ad ad

समाज


गट्ठाघर दुर्घटना: मृतक पुरुषलाई आफ्नी बहिनी दाबी गर्ने युवक पक्राउ

गट्ठाघर दुर्घटना: मृतक पुरुषलाई आफ्नी बहिनी दाबी गर्ने युवक पक्राउ

घटनास्थल


नेपालखबर
साउन ३२, २०८१ शुक्रबार १०:११, काठमाडौँ

भक्तपुरको गट्ठाघरमा बिहीबार दिउँसो भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ। 

दोलखाको मेलुङ गाउँपालिका- ४ का करिब ३० वर्षीय शम्भु नेपालीलाई गएराति प्रहरीले पक्राउ गरेको हो। 

‘उनले मृतकलाई आफ्नी बहिनी भनेर विवरण टिपाएका थिए, तर त्यो होइन रहेछ,’ जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले नेपालखबरसँग भने, ‘उनी अहिले ठिमी प्रहरीको नियन्त्रणमा छन्।’

उनले मृतकलाई किन आफ्नी बहिनी भने भन्ने पनि खुलेको छैन। ‘उनी आफैँ पनि कन्फ्युज भएका हुन सक्छन्,’ कार्कीले भने, ‘अथवा उनको मानसिक अवस्था नै त्यस्तो भएकाे हुन सक्छ। सबै विषय अनुसन्धान पछि मात्रै खुल्ला।’ 

उनले यसअघि पनि पटक-पटक आफ्नी बहिनीको मृत्यु भएको भनेर गलत हल्ला फैलाउने गरेको पाइएको कार्कीले बताए। 

‘उनले किन त्यसो भनिरहेका छन्, अहिले केही भन्न सक्ने अवस्था छैन। हामी थप अनुसन्धानकै क्रममा छौँ,’ कार्कीले भने। 

दिउँसो घटनास्थलमै पुगेर उनले मृतक महिला आफ्नी बहिनी हुन् भन्ने दाबी गरेपछि उनी घटनास्थलबाट हिँडेका थिए। मृतक महिला नभएर पुरुष भएको पुष्टि साँझ मात्रै भएकाे थियाे। त्यसपछि प्रहरीले उनलाई खोजेर पक्राउ गरेको हो। 

बिहीबार दिउँसो गट्ठाघरमा बा३९प ८९४४ नम्बरको स्कुटरलाई ना६ख २१७३ नम्बरको  ट्रकले ठक्कर दिँदा एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो। सुरुमा प्रहरीले मृतकलाई महिला भन्दै घटना विवरण सार्वजनिक गरेको थियो। 

पछि अनुसन्धानको क्रममा मृतक महिला नभएर पुरुष भएको खुलेको थियो।  तर, मृतकको सनाखत भने अझै भएको छैन।  

मृतकको साथमा उत्तम कोइराला, ओखलढुंगा रातमाटे- ५ लेखिएको सवारी लाइसेन्स फेला परेको डीएसपी कार्कीले बताए। तर मृतक कोइराला नै हुन् होइनन् खुल्न बाँकी छ। ‘कतिपयले अर्काको लाइसेन्स बोकेका पनि हुनसक्छन्। आफन्त आएर सनाखत गरेपछि मात्रै मृतकको विषयमा हामी निश्चित हुन्छौँ,’ कार्कीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .