ad ad

समाज


आज बकर इद, देशभर सार्वजनिक बिदा

आज बकर इद, देशभर सार्वजनिक बिदा

फाइल तस्बिर


नेपालखबर
असार ३, २०८१ सोमबार ६:३७, काठमाडौँ

मुस्लिम धर्मावलम्बी आज आफ्नो दोस्रो महान् पर्व बकर इद (उल अजाहा) पर्व मनाउँदै छन्।

बकर इद पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। 

इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने परम्परा छ। 

आज मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परंपरा छ। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ।

हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो।। 

बकर इदको अवसरमा आज दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको घुइँचो लाग्छ। 

याे पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ। मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । यसका लागि गृह मन्त्रालयअन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ।

मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर इद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिन्छन्। 
  
 कुर्बानीको मासु तीन भागमा वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ। यसैअनुसार आज पहिलो दिनको बकर इद मनाइँदै छ । 
  
मुस्लिम धर्मावलम्बीले बुधबारसम्म तीन दिन यो पर्व मनाउने छन्। यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .