ad ad

समाज


न्यायाधीश नियुक्ति तत्काल नहुने, कार्यदलको प्रतिवेदन कुर्ने

न्यायाधीश नियुक्ति तत्काल नहुने, कार्यदलको प्रतिवेदन कुर्ने

नेपालखबर
भदौ १९, २०८१ बुधबार १५:३५, काठमाडौँ

उच्च अदालत र सर्वोच्च अदालतमा तत्काल न्यायाधीश नियुक्ति नहुने भएको छ। नेपाल बार एसोसिएसनले विरोध चर्काएपछि न्याय परिषद्ले तत्काल न्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढाउने भएको हो।

यसअघि न्याय परिषद्ले उच्च अदालतमा १६ जना न्यायाधीश नियुक्तिको तयारी गरेको थियो। यही विषयलाई लिएर भदौ ९ गते परिषद्को बैठक पनि बसेको थियो।

उक्त बैठकमा कानुनमन्त्री अजयकुमार चौरसियाले निकै कनिष्ट र कानुन व्यवसाय पनि नचलेका नाम प्रस्ताव गरेपछि सहमति हुन सकेको थिएन। 

लगत्तै नेपाल बार एसोसिएसनले न्याय परिषद् नियमावलीको विरोध चर्काउँदै न्याय परिषद्मा धर्ना र र प्रदर्शन गरेको थियो।

बारले दुई दिन लगातार प्रदर्शन गरेपछि प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठले वार्तामा बोलाएका थिए। वार्तापछि सर्वोच्चका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्याय परिषद् नियमावलीमा सुझाव दिन कार्यदल बनाइएको छ।

राउत न्याय परिषद्का सदस्य पनि हुन्। उक्त कार्यदलले एक हप्तामा प्रतिवेदन दिने भनिएको छ। 

कार्यदलमा न्याय परिषद्कै अर्का सदस्य रामप्रसाद भण्डारी, बार अध्यक्ष गोपालकृष्ण घिमिरे, बार महासचिव अञ्जिता खनाल र न्याय परिषद् सचिव यमबहादुर बुढामगर छन्।

गत वर्ष संशोधन गरिएको नियमावलीमा बारले विरोध गर्दै आएको छ। 

अदालतका कर्मचारी न्यायाधीशको वरीयतामा अगाडि हुने गरी उक्त नियमावली संशोधन गरिएपछि कतिपय जिल्ला न्यायाधीशले पनि असन्तुष्टि जनाउँदै आएका छन्।

यस कार्यदलले काम गरुन्जेल न्यायाधीश नियुक्तिको प्रक्रिया अघि नबढाउने र बारले पनि आन्दोलन स्थगित गर्ने सहमति भएको नेपाल बार एसोसिएसनका उपाध्यक्ष हर्कबहादुर रावलले जानकारी दिए। 

प्रधानन्यायाधीश श्रेष्ठ पनि कार्यदलको प्रतिवेदन नआएसम्मको अवधि कुर्न तयार देखिएका छन्।

सर्वोच्च अदालत स्रोतले भन्यो, ‘प्रधानन्यायाधीशज्यू, कार्यदललाई दिइएको एक साताको अवधि कुर्नुहुन्छ। त्यसअघि न्याय परिषद्को बैठक पनि बेलाइएको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .