ad ad

समाज


नेपालको ‘सफ्टपावर’ सिनास ब्यूँताउन पूर्वराष्ट्रपति भण्डारीको उपस्थितिमा यस्तो बहस

नेपालको ‘सफ्टपावर’ सिनास ब्यूँताउन पूर्वराष्ट्रपति भण्डारीको उपस्थितिमा यस्तो बहस

तस्बिर : सरोज नेपाल


रामकुमार डिसी
साउन २, २०८१ बुधबार १९:२३, काठमाडौँ

‘कुनै बेला सिनास विश्वविद्यालयको सफ्टपावर थियो,’ त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष खड्ग केसीले नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास)को गौरवपूर्ण समय स्मरण गर्दै भने, ‘हार्वर्ड, टोकियोजस्ता विश्वविद्यालयका पुस्तकालयमा सिनासको जर्नल पाइन्थ्यो।’

प्राध्यापक केसीले मंलबार सिनासले आयोजना गरेको आफ्नो ५३ औँ वार्षिक उत्सवका अवसरमा विगत स्मरण गरेका हुन्। 

प्राध्यापक केसीले भनेजस्तै त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सिनास सन् १९७०–८० को दशकमा आफ्नो ‘सुनौलो युग’मा थियो। सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीका अनुसार सिनासको अर्धवार्षिक जर्नल ‘कन्ट्रिब्युसन टु नेपलिज स्टडिज’ विश्वका ११२ विश्वविद्यालयका पुस्तकालयहरूमा वितरण हुन्थ्यो।

त्यसपछि लामो समय सुस्ताएको सिनास फेरि उठ्ने तर्खरमा छ। फेरि सक्रिय हुने क्रममै मंगलबार यसले ५३ औँ वार्षिक उत्सव आयोजना गर्यो, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथि बनाएर। र, यससँगै सिनासले ‘हिमवत् संवाद’ शृंखला सुरु गर्ने घोषणा पनि गरेको छ। 

सन् १९७१ मा स्थापना भएको सिनासले आधा शताब्दी पार गरिसकेको छ। तत्कालीन राजा महेन्द्रका ज्वाइँ कुमार खड्गविक्रम शाह कार्यकारी निर्देशक भएपछि नै सिनासले आफ्नो उचाइ लिएको मानिन्छ।

‘उहाँहरूले सिनासलाई जस्तोरूपमा छोड्नु भएको थियो, त्यसपछि हामी कति अगाडि बढेका छौँ भनेर आज ५३ वर्ष पुगेको उपलक्ष्यमा गम्भीर आत्मसमीक्षा गर्नुपर्छ,’ शिक्षाध्यक्ष केसीले कार्यक्रममा भनेका थिए।

गौरवपूर्ण इतिहासको स्मरण मात्रै नभई, अब सिनासलाई पुनर्जीवन दिनुपर्छ भन्ने बहस समेत त्रिभुवन विश्वविद्यालयमा सुरु भएको छ। तर, त्यसको 'मोडेल' के हुने भन्नेबारे बहस गर्माएको छ।

सरकारी बजेट कि स्वायत्तता
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष केसीले सिनास अहिले यस्तो अवस्थामा किन आइपुग्यो भन्नेबारे गम्भीर आत्मसमीक्षा गर्नुपर्ने कुरा उठाएपछि तत्कालै सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले जवाफ फर्काइहाले।

उनले सिनासको गौरवपूर्ण समय भनिएको बेला राज्यले वार्षिक झण्डै १० करोड रूपैयाँ (अहिलेको मूल्यांकनमा) र ७२ जना कर्मचारी उपलब्ध गराउने गरेकाे स्मरण गरे। अहिले सिनासमा १२ जना मात्रै कर्मचारी रहेको र उनीहरूको तलब–भत्ताबाहेक सरकारबाट एक रूपैयाँ पनि नपाउने कार्कीले बताए। 

यस्तो अवस्थामा आफूले पहिलेको जस्तो सिनास दिन नसक्ने कार्यकारी निर्देशक कार्कीको भनाइ छ।

‘मलाई ७२ स्टाफ र वर्षमा १० करोड बजेट दिन सक्नुहुन्न,’ उनले भने, ‘त्यो नसकेपछि मैले सन् १९७० र ८० को सिनास पनि दिन सक्दिनँ।’

त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बराल भने विश्वविद्यालय सिनासलाई पैसा दिनसक्ने अवस्थामा नरहेको बताउँछन्। बरु, उल्टै सिनासले पैसा कमाएर विश्वविद्यालयलाई देओस् भन्ने उनको अपेक्षा छ।

‘छोराछोरी हुर्केर बलियोे भइसकेका हुन्छन्, तैपनि उनीहरू बाउकै कमाइ खान खोज्छन्,’ लाक्षणिकरूपमा बरालले सिनासलाई भने, ‘बरु तपाईंहरूले आफैँ कमाएर विश्वविद्यालयलाई दिनुपर्छ। कमाएर बुढो बाउलाई पाल्नुपर्छ।’

त्यसो गर्न नसके सिनासलाई ‘मर्ज’गरिदिने उनको चेनावनी छ।

‘हामी कमाएर बाउलाई पाल्ने वातावरण बनाइदिन्छौँ,’ उपकुलपति बरालले भने, ‘सक्नुहुन्न, यो रिसर्च सेन्टरलाई हामीले सम्बिन्धत स्कुलमा मर्ज गरिदिन्छौँ।’

आफैँ कमाउनुपर्ने उपकुलपति बरालको भनाइसँग सिनासका कार्यकारी निर्देशक कार्की केही हदसम्म सहमत छन्। तर, त्यसका लागि उनले केही सर्त पनि अघि सारेका छन्। विश्वविद्यालयले सिनासलाई डबल डिग्री कार्यक्रम सञ्चालन गर्न दिनुपर्ने उनको मुख्य सर्त छ।

‘सिनासलाई डबल डिग्री कार्यक्रम सञ्चालन गर्न दिनुहोस्,’ कार्कीको भनाइ छ, ‘हाम्रो जर्नलमा लेख प्रकाशित नगरी विद्यावारिधि नदिनुहोस्। त्यसपछि हामी विश्वविद्यालयको एक रूपैयाँ पनि लिदैनौँ। कमाएर विश्वविद्यालयलाई दिन पनि सक्छौँ, आफैँ बाँच्न पनि सक्छौँ।’ 

दाताहरूबाट भने पैसा नलिने उनको अडान छ।

‘डोनरसँग पैसा लिएर मैले सिनासमा कार्यक्रम चलाएँ भने उसको एजेन्डा छिराउँछ,’ त्यसको कारण बताउँदै कार्कीले भने, ‘उसको एजेन्डामा छिर्‍यो भने यो रिर्सच सेन्टर कन्सलट्यान्सी अफिस हुन्छ या थिंकट्यांक?’

यस्ता सर्तमा भने उपकुलपतिले आफ्ना धारणा सार्वजनिक गरिसकेका छैनन्। यद्यपि उनले पहिले शिक्षण र अनुसन्धान दुवै काम सिनासले गर्ने गरेको भए पनि पछिल्लो समय शिक्षणलाई अलग गर्नु गलत भएको टिप्पणी गरे।

‘हिमवत् संवाद शृंखला’को सुरुवात 
५३ औँ वर्षमा प्रवेश गरेको अवसरमा गरेको सन्दर्भमा सिनासले एउटा नयाँ कार्यक्रम सुरु गरेको छ–‘हिमवत् संवाद’ शृंखला। मौलिक ज्ञान उत्पादनमा काम गर्ने उदेश्य राखेर अर्थपूर्ण नामसहित यो संवाद शृंखला सुरु गरिएको सिनासका कार्यकारी निर्देशक कार्कीको भनाइ छ।

‘ज्ञान उत्पादन गर्न नेपालीले पनि सक्छन् भन्ने विश्वासका साथ हामीले यसको सुरुवात गर्न लागेको हो,’ कार्कीले थपे।

‘हिमवत् संवाद’ शृंखलाको मंगलबार प्रमुख अतिथिका रुपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन्। सरकारलाई दिशानिर्देश गर्न आवश्यक पर्ने विषयमा ‘हिमवत् संवाद’ शृ‌ंखलामा बहस हुने कार्कीको भनाइ छ। 

संवाद शृंखलाको उद्घाटन गर्दै पूर्व राष्ट्रपति भण्डारीले सिनास जस्ता संस्थाले तथ्यमा आधारित रहेर ज्ञान उत्पादन गरेको भन्दै त्यसले राज्यको नीति निर्माणमा सहयोग पुगेको उल्लेख गरिन्।

‘राष्ट्रका लागि आवश्यक विषयमा तथ्यमा आधारित ज्ञानको उत्पादन गरी नीति निर्माणमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्थापित सिनासजस्ता अनुसन्धान केन्द्रहरूको योगदान रहँदै आएको छ,’ भण्डारीले सुनाइन्, ‘पछिल्ला वर्षहरूमा पर्याप्त स्रोत, साधनको अभाव र सरकारी वेवास्ताका कारण यी थिंकट्यांक संस्थाहरू सीमित भूमिकामा खुम्चिनु परेको भन्ने मलाई लागेको छ। यो कुराले मलाई दुःख पनि लागेको छ।’

राज्यलाई आवश्यक पर्ने ज्ञान उत्पादनमा संलग्न संस्थाहरूमा राज्यले लगानी पनि गर्नुपर्ने धारणा भण्डारीले राखिन्। यद्यपि आफैँ कमाएर आत्मनिर्भर बन्नुपर्छ भन्ने कुरालाई पनि आफूले स्वागत गर्ने उनको भनाइ छ। 

सिनाससँग भण्डारीको साइनो
पूर्वराष्ट्रपति भण्डारी र सिनासको निकट सम्बन्ध छ। पूर्वराष्ट्रपति भण्डारीले अविभावकजस्तै भूमिका निभएको सिनासको बुझाइ छ। संयोग पनि कस्तो भने, ३५ वर्षअघि बन्द भएको सिनासको नेपलिज स्टडिज जर्नल भण्डारी राष्ट्रपति भएपछि नै पुनः प्रकाशन सुरु गरेको थियो सिनासले। जसको पहिलो अंकमा उनको अन्तर्वार्ता छापिएको थियो। 

मृगेन्द्रबहादुर कार्की सिनासको कार्यकारी निर्देशक भएपछि यो जर्नल पुनः प्रकाशन भएको हो। 

त्यस्तै सिनासले राष्ट्रपति भण्डारी दुई कार्यकाल राष्ट्रपति हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा गरेको सम्बोधन संकलन गरेर पुस्तक प्रकाशन गरेको छ, जसको मंगलबार भण्डारीकै उपस्थितिमा लोकार्पण गरिएको थियो।

पूर्वराष्ट्रपति भण्डारीको जीवनी समेत सिनासले नै प्रकाशन गर्ने तयारी गरेको छ। सिनासका कार्यकारी निर्देशक कार्कीका अनुसार त्यसको काम पनि लगभग सकिन लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .