ad ad

समाज


तीन टोल क्यान्सरपीडित बनेपछि पानी परीक्षण सुरु

तीन टोल क्यान्सरपीडित बनेपछि पानी परीक्षण सुरु

शङ्खर पहाडी
फागुन १८, २०७६ आइतबार ११:३,

हरिवन नगरपालिका–५ घुर्कौलीको सिद्धार्थ टोल, धनपति टोल र गोले टोलका २६ जनाले अढाइ वर्षको अन्तरालमा क्यान्सरका कारण ज्यान गुमाएका छन्।

तीनै टोलमा क्यान्सर रोग प्रकोपका रूपमा फैलिएको छ। जसका कारण हाल पनि उक्त टोलमा आठ जना क्यान्सरका बिरामी उपचाररत छन्। दूषित पानीका कारण टोलमा क्यान्सर प्रकोपका रूपमा फैलिएको वडा नं ५ का अध्यक्ष नागेन्द्र साहले बताए।

क्यान्सरपीडित तथा ज्यान गुमाउने अधिकांशलाई घाँटी र फोक्सोको क्यान्सर भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनका डा सविन अधिकारीले बताए। दूषित पानीका कारण क्यान्सर लाग्ने गरेको डा अधिकारीले बताए। उक्त टोलका दुई÷तीन जनाको उपचार आफूले गरेको र सो टोलमा पिउने पानीमा समस्या रहेको विषय थाहा पाएको डा अधिकारीले बताए।

क्यान्सरपीडित टोलमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले पानी परीक्षण शुरु गरेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका सिडिइ राजेश कुशवाहले बताए। विभिन्न सञ्चारमाध्यममा समाचार गाउँमा पानीका कारण क्यान्सर भएको भन्ने समाचार आएलगत्तै विभागबाट पानी परीक्षणका लागि परीक्षण किटलगायतका सामानको व्यवस्थापन गरी पानी परीक्षणको काम शुरु भएको कुशवाहले बताए।

पानी परीक्षणबाट टोलका चापाकलको पानीमा अत्यधिकमात्रामा आर्सेनिक फेला परेको छ। परीक्षणका क्रममा चापाकलबाट संकलन गरेको पानीको नमूनाबाट ०‍‍‍.०६३ मिलिग्रामसम्म आर्सेनिक फेला परेको विभागका कर्मचारी मनोज अधिकारीले बताए। सामान्यतया मानव स्वास्थ्यका हिसाबले ०.०१ सम्मको पानी अत्यावश्यक अवस्थामा प्रयोग गर्न सकिने अधिकारीको भनाइ छ। पूरै गाउँमा रहेको चापाकल तथा स्थानीयले प्रयोग गर्ने पानीको स्रोतबाट नमूना पानी संकलन गरिएको र उक्त पानीको आर्सेनिकसहित २७ थरीका पारामिटर परीक्षण गरिने विभागले जनाएको छ।

खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले तत्काल शुद्ध खानेपानीको व्यवस्था गर्ने जनाएको छ। पानीमा देखिएको आर्सेनिकका कारण स्थानीयको स्वास्थ्यमा असर परेको भन्दै उनीहरूलाई तत्काल शुद्ध खानेपानीको व्यवस्था गरिने आयोजनाका सिडिइ कुशवाहले बताए। वडामा खानेपानीको ठूला परियोजनासमेत सञ्चालन भइरहेकाले तत्कालका लागि टोलको दक्षिण क्षेत्रमा ठूलो बोरिङ गाडेर मेसिनमार्फत प्रभावित टोलमा शुद्ध पानी वितरण गर्ने योजना रहेको उनले बताए।

टोलका झण्डै ४०० परिवारमा क्यान्सरको त्रास रहेको भन्दै चापाकलको पानी प्रयोग नगर्न चिकित्सकले आग्रह गरेका छन्। विगत सात वर्षअघिदेखि टोलका केही चापाकलमा पहेँलो पानी आउने गरेको स्थानीय अमरलाल तामाङले बताए। उनका अनुसार नुहाउँदा जिउमा डाबर आउने र एलर्जी हुने, लुगा धुँदा सफा नहुने गरेको छ। वडा कार्यालयले १६ क्यान्सरपीडितलाई उपचारका लागि सिफारिस गरेको र त्यसमध्ये केही उपचारका क्रममा रहेका तथा केहीको मृत्यु भइसकेको वडाध्यक्ष साहले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .