ad ad

समाज


एआईजीदेखि इन्सपेक्टरसम्म ९० जना एकैपटक बिदा हुने पक्का

अवकाश हुनेको गुनासो : सरकार श्याम ज्ञवालीविरुद्ध लाग्दा ८९ जना मर्कामा पर्‍यौँ
एआईजीदेखि इन्सपेक्टरसम्म ९० जना एकैपटक बिदा हुने पक्का

उजिर कार्की
भदौ ४, २०८१ मंगलबार २०:७, काठमाडौँ

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) देखि प्रहरी निरीक्षक (इन्सपेक्टर) सम्म ९० जना यही भदौमा बिदा हुने भएका छन्। प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन गृह मन्त्रालयमा छलफल चलिरहेको भए पनि उनीहरूको जागिर नलम्बिने निश्चित भएको हो। 

इन्सपेक्टरदेखि डीआईजीसम्म ८९ जना ३० वर्षे सेवा अवधिका कारण भदौ १६ गते एकसाथ बिदा हुँदैछन्। त्यसको १० दिनपछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली एआईजीको ५६ वर्षे उमेर हदका कारण बिदा हुने भएका हुन्। 

बागमती प्रदेश प्रहरी प्रमुख विष्णुकुमार केसी पनि भदौ १६ गते नै अवकाश हुनेछन्। २०५१ सालमा उनले प्रहरी सहायक निरीक्षक र प्रहरी निरीक्षकको परीक्षा दिएका थिए। तर पहिले प्रहरी सहायक निरीक्षकको नतिजा आएपछि उनी भर्ती भए। 

त्यो भन्दा पहिले प्रहरी निरीक्षकमा पनि भिडेका उनले त्यहाँ पनि नाम निकाले। तर उनको जागिर अवधि भदौबाटै सुरु भएकाले अवकाश हुन परेको हो। उनीसँगै प्रहरी सहायक निरीक्षकमा भर्ना भएको टोलीले पनि आन्तरिकबाट प्रहरी निरीक्षकमा विभिन्न मितिमा नाम निकाल्दै गए। आन्तरिकबाट ३५ वर्षसम्म परीक्षा दिन पाउने व्यवस्था छ। असइमै रहेकाहरू भने अहिले बढुवा हुँदै प्रहरी निरीक्षकसम्म भएका छन्। उनीहरू पनि आफ्नै ब्याचका डीआईजीसम्म हुँदा सँगै अवकाश हुन लागेका हुन्।  

प्रहरी ऐन नै ल्याएर मात्रै ३० वर्षे हटाउनु पर्ने भएकाले ऐन तयार गरेर कार्यान्वयनमा ल्याउन समय लाग्ने देखिएको छ। नयाँ ऐनसम्बन्धी छलफल प्रहरी समायोजनको विषयले पेचिलो बनेको छ। 

राजनीतिक नेतृत्व र प्रहरी नेतृत्व तत्काल समायोजनमा जान तयार छैनन्। तर संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको फैसलाले नयाँ प्रहरी ऐन ल्याएर मात्रै निर्णय गर्नु पर्ने बाध्यता छ। तर यसअघि पनि पटकपटक प्रहरी ऐन संशोधन भने गरिएको थियो। 

सरकारले आफूहरूलाई ५० वर्ष नपुग्दै सेवाबाट बिदा गर्न लागेको उनीहरूको गुनासो छ। प्रहरीमा ३० वर्षे सेवा अवधि, उमेर हद र पद अनुसारको कार्यअवधिका कारण अवकाश हुने व्यवस्था छ। यीमध्ये जुन पहिले हुन्छ, त्यहीबाट अनिवार्य अवकाशमा जाने ऐनमा व्यवस्था छ। सोही व्यवस्थाका कारण उनीहरू भने ३० वर्षे सेवा अवधिका कारण अवकाश हुन लागेका हुन्। 

अवकाश हुन लागेका एक एसएसपीले भने– ‘यो उमेरमा अवकाश भएर न अर्को जागिर खानु, न त पेन्सनकै भरमा घर बस्नु, सरकारले ३० वर्षे हटाउन त लाग्यो तर हामीलाई बिदा गरेर मात्रै गर्ने भयो।’ 

आफूहरूको सेवा अवधि हुँदै ३० वर्षे हटाउन प्रयास गरेको भए पनि अहिले सरकार केही उच्च अधिकारीको बिदाइ कुरिरहेको उनले बताए। उनले एआईजी श्यामलाल ज्ञवालीको अवकाशपछि मात्रै ३० वर्षे हटाउने सरकारको मनसाय रहेको दाबी गरे।

सरकारले आफूलाई मन नपरेको एकजना अधिकारीका कारण आफ्नो ब्याचका ८९ जना मर्कामा परेको उनको गुनासो छ। यसरी अवकाश हुन लागेका केही अधिकारीहरू ४८ वर्षसम्मका छन्। अधिकांश ५० वर्ष हाराहारीका छन्। 

असइमा भर्ती भएर एसएसपीमा अवकाश
भदौ १६ गते अवकाश हुनेमा ११ जना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी छन्। उनीहरू २०५१ साल भदौमा प्रहरी सहायक निरीक्षक (असइ) मा भर्ना भएका थिए। तर असइको जागिर खाँदै प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भएका थिए।

आन्तरिकतर्फ ३५ वर्षको उमेरसम्म भिड्न पाउने व्यवस्था छ। सोही व्यवस्थाका कारण उनीहरूले पछि प्रहरी निरीक्षकमा नाम निकालेका थिए। प्रहरी निरीक्षकमा नाम निकाले पनि असईमा भर्ना हुँदैको समयबाट गणना हुने भएकाले उनीहरूको ३० वर्षे सेवा अवधि पूरा भएको हो।

यी एसएसपीहरूले ३० वर्षे हटाउन पहिल्यैबाट जोड गर्दै आएका थिए। तर उनीहरूको प्रयास सफल भएन। ३० वर्षे हट्ने आश जागिरहेका बेला उनीहरूको बिदा हुने मिति आइपुगेको हो। 

यसरी अवकाश हुने एसएसपीमा ट्राफिक प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठदेखि काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीसम्म छन्। 

यस्तै एसएसपीहरू रेवती ढकाल, किसनसिंह थापा, दिल्लीराज विष्ट, बेलबहादुर पाण्डे, नवीनराज राई, रविकुमार पौडेल, वीरबहादुर ओली, चन्द्रदेव राई र रवीन्द्र रेग्मीले पनि भदौ १६ मै अवकाश पाउने पक्का भएको हो। 

जीवन, किसन र रेवतीले २०५४ सालमा प्रहरी निरीक्षकमा नाम निकालेका थिए। 

त्यसअघि नै दिल्लीराज बिष्ट प्रहरी निरीक्षक बने पनि कञ्चनपुरकी निर्मला पन्तको बलात्कार–हत्याको घटनामा कारबाहीमा परेका कारण उनी एसएसपीबाटै अवकाश हुँदैछन्। कारबाही पछि बदर भए पनि उनको करिअरमा भने धक्का लागेको छ। 

यस्तै बाँकी एससएसपीहरू २०५६ असारमा प्रहरी निरीक्षकमा उत्तीर्ण भएका थिए। 

११ एसपी पनि अवकाश हुँदै 
पहिल्यै असइ भएका र २०५८ सालमा प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भएका ११ जना पनि भदौ १६ गते अवकाश हुने भएका छन्। 

यसरी अवकाश हुने एसपीहरूमा कृष्ण प्रसाईं, प्रेमबहादुर बस्नेत, राजेन्द्रबाबु रेग्मी, लक्ष्मीराज अधिकारी, देवेन्द्रबहादुर पाल, विष्णुहरि कोइराला, अवदेश बिष्ट क्षेत्री, नरेन्द्रकुमार कार्की, टेकुनन्द ईवा लिम्बु, चित्रबहादुर गुरुङ र नवीनकिशोर प्रधान छन्। 

३१ डीएसपी 
यही मितिमा अवकाश हुने ३१ जना डीएसपीहरू छन्। यीमध्ये केही २०६२÷६३ मा प्रहरी निरीक्षकमा नाम निकालेका र केही बढुवा हुँदै डीएसपी बनेका थिए। तर उनीहरू पनि एकसाथ अवकाश हुने भएका हुन्। 

प्रहरी निरीक्षकमा नाम निकाल्ने डीएसपी श्रीराम भण्डारी लगायत र असइबाट बढुवा हुँदै आइपुगेका भरतकुमार शाह लगायत एकसाथ अवकाश हुन लागेका हुन्। 

डीएसपीबाट अवकाश हुनेमा रामकृष्ण सापकोटा, गणेशबहादुर श्रेष्ठ, भरतबहादुर चौधरी, ऐनबहादुर मल्ल, किरणप्रसाद न्यौपाने, होमबहादुर थापा, मनोजकुमार श्रेष्ठ, जनकबहादुर मल्ल, राजनकुमार गौतम, महेश बस्नेत, खगेन्द्रप्रसाद रिजाल, भोजराज पाण्डेय, लालबहादुर बम छन्।

यस्तै नारायणबहादुर श्रेष्ठ, राकेशकुमार पोदार, गोविन्द पन्थी, दलराम टमाटा, मदनबहादुर कुँवर, देवबहादुर कुँवर, हिक्मतबहादुर बोहरा, अनिलकुमार उप्रेती, शैलेन्द्रकुमार खड्का, उद्धवप्रसाद अधिकारी, रामबहादुर चन्द, सुजितकुमार ओझा, फणीन्द्र रानाभाट, विजय थापा, जमुनाकुमारी बस्नेत पनि अवकाश हुँदैछन्। 

असइबाट बढुवा हुँदै इन्सपेक्टर भएका ३५ जना 
प्रहरी सहायक निरीक्षकमा भर्ना भएर बढुवा हुँदै हाल प्रहरी निरीक्षक रहेका ३५ जना पनि एकसाथ बिदा हुन लागेका छन्। उनीहरू पनि ३० वर्षे सेवा अवधिको बाध्यात्मक व्यवस्थाकै कारण बिदा हुन लागेका हुन्। 

असइमा सँगै भर्ना भएकाहरू प्रहरी निरीक्षकमा नाम निकाल्दै एसएससपीसम्म पुगे पनि उनीहरू भने बढुवा भएर प्रहरी निरीक्षकसम्म मात्र पुगेका हुन्। उनीहरूकै ब्याचका केही भने बढुवा भएर डीएसपीसम्म बने।

प्रहरी निरीक्षकबाट अवकाश हुनेमा योगराज न्यौपाने, शान्तराम कार्की, हिराबहादुर केसी, खेमराज कडायत, सरोजकुमार ठकुराठी, जयराम वन्त, भुवन भट्ट, कृष्ण रानामगर, ओमप्रकाश वाग्ले, बिजुलीनाथ योगी, गिन्द्रबहादुर बोगटी, खिमबहादुर घर्तीमगर, अर्जुनप्रसाद पोखरेल, उदयमान द्विवेदी, काशीराज रेग्मी, हरिविष्णु ढकाल, रविभूषण प्रसाद यादव, राजेन्द्रप्रसाद यादव, उदयसिंह सिजापती, मोहन थापा, कलेन्द्रविक्रम शाही र मानप्रसाद श्रेष्ठ  छन्। 

यस्तै किसन चन्द ठकुरी, अवधकिशोर ओझा, विजय भण्डारी, भीमबहादुर कार्की, प्रेमबहादुर बोहरा, नरपति भट्ट, जगत दमाई, मेघनाथ चापागाईं, निलमबहादुर भण्डारी, तीर्थबहादुर भण्डारी, जगदीश पौडेल, गोपाल चालिसे र कमल आचार्यले पनि अवकाश पाउने भएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .