ad ad

समाज


जीबी र रविविरुद्ध यी तीन कसुरमा कारबाही गर्न युवराजको माग

जीबी र रविविरुद्ध यी तीन कसुरमा कारबाही गर्न युवराजको माग

नेपालखबर
असार ६, २०८१ बिहिबार १८:१८, काठमाडौँ

कास्की र रूपन्देहीका सहकारीका घोटाला प्रकरण अदालत पुगे पनि गृहमन्त्री रवि लामिछानेविरूद्ध कतै पनि जाहेरी नपरेको भनी प्रहरीदेखि महान्यायाधिवक्तासम्मले बचाउ गरिरहेका छन्। नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले संसदीय समितिमै पुगेर पनि लामिछानेविरूद्ध जाहेरी नरहेको बताएका थिए भने महान्यायाधिवक्ता कार्यालयले क्लिनचिट शैलीमा लेखेको पत्रको वैधानिकता परीक्षण सर्वोच्च अदालतले गरिरहेको छ।

रूपन्देहीको सुप्रिम सहकारी र कास्कीको सूर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दा जिल्ला अदालत पुगिसक्दा जीबी राईसहितका व्यक्तिलाई अभियुक्त बनाइएको छ। तर, जीबी राईकै व्यावसायिक साझेदार रहेका रवि लामेछानेविरूद्ध मुद्दा चलाइएको छैन। सूर्यदर्शन सहकारीका पीडितले आफूहरूले दिएको जाहेरी प्रहरीले दर्ता नै नगरेको गुनासो गरिरहेका छन्। सूर्यदर्शन सहकारीको रकम जीबी र रवि नेतृत्वको ग्यालेक्सी टेलिभिजनमा पनि परिचालन गरेको उनीहरूको आरोप छ।

सुप्रिम सहकारीसम्बन्धी मुद्दाको अभियोगपत्रमा रवि लामिछानेका नाममा करिब २ करोड रूपैयाँ अनियमित तवरले कर्जा प्रवाह भएको उल्लेख छ। तर, उनीमाथि मुद्दा नलगाइएको मात्र होइन, अनुसन्धानका क्रममा बयान र सोधपुछसमेत गरिएको छैन।

ती दुई सहकारीको रकम अपचलनमा लामिछानेविरूद्ध किन मुद्दा नचलाइएको भनेर सर्वोच्च अदालतमै बहस भइरहेका बेला काठमाडौँ जिल्ला प्रहरी परिसरमा किटानी जाहेरी नै परेको छ।

सिन्धुली स्थायी ठेगाना भई हाल काठमाडौँ–३१ मा बस्ने युवराज पौडेल (सफल) ले हुलाकमार्फत पठाएको जाहेरी काठमाडौँ प्रहरीमा पुगिसकेको छ। यस सहकारीमा उनी सदस्य वा बचतकर्ता भने होइनन्।

फौजदारी कसुरको सूचना वा जाहेरी कुनै पनि नागरिकले दिन सक्ने भएकाले आफूले एक जिम्मेवार नागरिकको भूमिका निर्वाह गरेको उनले नेपालखबरलाई बताए।

उनले भने, ‘घटनाबारे थाहा पाउने जोकोहीले जाहेरी दिन पाउँछ। मैले हुलाकबाट पठाएको हुँ। हुलाकबाट पठाएपछि त्यही नै दर्ता भएको मानिन्छ।’

यसअघि लामिछानेविरुद्ध नागरिकतासम्बन्धी मुद्दा पनि सफलले नै दायर गरेका थिए। 

के छ जाहेरीमा?
युवराज सफलले जाहेरीमा कसुर गर्ने व्यक्तिको सूचीमा पहिलो नम्बरमा लामिछानेकै नाम लेखेका छन्।

उनले काठमाडौँ महानगरपालिका वडा नं ६, काठमाडौं स्थायी ठेगाना भई हाल मन्त्री क्वार्टर हरिहर भवन, पुल्चोक, ललितपुर बस्ने तत्कालीन गोर्खा मिडिया नेटवर्कका सञ्चालक तथा प्रबन्ध निर्देशक, हाल नेपाल सरकारका उपप्रधान एवम् गृहमन्त्री वर्ष ४८ का रवि लामिछाने भनी कसुर गर्ने व्यक्तिको सूचीमा उल्लेख गरेका छन्।

उनीपछि मात्र गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईको नाम लेखिएको छ। उनीहरू दुवै जना मिलेर स्वर्णलक्ष्मी सहकारीको ६४ करोड रूपैयाँ अपचलन गरेकाले अनुसन्धान गर्नुपर्ने जाहेरीमा भनिएको छ।

रवि लामिछाने ०७७ फागुन ११ देखि २०७९ असार १ सम्म करिब १५ महिना गोर्खा मिडिया नेटवर्कको सञ्चालक तथा प्रबन्ध निर्देशकको जिम्मेवारीमा हुँदा तथा गीतेन्द्रबाबु राई गोर्खा मिडिया नेटवर्कको अध्यक्षको भूमिकामा हुँदा काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीबाट संस्थागत रूपमा गोर्खा मिडिया नेटवर्कको नाममा ६४ करोड रुपैयाँ गैरकानुनी रूपमा कर्जा लिने कार्यमा संलग्न भएको आरोप जाहेरीमा लगाइएको छ।

जाहेरीमा लेखिएका मुख्य विवरण एवं दाबी यसप्रकार छन्–

लामिछाने तत्कालीन गोर्खा मिडिया नेटवर्कमा २०७७ फागुन ११ देखि २०७९ असार १ गतेसम्म सञ्चालक तथा प्रबन्ध निर्देशको जिम्मेवारीमा कार्य गरेका व्यक्ति हुन्। साथै अर्का विपक्षी गीतेन्द्रबाबु राई गोर्खा मिडिया नेटवर्कका हालसम्म अध्यक्षको भूमिकामा रहेका व्यक्ति हुन्। काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीबाट आफू गोर्खा मिडिया नेटवर्कको अध्यक्ष, सञ्चालक तथा प्रबन्ध निर्देशक भएको बेला राई र लामिछानेले अवैधानिक रूपमा ६४ करोड रूपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कको नाममा गएको देखिन्छ।

सहकारी ऐन २०७४ को परिच्छेद ७ मा बचत तथा ऋण परिचालन खण्डको दफा ५० ले सदस्य केन्द्रित भई बचत तथा ऋणको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ। तसर्थ स्वर्णलक्ष्मी सहकारीसँग कारोबार गर्ने गोर्खा मिडिया नेटवर्क सहकारीको प्राकृतिक बचतकर्ता हैनन्। किनकि, कुनै पनि प्राइभेट लिमिटेड कम्पनी सहकारी संस्थाको बचतकर्ता हुन् र बन्न मिल्ने कुरा सहकारी ऐनले परिकल्पनासमेत गरेको छैन।

तसर्थ, गोर्खा मिडिया नेटवर्कले गैरकानुनी रूपमा स्वर्णलक्ष्मी सहकारीबाट रकम लगेको कुरा पुष्टि भइसकेको छ। अतः माथि उल्लिखित व्यक्तिहरूले गैरकानुनी कारोबार गरेकाले निजहरुलाई सहकारी ऐनको परिच्छेद - १९ कसुर दण्ड जरिवाना तथा पुनरावेदनको दफा १२२ को उप दफा (ख) बमोजिम कारवाही हुने ठहर्छ।

सहकारी ऐनको दफा १२२ को उपदफा (ख) मा लेखिएको छ- सदस्यको बचत यस ऐन र यस ऐनअन्तर्गत बनेको नियम विनियम बमोजिमबाहेक अन्य कुनै पनि प्रयोजनको लागि प्रयोग गरेमा सहकारीसम्बन्धी कसुर गरेको मानिनेछ भनी लेखिएको छ। अतः रवि लामिछाने र गीतेन्द्रबाबु राईले सहकारीसम्बन्धी कसुर गरेको कुरा पुष्टि भइसकेको छ।

त्यस्तै, सहकारीबाट रकम लैजाँदा रवि लामिछाने र गीतेन्द्रबाबु राई गरी कुल २ जना व्यक्ति संगठित भई प्रमाण नराखी प्रक्रिया नपुर्‍याई बेरीतपूर्वक स्वर्णलक्ष्मी सहकारीबाट आम बचतकर्ताको बचत हिनामिना गर्ने बचतकर्ताको सम्पत्तिमा क्षति पुऱ्याउने योजना बनाएको देखिन्छ। अतः दुई जना व्यक्तिहरूले संगठित रूपमा सहकारीमा रहेको हजारौं बचतकर्ताहरूको रकम मास्ने हिनामिना गर्ने कार्य गरेकाले लामिछाने र राईले संगठित अपराधसम्बन्धी कसुरसमेत गरेको देखिन्छ।

लामिछानेले आफूले कुनै पनि रकम सहकारीबाट नलिएको र त्यसको प्रमाण भए सार्वजनिक गर्न चुनौती दिइरहेका छन्। तर तथ्य, प्रमाण र अध्ययनबाट लामिछानेलगायतका आरोपितहरूले स्वर्णलक्ष्मी सहकारी काठमाडौंबाट सहकारी ऐनविपरीत हुने गरी गोर्खा मिडिया नेटवर्कको नाममा ६४ करोड रुपैयाँ लिएको कुरा पुष्टि भइसकेकाले निजहरू उपर संगठित अपराधसम्बन्धी कसुरमा समेत मुद्दा चलाई कारबाही गर्नुपर्ने देखिन्छ।

संगठित अपराध निवारण ऐन, २०७० मा कसैले आपराधिक समूहको लाभको लागि, आपराधिक समूहको निर्देशनमा आपराधिक समूहसँग मिलेर वा आपराधिक समूहको संस्थापक सदस्य वा सदस्य भई जानीजानी कुनै गम्भीर अपराध गरे निजले संगठित अपराध गरेको मानिने व्यवस्था छ। अतः राई र लामिछानेले सहकारी ठग्ने आपराधिक सोच राखेर नै गैरकानुनी तरिकाले आम सर्वसाधरणको बचत रकम हिनामिना हुने गरी सहकारी डुबाउने कार्य गरेको देखिन्छ।

यता आरोपित रवि लामिछानेले सहकारी ऐन विपरीतका कार्य गरेको कुरासमेत स्वीकार नगर्ने गरेका छन् भने गीतेन्द्रबाबु राई बेपत्ता भएका छन्। दुई वा दुईभन्दा बढी व्यक्तिहरु मिलेर सहकारीको रकम हिनामिना गर्न संगठित अपराध गरेकाले निजहरूलाई संगठित अपराधसम्बन्धी मुद्दामा आवश्यक कारबाही गरिनुपर्दछ।

त्यस्तै निजहरुले गैरकानुनीरूपमा बिनाप्रक्रिया सहकारीको करोडौं रुपैयाँ लगी नतिरेकोले निजहरूलाई मुलुकी अपराध संहिताबमोजिम ठगीको महलमा समेत आवश्यक कारबाही गर्नुपर्ने देखिन्छ। बिनाप्रक्रिया सहकारीको करोडौं रकम लगेर नर्तिनु पनि ठगी गर्नु हो। तसर्थ स्वर्णलक्ष्मी सहकारी काठमाडौंबाट गोर्खा मिडिया नेटवर्कको नाममा करिब ६४ करोड रुपैयाँ रकम गैरकानुनीरूपमा लैजाने कार्यमा संलग्न गोरखा मिडिया नेटवर्कका सञ्चालक एवं प्रबन्ध निर्देशक लामिछाने, गोरखा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु राईले सहकारी सम्बन्धी कसुर, संगठित अपराधसम्बन्धी कसुर र ठगीसम्बन्धी कसुर गरेकाले निजहरूलाई तत्काल पक्राउ गरी हदैसम्म कैद गरी कानुनी कारबाही गरी पीडितको रकम फिर्ता गराई पाऊँ।

सम्बन्धित खबरः

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .