जल तथा मौसम विज्ञान विभागले गत असार २३ गते कञ्चनपुर क्षेत्रमा भएको अति भारी वर्षाको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ।
विभागले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सो वर्षाको प्रणालीको सम्मिश्रण प्रक्रिया तथा वर्षाको परिमाणका आधारमा उक्त मौसमी घटनालाई ‘तराई क्लाउड ब्रस्ट’ नामकरण गरिएको छ।
विभागले जिल्लाका दोधारा, हनुमान नगर र सुन्दरपुरमा जडित स्वचालित वर्षा मापन उपकरणहरूको स्थलगत परीक्षण गरी दोधारा र हनुमान नगर हावापानी केन्द्रमा जडित उपकरणको कार्य अवस्था मापदण्डभित्रै रहेको र प्राप्त तथ्याङ्क सही रहेको उल्लेख गरेको छ।
तथापि सुन्दरपुर केन्द्रमा जडित उपकरणबाट हाल प्राप्त भएको तथ्याङ्क विभागको मापदण्डभन्दा फरक देखिएकाले थप अध्ययन गर्नुपर्ने स्थलगत परीक्षण टोलीले पेस गरेको विभागको प्रतिवेदनको सारांशमा उल्लेख छ।
गत असार २३ गते राति २२:०५ देखि २३:०५ बजेसम्म एक घण्टाको अवधिमा हनुमान नगरमा एक सय दुई मिलिमीटर वर्षा मापन भएको थियो। उक्त क्षेत्रमा सतही, मध्य र उपल्लो वायुमण्डलमा मनसुनी र पश्चिमीवायुमा विकास भएको न्यूनचापीय प्रणालीहरूको सम्मिश्रणका कारण अत्यधिक वर्षा भएको अध्ययनबाट देखिएको विभागका प्रवक्ता सुनील पोखरेलले जानकारी दिए।
सर्वाधिक वर्षाका कारण कञ्चनपुरका समथर भूभाग डुबानमा परेको तथा विभिन्न नदीनालामा बाढीसमेत आई क्षति भएको थियो। असार २५ गते बिहान ६:१५ बजेको स्याटलाइट तस्बिरको विश्लेषण गर्दा कञ्चनपुरको करिब ९८ वर्ग किलोमिटर क्षेत्रफल (कूल क्षेत्रफलको करिब ६ प्रतिशत) भूभाग डुबानमा परेको थियो। जसमध्ये करिब ८५ वर्ग किमि कृषियोग्य भूभाग रहेको तथा ससाना संरचनासमेत गरी करिब १४ हजार भवन प्रभावित भएका थिए।
नेपालमा हालसम्म मापन गरिएको सर्वाधिक वर्षाको घटनामा तुलनात्मक रूपमा कम क्षति भएका विवरण स्थलगत भ्रमणका क्रममा गरिएका अन्तरक्रिया तथा अन्य स्रोतबाट प्राप्त भएको छ। यसरी क्षति न्यूनीकरण हुनुमा विभागबाट समयमै प्रवाह गरिएको विशेष बुलेटिन, प्रभावमा आधारित मौसम पूर्वानुमान, ‘मास एसएमएस’ सेवा तथा सोअनुरूप पर्याप्त पूर्वतयारी र पूर्वकार्य एवं प्रभावकारी खोज तथा उद्धारको प्रमुख भूमिका रहेको प्रतिवेदनको निष्कर्ष छ।
जलवायु परिवर्तनका कारण यस्ता विषम जल तथा मौसमी घटना बढ्दै जाने हुँदा विपद्को जोखिम न्यूनीकरण गर्न पूर्वानुमान तथा पूर्वतयारीलगायत उल्लिखित क्षेत्रमा लगानी बढाउँदै जानु आवश्यक रहेको प्रतिवदेनको सुझाव छ। रासस
Shares

प्रतिक्रिया