ad ad

समाज


गट्ठाघर दुर्घटनामा पर्ने महिलाको पहिचान फरक परेपछि पुनः सनाखतको प्रयास

ओखलढुंगाका उत्तम कोइरालाको नाममा सवारी दर्ता किताब
गट्ठाघर दुर्घटनामा पर्ने महिलाको पहिचान फरक परेपछि पुनः सनाखतको प्रयास

नेपालखबर
साउन ३१, २०८१ बिहिबार १९:५७, काठमाडौँ

भक्तपुरको गट्ठाघरमा भएको दुर्घटनामा ज्यान जाने महिलाको पहिचान फरक परेपछि प्रहरीले पुनः सनाखतको प्रक्रिया थालेको छ।

यसअघि दोलखाको मेलुङ गाउँपालिका ४ का शम्भु नेपालीले प्रहरी कार्यालयमा पुगेर आफ्नी बहिनी भएको जानकारी दिएपछि प्रहरीले त्यही विवरण सार्वजनिक गरेको थियो। तर उनले गलत जानकारी दिएको खुलेको छ। यसअघि पनि उनले पटकपटक आफ्नी बहिनीको मृत्यु भएको भनेर जानकारी दिएको खुलेको छ।

आफ्नो मृत्यु भएको समाचार थाहा पाएपछि ती युवती भने सम्पर्कमा आएको मेलुङ ४ का वडाध्यक्ष सोमबहादुर बम्जनले बताए। उनले नेपालखबरसँग भने, 'मृत्यु भएकी भनिएकी बहिनी बिबाह गरेर चितवनमा छिन्। उनी जीवितै रहेको भन्दै परिवार सम्पर्कमा आइसके। उसको दाइले प्रहरी कार्यालयमा गलत सूचना दिएका रहेछन्।

आफूहरूलाई गलत सूचना दिएको र मृतकको शवबाट सनाखत हुन सक्ने अवस्था नरहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले नेपालखबरलाई बताइन्। उनका अनुसार प्रहरीले मृतकको पहिचान गर्ने प्रयास गरिरहेको छ।

दुर्घटनामा परेको स्कुटरको सवारी दर्ता किताब (ब्ल्युबुक) ओखलढुंगाका उत्तम कोइरालाको नाममा रहेको पाइएको छ। यस्तै दुर्घटनास्थलमा रमेश न्यौपानेको नाममा ट्राफिकले काटेको चिट पनि फेला परेको छ।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले पनि यसअघि पहिचान भएको भनिएको व्यक्ति नभएको सूचना प्राप्त भएसँगै मृतकको सनाखत गर्ने प्रयास भइरहेको बताए। उनले नेपालखबरसँग भने, 'परिवारकै सदस्यले सनाखत गरिसकेपछि होला भन्ने हामीलाई लाग्यो। पुष्टि गर्ने अरू प्रमाण पनि थिएन। अब हामी अन्य कागजातका आधारमा सनाखत गर्ने प्रयास गर्छौं।'

बिहीबार दिउँसो २ बजेतिर गट्ठाघरमा ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ।

भक्तपुरका एसपी वेद विष्टले दुर्घटना भएको स्कुटरकाे सीसीटीभी फुटेज र सवारी धनीको खोजी गरिहेको बताए।

उनका अनुसार निजी व्यक्तिको घरको सीसीटीभी फुटेजमा एकजना स्टकोट लगाएका पुरुषले स्कुटर चलाइरहेको देखिएको छ।

ट्रकले ट्राफिक चेकिङमा रोकिराखेको स्कुटरलाई करिब एक सय मिटर परसम्म घिसारेको थियो। मृतकको शरीर क्षतविक्षत अवस्थामा छ। 

ट्राफिक प्रहरीका कारण दुर्घटना भएको भन्दै त्यहाँ जम्मा भएका स्थानीयले ट्राफिकविरुद्ध नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका थिए।

आक्रोशित स्थानीयले ठक्कर दिने ट्रकमा आगो लगाउने प्रयास गर्नुका साथै केही सवारी साधनमा तोडफोड गरे। दुर्घटनापछि गठ्ठाघरको अवस्था दिनभरजसो तनावपूर्ण बन्यो। स्थानीयको प्रदर्शनका कारण भक्तपुर–कोटेश्वर सडकखण्ड र सानोठिमी–जडीबुटी–पेप्सीकोला सडकमा यातायात प्रभावित भएको थियो।

स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरी परिचालनसमेत गर्नुपरेको थियो। साँझ ५स्३० बजे भिड तितरवितर भई दुवैतर्फको यातायात सुचारु भएको सशस्त्र प्रहरीले जनाएको छ। स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ८ सेल अश्रुग्यास प्रहार गरेको थियो।

केही स्थानीय र प्रहरी घाइते भएका छन्। 

साँझबाट अरनिको राजमार्गमा सवारी साधन चलेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .