ad ad

समाज


प्रज्ञाको पुस्तक प्रदर्शनी सुरु, ८० प्रतिशतसम्म छुट

प्रज्ञाको पुस्तक प्रदर्शनी सुरु, ८० प्रतिशतसम्म छुट

फाइल फोटो


नेपालखबर
असार २३, २०८१ आइतबार २१:५, काठमाडौँ

नेपाल प्रज्ञा प्रतिष्ठानले ४१औँ प्राज्ञसभाका अवसरमा आजदेखि १५ दिने पुस्तक प्रदर्शनी सुरु गरेको छ। प्रदर्शनीमा प्रतिष्ठानले प्रकाशन गरेका करिब छ सयभन्दा बढी प्रकारका पुस्तक राखिएको जनाइएको छ।

प्रदर्शनीमा प्रतिष्ठानले प्रकाशन गरेका पुस्तक र पत्रपत्रिका गरी छ सयभन्दा बढी प्रकार राखिएको सह–व्यवस्थापक भरतप्रसाद सुवेदीले जानकारी दिए। प्रतिष्ठानको भानुभक्त कक्षमा सुरु प्रदर्शनीको कुलपति भुपाल राईले आज शुभारम्भ गरे। प्रतिष्ठानका प्रकाशन सबैले अध्ययन गर्न सकून् भनी छुटसहित प्रदर्शनी आयोजना गरिएको उनले बताए।

प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०८१ जेठसम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएको छ। रु तीनदेखि रु तीन हजार तीन सय पाँच मूल्यका पुस्तक प्रदर्शनीमा राखिएको छ। पुस्तकमा २० देखि ८० प्रतिशतसम्म छुट दिइएको छ।

प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगन लगायतका धेरै विषयका पठनीय एवं अति उपयोगी करिब ६०० भन्दा बढी थरीका पुस्तक एवं पत्रपत्रिका समावेश गरिएको छ।

नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोशलगायत शब्दकोशमा २० प्रतिशत छुटको व्यवस्था छ। प्रतिष्ठानबाट सुरु प्रकाशन भएदेखि २०८१ साल जेठसम्मका पुस्तकमा ८० प्रतिशतसम्म छुटको व्यवस्था रहेको जानकारी पनि उनले दिए।

यसभन्दा अघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थीहरु बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ। प्रज्ञाले विगत वर्षमा कम्तीमा तीनपटक पुस्तक प्रदर्शनी आयोजना गर्ने गरेको छ। पृथ्वी जयन्तीको अवसर पारेर पुस महिना, नयाँ वर्षको अवसर पारेर वैशाख र प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर असार महिनामा प्रदर्शनी आयोजना हुने गरेको थियो। गत वर्ष पृथ्वी जयन्तीका अवसरमा पुस्तक प्रदर्शनी नगरिएको पनि प्रतिष्ठानले जनाएको छ।

प्रदर्शनीमा बाल साहित्यका पनि धेरै पुस्तक बिक्री हुने गरेको छ। दैनिक तीन सयभन्दा बढी पाठकले प्रदर्शनी अवलोकन गर्न आउने गरेका छन्। दैनिक रु २० हजार बराबरको पुस्तक बिक्री हुने गरेको समेत सहव्यवस्थापक सुवेदीले बताए।

हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक पुर्याउने अभियानका रुपमा पनि प्रदर्शनीलाई अघि बढाइएको छ। प्रदर्शनीको मुख्य उद्देश्य पठन संस्कृतिको विकास गर्नु रहेको जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .