आगामी भदौ १६ गते अवकाश हुन लागेका प्रहरीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। ट्राफिक प्रहरी प्रमुख समेत रहेका एसएसपी जीवनकुमार श्रेष्ठसहितले वारिसमार्फत बुधबार रिट दायर गरेका हुन्।
उनीहरूले रिट दायर भएकै मितिबाट ३० वर्षे हटाउन माग गरेका छन्। एसएसपी, एसपी, डीएसपी र इन्स्पेक्टर गरी २१ जनाको वारेस कुमार बस्नेतमार्फत् रिट दायर गरेका हुन्।
उक्त रिटको पेसी भोलि बिहीबारका लागि तोकिएको बस्नेतले नेपालखबरलाई जानकारी दिए।
२०५१ सालमा असईमा भर्ना भएर केहीले त्यहीवर्ष सँगै इन्सपेक्टरमा पनि नाम निकालेका थिए। तर, उनीहरूले असईको नियुक्ति लिएकै मितिबाट ३० वर्षे अवधि सुरु गरिएको भन्दै असन्तुष्टी राखेका हुन्।
नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिका आधारमा अनिवार्य अवकाश दिने व्यवस्था रिट दायर भएको मितिबाटै लागू नहुनेगरी प्रबन्ध गर्न उनीहरूले आदेश माग गरेका छन्।
त्यस्तै, रिटमा अध्यादेशमार्फत यो व्यवस्था ऐनमा समावेश गर्नपर्ने माग उनीहरूको छ। यसअघि नै प्रहरी किताबखानाले थमाएको अवकाशपत्र कार्यान्वयन नगर्नू र कामकाज गर्ने दिनू, नरोक्नू, कुनै अवरोध नगर्नू भनी अन्तरिम आदेश समेत माग गरिएको छ।
उक्त रिट निवेदनलाई अग्राधिकार दिइ पेस गर्न पनि माग गरिएको छ।
एकैसाथ ९० जना प्रहरी अधिकारी अवकाश हुँदा राज्यलाई आर्थिक भार पर्ने भएकाले आफूहरूलाई नै निरन्तरता दिन माग गरेका छन्।
इन्सपेक्टरदेखि डीआईजीसम्म ८९ जना ३० वर्षे सेवा अवधिका कारण भदौ १६ गते एकसाथ बिदा हुँदैछन्।
प्रहरीमा ३० वर्षे सेवा अवधि, उमेर हद र पद अनुसारको कार्यअवधिका कारण अवकाश हुने व्यवस्था छ। यीमध्ये जुन पहिले हुन्छ, त्यहीबाट अनिवार्य अवकाशमा जाने ऐनमा व्यवस्था छ।
सोही व्यवस्थाका कारण उनीहरू भने ३० वर्षे सेवा अवधिका कारण अवकाश हुन लागेका हुन्।
Shares

प्रतिक्रिया