तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रलाई तीन सय शय्याको बनाउने प्रक्रिया अघि बढेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत साउन २७ गते अस्पतालमा शय्या थप गरी तीन सय बनाउने घोषणा गरेका थिए। सोहीअनुसार, अस्पताल प्रमुख डा रामकुमार श्रेष्ठले सहरी आवास तथा भवन निर्माण विभागबाट प्राप्त विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मन्त्री पौडेललाई हस्तान्तरण गरेका छन्।
अस्पताललाई तीन सय शय्याको बनाउन र केन्द्रमा सेवा विस्तार गर्न डीपीआर कोशेढुंगा भएको अस्पताल प्रमुख डा. श्रेष्ठले बताए।
डीपीआरमा साढे ५ अर्ब लागत पर्ने उल्लेख छ।
पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना भएको स्वासप्रश्वाससम्बन्धी देशकै एक मात्र विशिष्टीकृत अस्पतालमा हाल ५० शय्याको जनरल वार्ड मात्र छ।
मन्त्रालयले अस्पताल निर्माणका लागि स्रोत जुटाउन परराष्ट्र र अर्थ मन्त्रालयमार्फत भारतीय दूतावाससमक्ष प्रस्ताव अघि बढाएको छ।
मन्त्री प्रदीप पौडेलले आफ्नै कार्यकालमा अस्पतालको कामलाई गति दिने घोषणा गरेकाले यसैपाली विस्तारको काम अघि बढ्नेमा उत्साही बनेको डा श्रेष्ठले बताए।
अस्पतालले थप सात सय शय्यासहित एक हजार शय्या बनाउने दीर्घकालीन लक्ष्य राखेको छ।
Shares

प्रतिक्रिया