ad ad

समाज


बायोप्सी गर्ने क्रममा मृत्यु प्रकरण : छानबिन समिति गठन भएपछि आफन्तले बुझे शव

बायोप्सी गर्ने क्रममा मृत्यु प्रकरण : छानबिन समिति गठन भएपछि आफन्तले बुझे शव

नेपालखबर
भदौ ५, २०८१ बुधबार १७:०, हेटौंडा

चितवनको भरतपुर अस्पतालमा पाठेघरको बायोप्सी गर्ने क्रममा एक महिलाको मृत्यु भएपछि छानबिनका समिति गठन गरिएको छ।

चितवनको गैँडाकोट बस्ने ३९ वर्षीया सम्झना काफ्ले ढकालको पाठेघरको बायोप्सी गर्ने क्रममा मृत्यु भएपछि आफन्तले शव बुझेका थिएनन्। अस्पतालको लापरवाहीले मृत्यु भएको आफन्तको आरोपपछि घटनाको छानबिन गर्न बुधबार (आज) छानबिन समिति गठन गरिएको हो।

जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सुरक्षा समितिको बैठकले भरतपुर अस्पतालका डाक्टर प्रकाश खतिवडा संयोजक रहने गरी ९ सदस्यीय छानबिन समिति गठन गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

समितिमा जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत अन्तिम सिन्जाली, बीपि कोइराला मेमोरियल क्यान्सर अस्पतालका एनेस्थेसियन डा. प्रदीप थापा, प्रहरी निरीक्षक विवेक घिमिरे, अनुसन्धान अधिकृत अजय शर्मा, पीडित पक्षका तर्फबाट रमेश काफ्ले, राजेन्द्र ढकाल, मन्दिरा काफ्ले रहेका छन्।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार छानबिन समितिले सात दिनभित्र प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा पेश गर्नुपर्नेछ।

‘छानबिन समितिले तयार पारेको प्रतिबेदनमाथि कारबाहीका लागि गृहमन्त्रालय, स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिललाई अनुरोध गर्ने निर्णय भयो,’ प्रमुख जिल्ला अधिकारी यादवले भने, ‘हामी निष्पक्ष छानविन गर्छौं। छानबिन समिति बनेसँगै मृतकका परिवारले शव बुझेर अन्तिम संस्कार गर्न तयार हुनुभएको छ।’

ढकाललाई मंगलबार बायोप्सी गर्ने (मासुको टुक्रा निकाल्ने) क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने) औषधि दिइएकोमा उनको मृत्यु भएको भरतपुर अस्पताल प्रशासनले जनाएको छ।

मंगलबार दिउँसो अस्पताल भर्ना गरिएकी ढकालको राति १० बजेतिर बायोप्सी गर्ने क्रममा मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .