ad ad

समाज


कोरोना संक्रमण : विश्व स्वास्थ्य संगठनले नभनेसम्म नेपालले यात्रा प्रतिबन्ध नलगाउने

कोरोना संक्रमण : विश्व स्वास्थ्य संगठनले नभनेसम्म नेपालले यात्रा प्रतिबन्ध नलगाउने

वसन्त अर्याल
फागुन १४, २०७६ बुधबार १२:४५,

कोरोना भाइरसको कारण नेपालले कुनै पनि विदेशी नागरिकलाई प्रतिबन्ध नलगाउने बताएको छ। नेपाल कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा नरहेको भन्दै प्रतिबन्ध नलगाउने भएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले फागुन ६ गते नै नेपाल कोरोना भाइरसमुक्त क्षेत्र रहेको अन्तर्राष्ट्रियरुपमा प्रचार गर्न निर्देशन दिइसकेको छ। मन्त्री योगेश भट्टराईले अंग्रेजी, चिनियाँ र हिन्दी भाषामा कोरोना भाइरसमुक्त क्षेत्र रहेको प्रचार गर्न मातहतका कार्यालयलाई निर्देशन दिइसकेका छन्।

फागुन ६ पछि चीनबाहेकका देशमा कोरोना भारइसको संक्रमण तथा ज्यान गुमाउने संख्या दैनिक बढ्दो क्रममा छ। तर नेपालमा १ जना मात्रै संक्रमित देखिएको र ती व्यक्तिलाई पनि ठीक भइसकेको भन्दै धेरै हल्ला गर्न आवश्यक नभएको मन्त्रालयको तर्क छ।

मन्त्रालयले मातहतका सबै निकायले आवश्यक सावधानी अपनाउँदै आएको दाबी गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्ययले नेपालमा कोरोना भाइरसको अवस्था कस्तो छ भन्ने स्वास्थ्य मन्त्रालयले विश्लेषण गरिरहेको बताए।

‘हाम्रो मन्त्रालयले कुनै देशका नागरिकलाई प्रतिबन्ध लगाउने कुनै तयारी गरेको छैन’, उनले नेपालखबरसँग भने, ‘स्वास्थ्य मन्त्रालयले नेपालको अवस्था सामान्य रहेको हामीलाई जानकारी गराएको छ। त्यसैअनुसार हामीले नेपाल कोरोना प्रभावमुक्त क्षेत्र भएको विश्वभर फैलाउने भनेका हौँ।’

नेपालमा कोरोनाको संक्रमण नफैलियोस् भनेर त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क राखी पूर्ण सतर्कता अपनाइरहेको उपाध्याय दाबी गर्छन्।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने नेपाल विश्व स्वस्थ्य संगठनको सदस्य भएकाले उसकै सुझावअनुसार अघि बढिरहेको बताएको छ।

‘यात्रामा रोक लगाउनको लागि विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको छैन’, मन्त्रालयका सहप्रवक्ता सागर दाहालले भने, ‘हामी विश्व स्वास्थ्य संगठनको सदस्य भएकोले हामीलाई उसले जे सुझाव दिन्छ, त्यसैअनुसार अघि बढ्ने हो।’

दाहालले नेपाललाई ठूलो हानि हुने विषय भएमात्रै विश्व स्वास्थ्य संगठनको सुझाव बाहिर गएर काम गर्न सक्ने भन्दै अहिलेको अवस्थामा सावधानी अपनाए हुने बताए।

होटल एसोसिएनका प्रथम उपाध्यक्ष विनायक शाहले सावधानी अपनाउनुपर्ने तर बढी हल्ला गर्न आवश्यक नभएको बताए। उनले चीनबाहेक देशका पर्यटक नेपाल आउन चाहेको दाबी समेत गरे।

‘कोरोना भाइरसको कारण चीनबाट पर्यटक नआउँदा संख्यामा कमी आएको छ। तर त्यसको परिपूर्ति विकसित देशबाट तत्काल ल्याउन गाह्रो भए पनि बंगलादेश, भारत, म्यान्मार, श्रीलङ्कालगायत मध्यपूर्वबाट शोधभर्ना गर्ने गरी योजना बनाउनुपर्छ’, उनले भने।

उनले चीनबाहेक अरु देशका पर्यटक ल्याउन आतुर रहेका भन्दै सावधानी अपनाउने हो तर कसैलाई नेपाल यात्रा प्रतिबन्ध लगाउने कुरा गर्नुहुँदैन।

चीनपछि कोरोनाबाट सबैभन्दा बढी संक्रमित हुने देशहरु दक्षिण कोरिया, इरान, इटाली रहेका छन्। विश्व स्वास्थ्य संगठनले अहिले नै कोरोना भाइरसलाई महामारी भन्नु छिटो हुने बताएको छ। चीनको वुहान सहरबाट विश्वभर फैलिएको कोरोना भाइरसले महामारीको रुप लिन सक्ने भएकाले सङ्क्रमणविरुद्ध लड्न तयारी अवस्थामा रहन भने उसले भनिसकेको छ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अदनोम घेब्रेयससले तीनवटा कुरामा प्राथमिकता दिनुपर्ने बताएका छन्। जसमा सबै देशले स्वास्थ्यकर्मीहरुको सुरक्षालाई प्राथमिकता दिनुपर्ने, गम्भीर रोगको जोखिममा रहेका मानिसहरूलाई, विशेष गरी बुढ्यौली र स्वास्थ्य अवस्था कमजोर भएका मानिसहरूलाई सुरक्षा दिन समुदायहरूलाई संलग्न गराउनुपर्ने र क्षमता भएको देशहरूले बढी जोखिममा पर्ने देशहरूको सुरक्षा गर्न भरसक प्रयास गर्नुपर्ने बताए।

विश्वभर ८१ हजार १ सय ८३ जनामा संक्रमण
बुधबारसम्मको तथ्याङ्कअनुसार विश्वभर ८१ हजार १ सय ८३ जनामा संक्रमण देखिएको छ। यसमध्ये २ हजार ७ सय ६९को मृत्यु भइसकेको छ। त्यस्तै ३० हजार निको भएर फर्किसकेका छन्। कोरोना भाइरस संक्रमितको संख्या बढेपछि चिनियाँ पर्यटकलाई विश्वका ६० भन्दा बढी देशले यात्रा प्रतिबन्ध लगाएका छन् भने दक्षिण कोरियाली पर्यटकलाई १५ देशले यात्रामा कडाइ तथा प्रतिबन्ध लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .