ad ad

समाज


सिमलताल दुर्घटना अध्ययनको निष्कर्ष– सिन्दुरे खोल्साको ड्यामले भार थाम्न सकेन, लेदोले बस बगायो

सिमलताल दुर्घटना अध्ययनको निष्कर्ष– सिन्दुरे खोल्साको ड्यामले भार थाम्न सकेन, लेदोले बस बगायो

नेपालखबर
साउन २२, २०८१ मंगलबार १९:१, काठमाडौँ

सिमलताल दुर्घटना अध्ययनका लागि गठित कार्यदलले दुर्घटनाको मुख्य चारवटा कारण औंल्याएको छ। 

आज गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन पेश गर्दै कार्यदलले दुर्घटना हुनुको कारण, पीडित परिवारले पाउनुपर्ने क्षतिपूर्ति तथा आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन के गर्नुपर्छ भन्ने विषयमा प्रस्तुती समेत गरेको थियो। 

कार्यदलले सिमलताल दुर्घटना हुनुको मुख्य कारणमा दुर्घटनास्थल माथिको भिरालो पहाडी क्षेत्रमा उचित इन्जिनियरिङ तथा डिजाइन बिना (सिमलताल–बाङ्गेसाल–डुम्रेगाउँ) हालसालै ग्रामिण सडक खनिएकोले डेब्रिज बहावमा सहयोग पुगेको, जसमा – कमजोर भूगोल तथा अत्यधिक क्रस स्लोप भएको उल्लेख गरेको छ। 

सडक निर्माण गर्दा कट एण्ड फिल एप्रोच (सडक खन्दा निस्किएको माटो अलग्गै व्यवस्थापन) बाट कार्य नगरी कटिङबाट मात्र सडक बनाउँदा अत्यधिक मात्रामा निस्केको माटो सडक छेउको पाखामा त्यतिकै फ्याँकिएको पाइएको कार्यदलका संयोजक समेत रहेका गृह मन्त्रालयका सहसचिव छबि रिजालले बताए। 

प्रतिवेदनमा भनिएको छ, ‘सडकमा कुनै टेवा पर्खाल निर्माण नगर्दा वर्षाको समयमा पहिरो जान गई सो पहिरो नै डेब्रिज बहावको स्रोत वन्न पुगी डेब्रिज बग्दै सिन्दुरे खोल्सामा हुँदै तल झर्दा खोल्साको तल्लो भागमा स सानो पहिरो समेत गएको, खोल्सामा केही वर्ष पहिला बनेका चेक ड्याम तथा ग्याबिन वालले सोको भार थाम्न नसक्दा बाढीसँगै आएको ठूलो परिमाणको लेदो, गेग्रान र डेब्रिजले सडक क्रस गर्दै गरेका दुईवटा सवारी साधनलाई धकेलेर त्रिशूली नदीमा खसालेको देखिन्छ।’   

यसअघि असार ३० मै सडक डिभिजन कार्यालय भरतपुरले हिउँदमा पानी समेत नभेटिने सिमलतालको सिन्दुरे खोल्सीमा आएको डेब्रिज बहावका कारणले सडकमा गुडिरहेका दुईवटा यात्रुबाहक बस बगाएको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थियो। 

कार्यदलले उक्त ग्रामिण सडक निर्माण गर्दा समग्र वातावरणीय पक्षमा ध्यान नदिएको उल्लेख गरेको छ। 

कार्यदलको प्रतिवेदन अनुसार असार ८ मै यस सडकको सोही स्थानमा सडक माथिबाट आएको लेदो सहितको भेल बाढीले सडक पूर्ण रुपमा बन्द भएको अवरुद्ध भएको थियो। त्यतिबेला सडक आसपासको दुईवटा छाप्रो (कटेरो) पुरिएको थियो भने काठमाडौँबाट गोरुसिङ्गेतर्फ जाँदै गरेको मिनीट्रकको अगाडिको भाग पुरिएको थियो। 

कार्यदलले दुर्घटनाका अन्य कारणहरूमा, असार ८ गते थुनिएको कल्भर्ट तथा पुरिएको क्याचपिट समयमै सफा नगर्दा माथिबाट झरेको ठूलो परिमाणको डेब्रिज एकैपटक मूल सडकमा आई सडक अवरोध हुन पुगेको, सडक सुरक्षासम्बन्धी एकीकृत सूचना प्रणालीको विकास नभएकोले सडकको अवस्थाबारे सवारी सुरक्षा निकाय तथा चालकले पूर्वानुमान गर्न नसकेको उल्लेख गरेको छ। 

साथै सडक सुरक्षाका दृष्टिले निकै जोखिमपूर्ण मानिएको यस सडकमा ठूलो वर्षा भइरहेको र रातको समयमा सवारी चलाउँदा चालकले सुरक्षामा विशेष ध्यान नदिएको पनि प्रतिवेदनमा उल्लेख छ। 

‘दुर्घटनास्थलको माथितिर नजिकै रहेको सिन्दुरे खोल्सीमा कार्यदल पुग्दा पानीको मात्रा केही घटेको थियो। सो खोल्सीको पानी कटाउनका लागि सडकमुनि कल्भर्ट पनि बनाइएको थियो। तर स्थानीय बासीहरूका अनुसार गत असार ८ गतेको भारी बर्षाले माथिबाट डेब्रिज बगाएर ल्याउँदा उक्त कल्भर्ट थुनिएको थियो र दुर्घटना हुने दिनसम्म पनि खोलिएको थिएन,’ प्रतिवेदनमा भनिएको छ, ‘सडकभन्दा केही माथि बनेका ग्याबिन जालीमा पनि डेब्रिज थुनिँदै जाँदा यसको भार ग्याबिन जालीले थाम्न नसकेपछि यसले चेक ड्याम वरिपरि पहिरोको रुप लिएको अनुमान लगाउन सकिन्छ। खोल्साको केही माथि देब्रेतर्फबाट झरेको पहिरो र त्यही पहिरोले ग्याबिनसमेत लछार्दै भत्काएको दृश्य अहिले पनि देख्न सकिन्छ।’

दुर्घटनाको प्राविधिक पक्षको विश्लेषण गर्दै कार्यदलले नारायणगढ–मुग्लिन सडकखण्ड ठूलो नदीको किनारमा निर्मित सडक भएकोले नदीको उच्च बहावले सडकलाई तलतिरबाट काट्दै जाँदा यस राजमार्गका धेरै स्थानमा सडक भासिएर पुननिर्माण भएका तथा यसैका कारणबाट पनि थुप्रै दुर्घटना भएका उल्लेख गरेको छ। 

सडकको एलाइनमेन्ट नदीको किनारै किनार भएर जाने र यस सडकमा पर्ने खोला, खोल्सीको जलवहाव क्षेत्र पनि निकै फराकिलो भएको हुँदा स–साना खोला, खोल्साहरूमा वर्षातको समयमा सामान्य वर्षा हुँदा पनि सहजै बाढी आउने जोखिम रहेको कार्यदलको विश्लेषण छ। 

बेला–बेला हुने भारी बर्षाले त्यस्ता खोला खोल्साहरूमा माथिबाट आउने बाढी, पहिरो, लेदो, गेग्रान, डेब्रिज पनि ठूलै परिमाणको हुने गर्दछ। उचित क्षमताका कल्भर्ट÷पूलहरुको निर्माणले मात्र ती खोला नाला खोल्सा आदिको पानी सडकबाट सुरक्षित रुपमा कटाउन सकिने प्रतिवेदनमा उल्लेख छ।  

संघीय राजधानी काठमाडौँ र गण्डकी प्रदेशलाई तराईसँग जोड्ने नेपालको मुख्य सडक नारायणगढ–मुग्लिन सडकखण्ड चितवनको नारायणगढ बजारदेखि मुग्लिन बजारसम्म नारायणी तथा त्रिशुली नदीको किनारै किनार अवस्थित छ।  

३६ किलोमिटर लामो मुग्लिन–नारायणगढ सडकखण्डमा पछिल्लो समय दैनिक सरदर १०,०९७ सवारी साधन गुड्ने गरेको तथ्यांक रहेको छ। 

गएको असार २८ गते बिहान नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा दुईवटा बस दुर्घटनामा परेका थिए। 

पहाडबाट बग्दै आएको डेब्रिजमा परी दुईवटा बस हराईरहेको घटनाको अध्ययनका लागि आफू मन्त्री नियुक्त भएपछि मन्त्री रमेश लेखकले असार ३१ गते दुर्घटना अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेका थिए। कार्यदललाई सुझाव सहितको प्रतिवेदन पेस गर्न भनिएको थियो। 

काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको यात्रुबाहक बस (गणपति डिलक्स) र सोही समयमा वीरगन्जबाट काठमाडौँ आइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको यात्रुबाहक बस (एञ्जल डिलक्स ) २०८१ असार २८ गते बिहान सिमलतालमा एकैसाथ त्रिशूली नदीमा खसेकोमा ३ जना यात्रु मात्र बाँच्न सफल भएका थिए। उनीहरू पौडिएर बाँचेका थिए।

काठमाडौँबाट रौतहट जाँदै गरेको बसमा ३६ र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बसमा २६ गरी ६२ यात्रु सवार रहेको प्रहरीले जनाएको छ। जसमध्ये गणपति डिलक्सका ३ जना यात्रुहरु नन्दन दास, जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता हाम्फालेर बाँचेका थिए भने बाँकी ५९ जना यात्रु बेपत्ता भएका थिए। 

बेपत्तामध्ये हालसम्म २४ जनाको शव फेला परेकोमा १९ जनाको मात्रै सनाखत भएको छ। बाँकी यात्रुको अझैसम्म फेला पार्न सकिएको छैन भने हराइरहेको दुईवटा बस पनि भेटिएको छैन।  

यस्तो छ प्रतिवेदनको पूर्णपाठ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .