ad ad

समाज


सामान्य हिँड्‌डुल गर्न थाले सांसद नेम्वाङ, बेंग्लोरमा उपचार सकाएर दसैँअघि फर्कने तयारी

सामान्य हिँड्‌डुल गर्न थाले सांसद नेम्वाङ, बेंग्लोरमा उपचार सकाएर दसैँअघि फर्कने तयारी

नेपालखबर
भदौ ५, २०८१ बुधबार १६:४६, काठमाडौँ

पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङको स्वास्थ्य अवस्था क्रमिक सुधार हुँदै गएको छ।

ताप्लेजुङमा आयोजित नेकपा एमालेको जिल्ला कमिटी बैठकमा सहभागी हुन पुगेका बेला गत माघ १७ गते एक्कासी बिरामी परेका नेम्वाङ अहिलेसम्म पनि उपचार गराइरहेका छन्।

उनको पछिल्लो समय भारतको बेंग्लोरस्थित नेसनल इन्सिच्युड अफ मेन्टल हेल्थ एण्ड न्युरो साइन्स (राष्ट्रिय मानसिक स्वास्थ्य तथा स्नायु विज्ञान संस्थान) मा उपचार भइरहेको छ। 

प्रतिनिधिसभा सदस्य समेत रहेका नेम्वाङ बिरामी परेपछि सुरुमा हेलिकप्टरबाट काठमाडौँ ल्याएर मेडिसिटी अस्पतालमा उपचार गराइएको थियो। मेडिसिटी अस्पतालमा झण्डै एक महिना उपचार गराएपछि उनलाई घर फर्काइयो। 

झण्डै डेढ महिना घरमै बसेर उपचार गराएका नेम्वाङलाई त्यसपछि थप उपचारका लागि बेंग्लोर लगिएको थियो। 

अहिले बेंग्लोरस्थित निमहान्स (नेसनल इन्सिच्युड अफ मेन्टल हेल्थ एण्ड न्युरो साइन्स) मा उनको अवस्था विस्तारै सुधार हुँदै गएको उनका छोरा प्रभात नेम्वाङले जानकारी दिए। 

उनका अनुसार, सांसद नेम्वाङ अहिले अलि अलि हिँडडुल गर्नसक्ने अवस्थामा पुगेका छन्। 

‘भर्‍याङ उकालो–ओरालो त गर्न सक्नुहुन्न, तर पहिलेभन्दा अहिले केही हिँड्‌डुल गर्न सक्नुभएको छ,’ छोरा प्रभातले भने। स्वास्थ्यमा केही सुधार आएसँगै दसैँअघि नेपाल फर्काउनेगरी तयारी भइरहेको उनले बताए। 

प्रभात पनि बुवाको उपचारका लागि बेंग्लोर गएका थिए। अहिले भने उनी काठमाडौँ फर्किएका छन्। सांसद नेम्वाङको साथमा उनकी पत्नी भूमिका लिम्बू सुब्बा छिन्।

एक्कासी ढलेर बेहोस भएका नेम्वाङलाई मेडिसिटी अस्पतालमा एमआरआई गर्दा मस्तिष्कको देब्रे भागको धमनीमा रगत जमेको देखिएको थियो। 

जसलाई चिकित्सकले ‘ब्रेन स्ट्रोक’ भनेका थिए। ‘ब्रेन स्ट्रोक’ पुष्टी भएपछि उपचार थालिएको थियो।

चिकित्सकको टोलीले उनलाई क्याथल्याबमा राखेर मेकानिकल थ्रम्बेक्टोमी गरेको थियो। 

सामान्य भाषामा भन्दा मेकानिकल थ्रम्बेक्टोमी भनेको शरीरको नसाबाट तार छिराएर रगत जमेको स्थानमा पुगी त्यहाँको रगत झिक्ने प्रक्रिया हो। 

यो विधिबाट शल्यक्रिया नै नगरी जमेको रगत झिक्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .