ad ad

समाज


काठमाडौँसम्म आइपुग्यो मनसुनको प्रभाव

काठमाडौँसम्म आइपुग्यो मनसुनको प्रभाव

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असार १, २०८१ शनिबार ११:५६, काठमाडौँ

६ दिनअघि नेपालको पूर्वी क्षेत्रबाट भित्रिएको पानी पार्ने मौसम प्रणाली ‘मनसुन’को प्रभाव काठमाडौँसम्म आइपुगेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। 

मौसमविद् सरोज पुडासैनीले आज (शनिबार) बिहानदेखि कोसी प्रदेश, मधेस हुँदै बागमती प्रदेशको काठमाडौँसम्म मनसुनको प्रभाव विस्तार भएको जानकारी दिए। 

‘कोसी प्रदेशको पूरै भूभाग, मधेसको जनकपुरदेखि बर्दिबाससम्म, बागमतीको पनि रामेछाप, काठमाडौँसम्म मनसुनको प्रभाव सुरु भइसकेको छ’, उनले नेपालखबरसँग भने, ‘वर्षा नै गराइसकेको त छैन तर बादल आइरहेको छ, आज दिउँसो मधेस र बागमती प्रदेशका पनि केही ठाउँमा वर्षा पनि हुने सम्भावना छ।’

तर मनसुनका कारण वर्षा भइनसकेकाले कोसीबाट मनसुन थप प्रदेशमा प्रवेश गरेको बुलेटिनमार्फत औपचारिक घोषणा गर्न बाँकी रहेको मौसमविद् पुडासैनीको भनाइ छ।  

यस क्रममा आज दिउँसो काठमाडौँ उपत्यकामा पनि मनसुनी वर्षाको सम्भावना देखिएको उनले बताए। ‘हल्का वर्षा हुने सम्भावना देखिन्छ’, उनले भने। 

मौसमविद् पुडासैनीका अनुसार मनसुनको प्रभाव सुरु भएसँगै सम्बन्धित क्षेत्रमा तापक्रम केही मात्रामा घट्ने र गर्मीमा केही राहत पुग्ने अपेक्षा गर्न सकिन्छ।

‘तर काठमाडौँभन्दा पश्चिमतर्फ मनसुनको प्रभाव पुग्न अझै केही दिन लाग्ने भएकाले पश्चिम तराईको तापक्रम भने अझै केही समय उस्तै रहने देखिन्छ’, उनले भने। 

विगतका वर्षका तुलनामा यस वर्ष मनसुन प्रवेश गरेपछि देशभर फैलिन केही ढिला भइरहेको मौसमविद् पुडासैनीले बताए। 

यस वर्ष मनसुन नेपालमा मनसुन भित्रिने सरदर मिति (जुन १३) भन्दा ३ दिनअगावै जुन १० तारिखमा कोसी प्रदेशको पूर्वी भागबाट प्रवेश गरेको थियो।

तर आज छैटौँ दिन भइसक्दा बल्ल बागमती प्रदेशसम्म मनसुनको हल्का प्रभाव सुरु भएको छ। 

‘विगतका वर्षमा मनसुन भित्रिएको ५ देखि ७ दिनभित्र मुलुकभर फैलिएको पाइन्छ’, मौसमविद् पुडासैनीले भने, ‘यसपटक केही ढिला भएकै हो।’

उनका अनुसार मनसुन भनेको पूर्वबाट पश्चिम बहने जलवाष्पयुक्त वायु हो। तर अहिलेसम्म पश्चिमी वायु सक्रिय रहेकाले पूर्वी हावा मनसुनलाई पश्चिम सर्न अवरोध भइरहेको हो।  

मौसम महाशाखाका अनुसार हाल पूर्वी क्षेत्रमा मनसुनी प्रणालीको प्रभाव छ भने देशका बाँकी स्थानमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ।

‘हाल काठमाडौँदेखि पूर्व ताप्लेजुङसम्म मनसुनको प्रभाव छ’, मौसमविद् पुडासैनीले भने, ‘काठमाडौँदेखि पश्चिम मनसुनको प्रभाव छैन अर्थात् अन्य प्रणालीको प्रभाव छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .