ad ad

समाज


कार्यदलले लेख्न थाल्यो सिमलताल दुर्घटनाको प्रतिवेदन, यस्तो छ प्रारम्भिक निष्कर्ष

कार्यदलले लेख्न थाल्यो सिमलताल दुर्घटनाको प्रतिवेदन, यस्तो छ प्रारम्भिक निष्कर्ष

गीता चिमोरिया
साउन ८, २०८१ मंगलबार २१:३१, काठमाडौँ

सिमलताल दुर्घटना अध्ययनका लागि गठित कार्यदलले स्थलगत अध्ययनपछि प्रतिवेदन लेखनको काम थालेको छ। 

गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदल साउन २ गते स्थलगत अध्ययनका लागि घटनास्थल पुगेको थियो। 

कार्यदलमा नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्री, सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक शंकर खनाल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सन्ध्या सिग्देल, भौतिक पूर्वाधार मन्त्रालयबाट प्रकाश भण्डारी र यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला सदस्य रहेका छन्। 

गृहमन्त्री रमेश लेखकले असार ३१ गते पदभार ग्रहण गर्दै सिमलताल दुर्घटना अध्ययनका लागि कार्यदल गठन गर्ने निर्णय गरेका थिए। ३१ गते गठन भएको सहसचिव रिजाल नेतृत्वको ६ सदस्यीय कार्यदलले साउन २ गतेबाट आफ्नो काम थालेको थियो। कार्यदललाई दस दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ।    

स्थलगत अध्ययनपछि अहिले प्रतिवेदन तयार पार्ने काम भइरहेको र यो हप्ता प्रतिवेदन बुझाउने तयारी रहेको कार्यदलका संयोजक रिजालले नेपाल खबरलाई जानकारी दिए। उनका अनुसार कार्यदलले घटनास्थलको भौगोलिक अवस्था अध्ययन गर्नुका साथै दुर्घटनामा बाँचेका यात्रु, घटनास्थलपारिका स्थानीय लगायतसँग कुराकानी गरेको छ।    

रिजालले भने, ‘हामी कार्यदलका सबै सदस्य फिल्डमा गयौँ, स्थलगत अवलोकन गर्‍यौँ। त्रिशुली पारिपट्टिबाट पनि हेर्‍यौँ। घटना हुँदाखेरी पारिपट्टि तनहुँबाट एकजना जङ्गबहादुर मगर भन्ने स्थानीय हुनुहुँदो रहेछ, उहाँसँग पनि सोधपुछ गर्‍यौं। एकजना उपचाररत घाइतेलाई पनि सोध्यौँ।’

पहिरोले बगाएको दुई बसमध्ये काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्सका यात्रु नन्दन यादवसँग कार्यदलले भेट गरेको हो। यादवसहित उक्त बसमा सवार तीनजना यात्रु पौडिएर बाँच्न सफल भएका थिए।  

घटनास्थलको अवस्थितिबारे रिजालले भने, ‘हामीले त्यहाँ हेर्दा के देखिन्छ भने, माथिबाट अग्लो पहाड छ, भारी वर्षा भयो, पहाडबाट पानी पनि पर्दै गयो, बीचमा ग्रामीण सडक पनि खनिएको छ, माथिबाट गेग्य्रानसहितको पहिरो एकैचोटि आयो र त्यसले सवारी बगाएको हुनुपर्छ भन्ने प्रारम्भिक अनुमान छ।’ 

दुर्घटनामा बगेको दुईवटा बसमा सवार यात्रुमध्ये हालसम्म २४ जनाको शव भेटिएको छ। २४ मध्ये १९ जनाको सनाखत भइसकेको छ भने पाँचजनाको सनाखत हुन बाँकी छ। खोजीकार्य निरन्तर जारी रहेको र भारतसँग पनि समन्वय गरेर खोजीको काम गरिरहेको गृह मन्त्रालयले जनाएको छ। साउन पाँच गतेबाट भारतले उपकरणसहित १२ जनाको टोली खोज तथा उद्धारका लागि पठाइएको छ। 

कार्यदलका संयोजक रिजालले अगाडि भने, ‘त्यो खोल्सो छ, त्यसलाई सिन्दुरे खोल्सी भन्छन् स्थानीयले। माथिचाहिँ डुम्रेबेसी भन्ने गाउँ छ, अलि माथि। त्यहाँ वडाले खनेको बाटो छ। हामी सबै त माथि जान सकेनौँ, त्यहाँको ड्रोनबाट खिचिएको तस्बिरहरू र सडक विभागको महानिर्देशकले ल्याउनुभएको त्यहाँको तस्बिर अध्ययन गर्‍यौँ।’

‘नदीसँग समानान्तर हुनेगरी सडक छ, नदीको किनारैकिनार। त्यसो हुँदा माथि पहाडदेखि परेको पानी त तलै आउने भयो बगेर। खोल्सी भएको हुनाले खोल्सीमा त झन सबैतिरको पानी जम्मा भएर आउने नै भयो त्यो क्षेत्रको। वर्षाको पानी बगेर तल सडक विभागले अलि पहिला बनाएको चेकड्याममा आयो। त्यसले केहीबेर धानेको देखिन्छ,’ दुर्घटना हुनुको कारणबारे रिजालले विस्तृतमा भने, ‘पछि चेकड्याम पनि बग्यो । त्यहाँ केही न केही गेग्य्रान भएको हुनाले ढिला भयो। बाटो स्मुथ भएको भए त फटाफट गाडी पास हुन्थ्यो, त्यहाँनेर त्यो घटनाचाहिँ हुँदैन थियो। हिलो भएको हुनाले एक छिन त टाइम लाग्यो। त्यहीबेला  दुईवटा बस आइपुगे। चालकलाई पनि ठूलो पहिरो आउँदैछ भन्ने भएको भए अगाडि बढ्ने नै थिएनन्, उनीहरू त्यहाँसम्म पुग्दा पहिरो आएको थिएन। दुईजना चालकहरू टाइमिङ मिलाएर पार गर्नुपर्‍यो, केहीबेर त समय लाग्यो। त्यही बेलामा बगाएको हुनुपर्छ भन्ने देखिन्छ। अझै हामी गहिराइमा पुग्ने प्रयास गर्दैछौँ।’ 

त्यो रुटमा पहिरोले बाटो अवरुद्ध धेरैपटक भए पनि यस्तोखालको क्षति हुनेगरी पहिरो पहिलोपटक आएको कार्यदलको भनाइ छ। 

नारायणगढ–मुग्लिन सडकखण्डको चौडाइ हाल १२ मिटरको बनाइएको छ। 

संयोजक रिजाल भन्छन्, ‘सडक विस्तार गर्दाखेरी भारी उपकरण पनि प्रयोग गरियो। त्यसले पनि असर गरेको देखिन्छ। किनकि नेपालको भू बनोट विश्वकै योङ माउन्टेनमा पर्छ। पहिरो गइहाल्ने, माटो झरीहाल्ने खालको छ।’  

गएको असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा गाडी बगाएर त्रिशुलीमा पुर्‍याउँदा बसमा सवार ६२ जना यात्रु बेपत्ता भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .