ad ad

समाज


एमपक्स कोरोनाभन्दा कसरी फरक? जान्नुहोस् ५ महत्त्वपूर्ण कुरा

एमपक्स कोरोनाभन्दा कसरी फरक? जान्नुहोस् ५ महत्त्वपूर्ण कुरा

प्रतिकात्मक तस्बिर


नेपालखबर
भदौ ७, २०८१ शुक्रबार १०:५१, काठमाडौँ

जब विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एमपक्स (मंकीपक्स) संक्रमणका कारण विश्वव्यापी स्वास्थ्य आपत्‌काल घोषणा गर्‍यो, तब विश्वभर एउटा प्रश्न सोधिएको छ- यो नयाँ कोरोना हो?

वैज्ञानिक र स्वास्थ्य विज्ञहरूको जवाफ छ– होइन, त्यस्तो होइन। तर पनि चिन्ता जायज छ।

डब्ल्यूएचओ युरोपका क्षेत्रीय निर्देशक डा. हान्स क्लुगेले भने, ‘एमपक्स नयाँ कोरोना होइन। आम मानिसका लागि जोखिम कम छ।’

उनले थपे, ‘हामीलाई एमपक्स कसरी नियन्त्रण गर्ने भन्ने थाहा छ। अनि युरोपमा यो संक्रमण कसरी रोक्ने भन्ने पनि थाहा छ।’

कोरोना र एमपक्स दुवै रोग भाइरसबाट हुने गर्छन्। तर दुवैका लक्षण एकदमै फरक छ र फैलिने तरिका पनि भिन्न छ।

केन्याको आगा खान युनिभर्सिटी हस्पिटलका प्रोफेसर रोडनी एडम भन्छन्, ‘दुई रोगबीच समानताभन्दा धेरै भिन्नता छन्।’

यसै सन्दर्भमा यहाँ एमपक्स अर्थात् मंकीपक्स कसरी कोरोनाभन्दा फरक छ र के के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा प्रमुख पाँच कुरा बताइनेछ। 

१. एमपक्स नयाँ भाइरस होइन

एमपक्स कोरोनाजस्तो नयाँ भाइरस होइन।

एमपक्सलाई पहिले मंकीपक्स भनेर चिनिन्थ्यो। यो रोग सन् १९५८ देखि नै छ। यो भाइरस पहिलोपटक डेनमार्कमा बाँदरमा भेटिएको थियो।
मानिसमा यो भाइरसको संक्रमण पहिलोपटक सन् १९७० मा देखिएको थियो। ठाउँ थियो–डीआर कंगो।

त्यसपछि यो भाइरस पश्चिम र मध्य अफ्रिकामा धेरैपटक फैलिएको छ।

एमपक्ससम्बन्धी विश्वव्यापी स्वास्थ्य आपत्‌काल पहिलोपटक सन् २०२२ मा घोषणा गरिएको थियो। यो भाइरस हालसम्म ७० देशमा फैलिसकेको छ।

यसबाहेक सन् २०१९ मा चीनको वुहानमा कोरोनाको पहिलो संक्रमण  देखिएको थियो। यसले चाँडै विश्वव्यापी महामारीको रूप लिएको थियो। 

वैज्ञानिकहरू भन्छन्– दुवै भाइरसलाई विश्वव्यापी स्वास्थ्य आपत्‌काल घोषणा गरियो तर हामी कोरोनाभन्दा एमपक्सका विषयमा धेरै जानकार छौँ।

२. एमपक्स संक्रामक छैन

एमपक्स कोरोनाजस्तो संक्रामक छैन।

दुवै रोग नजिकको सम्पर्कबाट सर्ने भए पनि हावाबाटै फैलिने भएकाले कोरोना बढी छिटो फैलिन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार खोक्दा, हाच्छ्युँ गर्दा, बोल्दा, गाउँदा वा सँगै बस्दा पनि कोरोना सर्ने गर्छ।

त्यस्तै एमपक्स पनि संक्रमित व्यक्तिको धेरै नजिक बस्दा सर्छ। उदाहरणका लागि संक्रमितको छाला छुँदा, संक्रमित व्यक्तिसँग शारीरिक सम्बन्ध राख्दा, उसका ओछ्यान तथा लुगा प्रयोग गर्दा यो भाइरस सर्छ।

एमपक्स भाइरस लामो समयसम्म आमनेसामने कुरा गर्दा पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन सक्छ।\

ज्वरो, रुघाखोकी, घाँटी दुख्ने कोरोनाका मुख्य लक्षण हुन् भने एमपक्सका लक्षण हुन्– ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, घाँटी सुन्निने, शरीरमा दाग देखिने...। 

२०१९ डिसेम्बरदेखि २०२३ अगस्ट सम्म ७६ करोडभन्दा बढी कोरोना संक्रमण दर्ता भएका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार एमपक्सका २०२२ मेदेखि हालसम्म विश्वभर करिब एक लाख संक्रमण मात्र दर्ता भएका छन्।

अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले करिब १८,९१० मामिला रेकर्ड गरिएको र ६०० भन्दा बढी मानिसको मृत्यु भएको बताएको छ।

३. खोप उपलब्ध छ

एमपक्सविरुद्ध खोप पहिले नै उपलब्ध छ।

कोरोनाको सन्दर्भमा सबैभन्दा ठूलो चुनौती भ्याक्सिन बनाउनुपर्‍यो, त्यसपछि परीक्षण गर्नपर्‍यो, त्यसपछि अनुमति पाउनपरर्‍यो, त्यसपछि मात्र बल्ल कोरोना नियन्त्रणका लागि प्रयोग गर्न पाइयो। 

तर एमपक्सविरुद्धको खोप पहिले नै उपलब्ध छ।

एमपक्स बिफरजस्तै हो। भ्याक्सिनमार्फत यसको सामना गर्ने व्यवस्था सन् १९८० मै भएको थियो।

जुन खोपले बिफर नियन्त्रण गरेको थियो, त्यही खोपले एमपक्सबाट पनि बचाउँछ। खासगरी यो रोग २०२२ मा फैलिएको थियो। 

प्रोफेसर एडम भन्छन्, ‘यसले शतप्रतिशत सुरक्षा प्रदान गर्दैन। २०२२ मा जब यो रोग युरोप र उत्तर अमेरिकामा फैलियो, तब वृद्धहरूमा यसको जोखिम कम थियो। किनभने यसो भएको पनि हुनसक्छ– ती वृद्ध मानिसहरूले पहिले नै कुनै समय एमपक्सविरुद्ध खोप लगाएका थिए।’ 

बिफरविरुद्धको खोपमा आधारित एमपक्स खोपलाई एमभीए–बीएन भ्याक्सिन भनिन्छ।

सन् २०२२ मा खोप निर्माण कम्पनी बभेरियन नर्डिकले १.५ करोडभन्दा बढी डोज खोप आपूर्ति गरेको थियो। यो खोप ७६ देशमा पठाइएको थियो।

४. कोरोनाजति छिटो रूप परिवर्तन गर्दैन
भाइरस समयसँगै परिवर्तन हुन्छन्। तर कतिपय भाइरसले आफ्नो रूप चाँडै परिवर्तन गर्छन्। जस्तै– कोरोना।

तर एमपक्स त्यस्तो होइन।

कारण– एमपक्स डीएनए भाइरसका कारणले हुन्छ। तर कोरोना आरएनए भाइरसको कारणले हुन्छ।

अमेरिकन सोसाइटी अफ माइक्रोबायोलोजीका अनुसार, डीएनए भाइरस आरएनए भाइरसजत्तिकै चाँडो रूप परिवर्तन गर्दैनन्।

एमपक्सका दुई प्रकार वा रूप छन्– क्लेड१ र क्लेड२। तर सार्स–कोभ२ भाइरसका २० भन्दा बढी क्लेड छन्। 

हाल एमपक्स संक्रमण क्लेड१ भाइरस मार्फत फैलिरहेको छ, जसलाई क्लेड १बी पनि भनिन्छ।

अक्सफोर्ड युनिभर्सिटीका ग्लोबल हेल्थ रिसर्चका प्रोफेसर ट्रुडी ल्याङ भन्छन्, ‘हामीले क्लेड १बीका सन्दर्भमा के देखिरहेका छौँ भने यो धेरैजसो अवस्थामा शारीरिक सम्पर्कबाट फैलिएको छ। तर यो व्यक्ति–व्यक्तिबीचको सम्पर्कबाट पनि फैलिरहेको छ। जस्तैः आमा–छोरा, बच्चा–बच्चा वा बच्चाको हेरचाहको कारण।

विश्व स्वास्थ्य संगठनका वैज्ञानिकहरू के भन्छन् भने १बी स्ट्रेन अन्य स्ट्रेनभन्दा छिटो फैलिरहेको छ भन्ने थाहा छैन। 

५. लकडाउन वा खोपको बाध्यता छैन
धेरैको मनमा डर थियो– जब एमपक्सलाई विश्वव्यापी रोग भनियो र आपत्‌काल नै घोषणा गरियो, तब फेरि अवस्था सन् २०२० को जस्तो त हुँदैन? 

जतिबेला विश्वभर लकडाउन गरिएको थियो भने सीमामा प्रतिबन्ध लगाइएको थियो। जसका कारण कति जनाले आफ्नो जागिर नै गुमाउनपपर्‍यो। अवस्था निकै भयावह बनेको थियो।

तर अहिलेसम्म एमपक्सका कारण यस्तो गर्नुपरेको छैन। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .