ad ad

समाज


रामेछापमा भू तथा जलाधारका प्रमुखले कार्यालयमै मदिरा पिएर होहल्ला गरेपछि पुगे हिरासत

रामेछापमा भू तथा जलाधारका प्रमुखले कार्यालयमै मदिरा पिएर होहल्ला गरेपछि पुगे हिरासत

नेपालखबर
असार ३, २०८१ सोमबार १८:११, काठमाडौँ

रामेछापको भू–तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख सुरेश दाहालले मदिरा पिएर होहल्ला गरिरएको भिडिओ क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

भिडिओमा दाहालले रामेछापका राजनीतिक दलका प्रमुख, सांसद, जनप्रतिनिधि लगायतको नाम तोकेर अपशब्द बोल्दै हिँडेको देखिन्छ। 

सोमबार बिहानै कार्यालयमै मादक पदार्थ सेवन गरेर होहल्ला गरेपछि सुरुमा स्थानीयले वडा नम्बर ८ का अध्यक्ष सन्तोष तामाङलाई खबर गरेका थिए। 

वडाध्यक्ष तामाङका अनुसार, उनी दैनिकजसो मदिरा पिएर लठ्ठ भएपछि कार्यालयकै छतमा बसेर होहल्ला गर्ने गरेका रहेछन्।

‘दैनिकजसो नगरपालिकातिर हेरेर कराउने गर्नुहुँदो रहेछ, हामीले यसअघि पनि गुनासो आइरहेको थियो,’ तामाङले नेपालखबरसँग भने, ‘आज पनि यस्तै गुनासो स्थानीयले गरेपछि मैले नै समन्वय गरेर प्रहरी झिकाएको हुँ।’

दाहाल कार्यालयकै भवनमा बस्ने गर्छन्। उनलाई सरकारले नै क्वार्टर उपलब्ध गराएको छ। सरकारी क्वार्टरमै बसेर उनले मदिरा सेवन गरेको भिडिओमा देखिन्छ। 

सोमबार बिहान उनले होहल्ला गरेपछि जिल्ला प्रहरी कार्यालयको समन्वयमा केही प्रहरी अधिकारीहरू पनि भू तथा जलाधार व्यवस्थापनको कार्यालय पुगेका थिए। 

उनै प्रहरीहरूले दाहाललाई बा १ झ ८३६१ नम्बरको स्कारपियोमा राखेर जिल्ला प्रहरी कार्यालय लगेका हुन्। 

जिल्ला प्रहरी कार्यालय, रामेछापका इन्सपेक्टर कौशल न्यौपानेका अनुसार, अहिले दाहाललाई प्रहरीले नियन्त्रणमा राखेको छ। 

‘उहाँ (सुरेश दाहाल) अहिले हामीसँगै हुनुहुन्छ,’ न्यौपानेले सोमबार दिउँसो नेपालखबरसँग भने, ‘मदिरा पिएर हल्ला गरेको भनेपछि हामीले मेडिकल गरेर रिपोर्ट पनि लियौँ। उहाँले मदिरा सेवन गरेको देखिएको छ।’

यस विषयमा अन्य अनुसन्धान अघि बढाइएको उनले बताए। प्रहरी स्रोतका अनुसार, केही राजनीतिक आग्रह पूर्वाग्रह राखेर दाहालले त्यस्तो गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। 

दाहाल भू तथा जलाधार व्यवस्थापन कार्यालयमा प्रमुख भएर आएको लगभग दुई महिनामात्रै भयो। यसअघि पनि उनी यहीँ कार्यरत थिए। 

‘झण्डै डेढ दुई वर्षअघि पनि यहीँ हुनुहुन्थ्यो, पछि सरुवा भएर दोलखा जानुभएको थियो,’ वडाध्यक्ष तामाङले भने, ‘पछि यहीँ सरुवा भएर आउनुभएको हो।’

रामेछाप नगरपालिकाका मेयर लवश्री न्यौपानेले आफूलाई दैनिक गाली गर्ने गरेको थाहा पाएर पनि केही गर्न नसकिएको बताए।

‘उहाँ के कारणले यस्तो गर्नुहुन्छ थाहा छैन,’ उनले भने, ‘मलाई पनि गाली गर्नुभएको छ अरे, उहाँबाट यो कार्यालय चल्ने देखिएन।’

रामेछाप र सिन्धुली जिल्ला हेर्ने गरी गत २०७८ असोज ५ गते यो कार्यालयको स्थापना गरिएको थियो। 

बागमती प्रदेशका तत्कालिन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शान्तिप्रसाद पौडेलले कार्यालय उद्घाटन गरेका थिए। 

भाइरल भिडिओमा दाहालले पौडेलले नै उद्घाटन गरेको कारणले आफू यही कार्यालयमा रहेको पनि बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .