विश्वभर आतंक मच्चाइरहेको कोरोनाभाइरसको संक्रमणले अमेरिकामा पनि एक जनाको मृत्यु भएको छ।
यो भाइरस संक्रमणका कारण भएको यो मृत्यु अमेरिकाकै पहिलो हो।
अधिकारीहरूका अनुसार कोरोना भाइरस संक्रमणका कारण अमेरिकाको उत्तर-पश्चिमी वासिङटन राज्यमा करिब ५० वर्षका पुरुषको मृत्यु भएको हो।
ती व्यक्तिमा पहिले नै केही स्वास्थ्य समस्या थिए।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यसबाट आतंकित नहुन देशवासीलाई आग्रह गरेका छन्।
बीबीसीका अनुसार उनले अन्य देशमा संक्रमण सुरु हुनेबित्तिकै आफ्नाे प्रशासनले त्यससँग जुध्न इतिहासकै सबभन्दा आक्रामक तयारी गरेको बताएका छन्।
उनले भनेका छन्, ‘त्रस्त हुनुपर्ने कुनै कारण छैन। हाम्रो मुलुक जुनसुकै अवस्थाका लागि तयार छ।’
कोरोनाबाट अति प्रभावित इटली र दक्षिण कोरियापछि इरानका लागि पनि यात्रा प्रतिबन्ध थप्न लागिएको अमेरिकी अधिकारीले जनाएका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणबाट विश्वभर अहिलेसम्म तीन हजार जनाको मृत्यु भइसकेको छ भने ८५ हजार मानिसमा यसको संक्रमण भएको पुष्टि भइसकेको छ।
यसमा कोरोना भाइरसको उद्गमस्थल चीनका मानिस धेरै छन्।

प्रतिक्रिया