त्यही बेलाको रकेर्डलाई आजको आधिकारिक न्यूनतम तापक्रम मानिने मौसमविद् बताउँछन्।

विन्टर अर्थात् हिउँद यामको अन्त्य र वर्षायाम सुरु हुनुअघिका तीन महिना मार्च, अप्रिल र मेलाई प्रिमनसुनको अवधि मानिन्छ।

यस अवधिमा हावाहुरी, चट्याङ, असिनासहितको वर्षा हुने मौसमविद् बताउँछन्।

जुन महिनादेखि भने मनसुन अर्थात् वर्षा याम सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .