ad ad

समाज


पशुपति कोटीहोममा आचार्य कृष्ण दमाईले दिए प्रवचन

पशुपति कोटीहोममा आचार्य कृष्ण दमाईले दिए प्रवचन

नेपालखबर
साउन २६, २०८१ शनिबार ६:४०, काठमाडौँ

मानव सेवा फाउन्डेसनले पशुपति परिसरमा आयोजना गरेको कोटिहोम महायज्ञमा आचार्य कृष्ण दमाईले प्रवचन दिएका छन्।

संस्कृतमा आचार्य (स्नातकोत्तर) गरेका बैतडीका दमाईले शुक्रबार कोटिहोममा प्रवचन दिएका हुन्। 

महायज्ञका सङ्कल्पकर्ता विजय कृष्णमूर्तिले आचार्य कृष्णलाई व्यासपीठमा राखी अभिनन्दन गरेका थिए। 

प्रवचनका क्रममा आचार्य कृष्णले भने, ‘संस्कृत साहित्यलगायत अन्य कर्ममा मलाई समावेश गराउने आदरणीय गुरूहरूमा नमन गर्छु। मानिसले स्वर्ग जानुपर्छ भन्छन् तर मेरो लागि त राष्ट्रदेव पशुपतिनाथको चरणमा स्वर्गको महसुस भएको छ। मैले स्वर्ग प्राप्त गरेको अनुभूत गरेको छु।’

उनले कोटीहोममा उपस्थित भएपछि सबै जाति र समुदायले संस्कृत शिक्षा, वेद अध्ययन गर्नुपर्छ भन्ने सोचमा थप बल पुगेको बताए। 

‘दलित समुदायको एउटा व्यक्तिले संस्कृत शिक्षा, वेद अध्ययन गर्नुपर्ने रहेछ भन्ने सोचमा आजको यस ऐतिहासिक कोटीहोममा थप बल पुगेको छ। मलाई व्यासमा बसी यस्तो पवित्रस्थलमा पुग्छु र बोल्छु भन्ने कल्पना नै थिएन।’

सनातन धर्म संस्कारको रक्षा र सभ्य नागरिक बनाउनका लागि संस्कृत अभियानमा जोडिनुपर्ने धारणा राख्दै आचार्य कृष्णले धार्मिक रूपमा विभाजित गर्ने प्रवृत्तिबारे समेत सचेत रहनुपर्नेमा जोड दिए। 

उनले अगाडि भने, ‘हामीलाई विभाजित गरी सनातन धर्म संस्कारलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको छ । त्यसैले हिन्दूत्व र सनातन धर्मका लागि एकताबद्ध रहनुपर्छ । हिन्दू संस्कारलाई बचाउन र सभ्य नागरिक बनाउनु छ भने संस्कृत अभियानमा जुट्न जरूरी छ । सबैले आआफ्नो ठाउँबाट कम्मर कसेर उठ्नुपर्छ।’
 
मानवसेवा फाउण्डेशनका संस्थापक तथा पशुपति कोटीहोम महायज्ञका सङ्कल्पकर्ता विजय कृष्णमूर्तिले नेपालमा नयाँ युगको सुरुआत भएको जिकिर गरे। 

उनले भने, ‘दमाइ परिवारबाट आचार्य गरेका कृष्णलाई व्यासमा राखेर अभिनन्दन गरेका छौँ र हामीलाई गर्व लागिराखेको छ, उहाँले निकै गहकिलो प्रवचन दिनुभयो । यो छुवाछूतविरुद्धको ठूलो क्रान्ति हो। बोलीले मात्र होइन व्यवहारले नै सामाजिक विभेद् हटाउनुपर्छ। त्यसैले यो एउटा नयाँ युग र नयाँ क्रान्ति हो।’

एक महिना अर्थात साउनभर चल्ने कोटिहोममा अहिलेसम्म २५ लाखभन्दा बढी भक्तजन सहभागी भएका त्यस अवसरमा जानकारी दिइयो।

दैनिक बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म कथा प्रवचनका साथै रुद्री पाठ, १८ पुराणपाठ, एक सय आठ श्रीमद्भागवत पाठ र सप्तचण्डी पाठ गर्ने गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .