समाज


व्यवसायी बन्न थाले मुक्त कम्लरी

व्यवसायी बन्न थाले मुक्त कम्लरी

नेपालखबर
साउन २०, २०८१ आइतबार १२:५१, कैलाली

कैलालीको जानकी गाउँपालिका-७ की रीता चौधरीले घरको आर्थिक अवस्था राम्रो नभएकै कारण अरुको घरमा कम्लरी बस्नुपर्‍यो। विसं २०६३ मा कक्षा ५ उत्तीर्ण गरेकी रीताले पढाइलाई निरन्तरता दिन कम्लरी बसेकी थिइन्। तर उनको पढ्ने सपना पूरा भएन। कम्लरी बसेपछि उनले पढाइ छाड्नुपर्‍यो।

‘घरको आर्थिक अवस्था कमजोर थियो। घरमा कामसँगै पढाउने भनेपछि एकजनाको घरमा कम्लरी बसेँ,’ उनले भनिन्, ‘कम्लरी बसेपछि पढ्ने सपना पूरा भएन। अरुकै घरमा काम गरेर समय बित्यो।’

कम्लरी छाडेर गाउँमै सञ्चालन भएको नौ महिने अनौपचारिक शिक्षा लिएर पुनः विद्यालय पुगेकी रीताले ७ कक्षा भन्दामाथि औपचारिक शिक्षा लिन सकिनन्। कक्षा ७ उत्तीर्ण गरेकी आर्थिक अवस्थाकै कारण पढ्न सकिनन्।

त्यसपछिका एक दशक अरुकै घरमा ज्याला मजदुरी गरेर जीविका चलाएकी रीता यतिबेला व्यावसायिक बन्ने प्रयत्नमा छिन्। गाउँकै साथी मुक्तकम्लरी सरस्वती थारूसँग मिलेर यही साउन ६ गतेबाट खाजा, नास्ता पसल सञ्चालन गरेकी छिन्।

नेपाल युथ फाउण्डेशनको आर्थिक सहयोगमा १० दिने खाजा नास्तासम्बन्धी तालिम लिएका रीता र सरस्वतीले गाउँमै खाजा पसल सञ्चालन गरेकी हुन्। ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आउनुभएका उहाँहरूले खाजा पसल सञ्चालन गरेपछि अरुकामा काम गर्नुपर्ने बाध्यता हटेको छ।

त्यतिमात्र होइन आफ्नो मेहनतले कमाएको थोरै पैसा पनि ठूलो लाग्ने सरस्वती बताउँछिन्। ‘दिनभर अरुकामा काम गरेर जीवन चलाउनुपर्ने स्थिति थियो। दश दिनको तालिमले व्यवसायी बनायो,’ उनले भनिन्, ‘अब यसैमा मेहनत गरेर सिकेको सीपलाई व्यावसायिक बनाउने सोचाइ छ।’

संस्थाले ८५ जना मुक्त कमैया महिला, एकल महिला र मुक्तकम्लरीलाई खाजा नास्ताको परिकार बनाउने तालिम दिएको थियो। तालिमसँगै २५ हजार रूपैयाँ बराबरको भाँडाकुँडा पनि सहयोग गरेको छ।

भजनी नगरपालिका(४ खैलाडकी मुक्तकम्लरी निलम चौधरीले पनि यही साउन ९ गतेबाट खाजा पसल सुरु गरेकी छिन्। घरायसी काममा व्यस्त रहने निलम आजभोलि समोसा, चाउमिन, पकौडा, चटपटेलगायत परिकार बनाएर बिक्री गर्छिन्।

‘घरको काम, बालबालिकाको हेरचाहमै दिन बिताउनुपर्ने बाध्यताबाट तालिमले व्यावसायिक बनायो,’ उनले भनिन्, ‘अब यही व्यवसायलाई निरन्तरता दिएर आत्मनिर्भर बन्ने आशा गरेकी छु।’

उक्त तालिम लिएका ३२ जना मुक्तकम्लरीले व्यवसाय सुरु गरेका छन्। टीकापुर शिवनगर शिविरमा बस्दै आएकी पुष्पा थारूको समस्या पनि रीता र सरस्वतीको भन्दा फरक छैन। घरको आर्थिक अवस्थाले कम्लरी बस्नुपरेको बाध्यता छिचोल्दै आउनुभएकी पुष्पाले विगत एक वर्षदेखि खाजा पसल सञ्चालन गर्दै आएकी छिन्। अरुले पकाएको देखेर सुरु गरेको खाजा पसल चलाउँदै आएकी पुष्पा १० दिनको तालिमले व्यवसायमा परिपक्व भएको बताउँछिन्।

'सीप सिकेर काम गर्दा राम्रो हुँदोरहेछ भन्ने लागेको छ। पहिला व्यापारबाट भविष्य सुनिश्चित नदेखेकी मैले आजभोलि भविष्य देख्न थालेकी छु', पुष्पाले भनिन्, 'कामको सिलसिलामा भारत गएका श्रीमान्लाई बोलाएर यही पेसामा लगाउने सोच छ।'

टीकापुरकै संगीताले पहिलेदेखि किराना पसल सञ्चालन गर्दै आएकी थिइन्। उनका श्रीमानले फ्रेसहाउस सञ्चालन गरेका छन्। मुक्तकम्लरी संगीताले खाजा बनाउने तालिम लिएपछि किरानासँगै खाजा पसल थप गरेका छन्। व्यावसायिक रूपमा आफू परिपक्व भएको संगीताको भनाइ छ। 'हामी पहिले पनि सानोतिनो व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका थियौँ', संगीताले भनिन्, 'घरायसी देखि बालबालिकाको स्कुलको खर्च सबै व्यवसायले धानेको छ।'

कैलारी गाउँपालिका हसुलियाकी निर्मला चौधरी दुई वर्ष कम्लरी बसिन्। पढ्ने समयमा आर्थिक अभावका कारण अरुकोमा कम्लरी बसेकी निर्मला ७ कक्षाभन्दा माथि पढ्न नसकेकामा दुःख व्यक्त गर्छिन्। अहिले उनी रेष्टुरेन्ट सञ्चालनको तयारीमा छिन्।

सरकारले विसं २०७० असार १३ गते कम्लरी मुक्त घोषणा गरेको थियो। विभिन्न संघसंस्थाको सहयोगमा तालिम लिएरै आजसम्म छ सयभन्दा बढी कम्लरी आत्मनिर्भर भएका छन्।

कैलालीमा चार हजार ७४ जना पूर्व मुक्तकम्लरी छन्। त्यसमध्ये दुई हजार पाँच सयसँग मात्रै कम्लरी परिचयपत्र छ। बाँकीले अझै परिचयपत्र पाउन सकेका छैनन्। परिचयपत्र पाएकाहरूले राज्यबाट पाउनुपर्ने सेवा सुविधा पाउन नसकेको मुक्तकम्लरीहरू बताउँछन्।

'राज्यले मुक्तकम्लरीको व्यवस्थापनमा ध्यान नदिँदा आज कैयौँ पूर्वकम्लरीले दुःख पाइरहेको अवस्था छ। संघसंस्थाको सहयोग र समन्वयमा केही मुक्तकम्लरी आफ्नो खुट्टामा उभिन सक्ने भएका छन्', मुक्तकम्लरी विकास मञ्च कैलालीकी अध्यक्ष विन्द्रा चौधरी भन्छिन्, 'स्थानीय सरकारले मुक्तकम्लरीको अभिभावकत्व निर्वाह गर्नुपर्ने हो, त्यो हुन सकेको छैन।'

आर्थिक अभावकै कारण मुक्त कम्लरीले पढाइ छाड्नुपर्ने स्थिति आएको उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad