ad ad

खेल


विश्वकपमा नेपाल : ब्याटिङमा यसकारण दोहोरियो पुरानै समस्या

विश्वकपमा नेपाल : ब्याटिङमा यसकारण दोहोरियो पुरानै समस्या

लक्ष्मी जि.सी
असार ३, २०८१ सोमबार १९:३६, काठमाडौँ

आईसीसी टी–२० विश्वकपमा नेपाली टोली जितविहीन हुँदै स्वदेश फर्कने भएको छ।

यसअघि नेपाल क्रिकेट संघ (क्यान) को व्यवस्थापनलाई दोष दिँदै खेलाडीको पक्ष लिने गरिए पनि यसपटक क्यानले खेलाडीलाई पूरै व्यस्त राखेको थियो। विश्वकपअघि पर्याप्त अभ्यास खेलको व्यवस्था गरेको थियो। 

घरेलु मैदानमा मात्र होइन, भारतमा समेत अभ्यासमा पठाइएको थियो। विश्वकपको तयारीकै लागि नेपाली टोलीले अमेरिका र वेस्ट इन्डिजमा करिब एक महिना अभ्यास गर्‍यो।

तैपनि, विश्वकपमा यसपटक पनि ब्याटिङकै समस्या दोहोरियो। बलिङ र फिल्डिङमा टोलीले उत्कृष्ट प्रर्दशन गरे पनि ब्याटिङमा निराशाजनक प्रदर्शनकै कारण एउटा पनि खेल नजिती समूह चरणबाटै बाहिरिन बाध्य भयो। 

विश्वकपमा नेपालका कुनै पनि ब्याटरले जिम्मेवारीपूर्वक इनिङ्स् सम्हाल्न नसक्दा नेपालले आफ्नो पक्षमा रहेको खेल पनि गुमाउन पुग्यो। दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल नेपालले आफ्नो पक्षमा पारिसके पनि अन्तिम समयमा सम्हालिन नसक्दा समूह चरणका सबै खेलमा हार भोग्दै बाहिरियो। 

पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको नेपाल श्रीलंकाविरुद्धको दोस्रो खेल भने वर्षाका कारण रद्द हुन पुग्यो। 

वर्षाले खेल रद्द हुँदा नेपालको खातामा १ अंक आएको थियो। विश्वकप यात्राभरिमा त्यही १ अंकमा नेपालले चित्तबुझाउनुपर्‍यो। 

दक्षिण अफ्रिकाविरुद्धको खेल १ रनको झिनो अन्तरले थकथकीपूर्ण हार बेहोर्नुपर्दा नेपालको सुपर ८ खेल्ने सपना चकनाचुर भयो। दक्षिण अफ्रिकाविरुद्ध अन्तिम बलमा गुल्सन झा रन आउट हुन पुगे र सुपर ओभरमा पुग्न लागेको खेल पनि नेपालले गुमायो। 

दक्षिण अफ्रिकाविरुद्धको खेलमा गरेको प्रदर्शनले नेपालको चर्चा भने विश्वभर चुलियो। आईसीसीले मात्र होइन, पूर्वस्टार क्रिकेटरहरू र आईपीएलका चर्चित क्लबहरूले समेत प्रशंसा गरेका थिए। नेपालले अझै एक्स्पोजर पायो भने उत्कृष्ट प्रदर्शन गर्न सक्ने अपेक्षा सबैले व्यक्त गरेका छन्। 

सोमबार भएको बंगलादेशविरुद्धको खेल भने नेपालले २१ रनले गुमायो। 

बंगालदेशविरुद्ध उत्कृष्ट बलिङ गरेको नेपालले दोस्रो इनिङ्समा निकै कमजोर प्रदर्शन गर्‍यो। नेपाली टोली सम्हालिन सकेन। टेस्ट टोलीसँगको खेलमा पर्याप्त अनुभव अभावको कारण विपक्षी टोलीले उकास्दा खेलाडीले खराब सट खेल्न पुगे। जसका कारण नेपालले हातमा आइसकेको खेल पनि गुमायो। 

विश्वकपका ३ खेलमा नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६ विकेट लिए। कुशल भुर्तेलले ४ विकेट लिए। सोमपाल कामीले ३ विकेट लिँदा कप्तान रोहित पौडेल र सन्दीप लामिछानेले समान २ विकेट लिए। अविनास बोहोराको नाममा १ विकेट रह्यो।

जारी विश्वकपमा नै नेपालका लेग स्पिनर सन्दीप लामिछानेले टी–२० आईमा १ सय विकेट पूरा गरेका छन्। 

बंगलादेशविरुद्ध २ विकेट लिँदै सन्दीपले टी–२० आईमा सर्वाधिक छिटो १ सय विकेट लिने दोस्रो खेलाडी बने। नेपालबाट सय विकेट लिने सन्दीप पहिलो खेलाडी हुन्। 

ब्याटिङमा कुनै पनि खेलाडीले सम्झनलायक प्रर्दशन गर्न सकेनन्। दक्षिण अफ्रिकाविरुद्ध आशिफ शेखले बनाएको ४२ रन र कप्तान रोहितले नेदरल्यान्डस्विरुद्ध बनाएको ३५ रन नै सर्वाधिक रह्यो। अन्य ब्याटरको भने सम्झनलायक प्रदर्शन छैन। ब्याटरले अनावश्यक दबाब लिँदा नेपालको प्रदर्शन तारिफयोग्य रहे पनि जितका लागि भने पर्याप्त भएन। त्यसका लागि नेपाली टोलीलाई अझै बढी एक्स्पोजरको खाँचो विश्वकप अनुभवले दर्शाएको छ। 

यसपालिको असफलताले दिएको सन्देश हो, घरेलु मैदानमा पूर्वाधारमा जोड दिँदै डे-नाइट खेलको व्यवस्था गरेर १२ महिना नै प्रशिक्षणमा राख्नु आवश्यक छ। ग्रासरुटबाट खेलाडी बनाउँदै ल्याउने हो भने पनि दबाब थेग्न सक्ने क्षमता खेलाडीमा विकास गर्न सकिनेछ। 

समग्रमा खराब सट र अनावश्यक दबाब लिँदा नेपाली टोलीले पहिलोपटक सुपर ८ मा पुग्ने सम्भावना बोके पनि सपना बीचैमा तुहियो। 

पहिलोपटक सन् २०१४ मा विश्वकप खेलेको नेपालले दोस्रोपटक विश्वकप खेल्दा दशक लाग्यो। अब अर्को विश्वकप खेल्न नेपाललाई दशक नलागोस्। त्यसका लागि अहिलेबाट नै तयारीमा जुट्नु आवश्यक छ।  

दशकपछि नेपालको विश्वकप खेल्ने सपना पूरा भए पनि समूह चरणबाटै बाहिरिएपछि नेपाली टोली अब स्वदेश फर्कँदै छ। स्वदेश फर्किएपछि नेपालको ध्यान आईसीसी विश्वकप लिग–२ मा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .